के बैंकको ऋण थियो वडा अध्यक्ष मृत्युको कारण ?


नेपालगन्ज २ माघ – भारतको बहराईचस्थित एक होटलमा बुधबार मृत अवस्थामा भेटिएका बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष कृष्ण बहादुर खड्काको ‘सुसाईड नोट’ फेला परेको उनको शव ल्याउन बहराइच गएका नेकपाका नेताहरुले बताएका छन् ।

२१ पेज लामो सुसाइट नोटमा लेखिए अनुसार बैंकको ऋणका कारण उत्पन्न समस्याले वडा अध्यक्षले आत्महत्या गरेको आशंका गरिएको छ ।

यद्यपी प्रहरीले यस बिषयमा अनुसन्धान गरिरहेको छ । फेला परेको सुसाईट नोट र त्यसमा उल्लेख भएका विषय अनुसन्धान पछि मात्र पुष्टि हुने छन् ।

खड्काको मृत्यु लगत्तै कोहलपुर नगरपालिका र नेकपाका नेता सम्मिलित टोली बुधबार बहराईच पुगेको थियो ।

वडाध्यक्ष खड्काले कोहलपुरको एउटा बैंकबाट घर धितोमा राखेर २० लाख ऋण लिएका थिए ।

उक्त ऋण तिर्न नसके पछि आफुले बैंकलाई लिलाम गर्न भने तर बैंकले लिलाम गर्न नमानेको सुसाइट नोटमा उल्लेख भएको दावी गरिएको छ ।

बैंकको ऋण तिरिदिने कोही नभएको र घर पनि लिलाम नगरेपछि बाध्य भएर आत्महत्या गर्नुपरेको वडा अध्यक्षको सुसाइट नोटमा उल्लेख छ ।

खड्काको शव भारतमा औपचारिक प्रक्रिया पुरा गरि बिहिवार कोहलपुर स्थित निवासमा ल्याइएको छ । उनको शुक्रबार अन्तिम संस्कार गरिने भएको छ ।

खड्काले आत्महत्याका लागि उपयुक्त ठानेर बहराईचको शंकर होटल रोजेको पत्रमा उल्लेख गरेका छन् । ६८ बर्षका खड्का स्थानीय निर्वाचनमा नेकपा एमाले बाट बिजयी भएका थिए ।

खड्का नेकपा जिल्ला कमिटी सदस्य समेत समेत हुन । खड्का मंगलबार विहान जमुनाह नाकाबाट रुपैडिया प्रवेश गरेको सिसिटिभी फुटेजमा देखिएको छ ।

बाँकेको कोहलपुर नगरपालिकाले शुक्रबार (भोलि) सार्वजनिक विदा दिने भएको छ । कोहलपुर नगरपालिका वडा नं. १२ का वडाध्यक्ष कृष्ण बहादुर खड्काको निधनप्रति दुःख ब्यक्त गर्दै नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

बुधबार भारतको बहराईच स्थित एक होटलमा अध्यक्ष खड्का मृत अवस्थामा फेला परेका थिए । उक्त घटनाप्रति दुःख व्यक्त गर्दै नगरपालिका मातहतका सबै कार्यालयमा विदा दिने निर्णय गरेको नगरपालिकाको फेसबुक पेजमा उल्लेख गरिएको छ ।

प्रकाशित मितिः     २ माघ २०७६, बिहीबार २१:१३  |