नेपालगन्ज – नेपालगन्ज उद्योग वाणिज्य संघको माघ ११ गते हुने निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार हुन ललितकुमार रौनियार । आफ्नो उम्मेदवारीको औचित्यका बारेमा रौनियार भन्छन–‘समग्र नेपालगन्जको उद्योग र व्यवसाय फस्टाउमात्र उद्योगी व्यवसायीहरुको लगानी सुरक्षित हुन्छ । मेरो उम्मेदवारी व्यवसायीक सुरक्षा, हकहित र नेपालगन्ज उद्योग बाणिज्य संघको गरिमा जोगाउनका लागि हो ।’
उनले यसो भनिरहँदा किनेमलका लागि नेपाली उपभोक्ताको रोजाइँ सीमावर्ति रुपैडियाँ बजार हुँदा नेपालगन्जका उद्योगी व्यवसायी मारमा पर्दै आएकोतर्फ इंकित थियो । नेपाली उपभोक्तालाई नेपालगन्जमै रोक्न नेपालगन्ज उद्योग बाणिज्य संघले नेतृत्वदायी र प्रभावकारी कदम चाल्नुपर्ने रौनियारको मत छ । आम उद्योगी व्यवसायीले संघबाट व्यवसायीहरुका सवालमा प्रभावकारी ढंगले भूमिका निर्वाह गर्नुपर्ने अपेक्षा राखेका छन् ।
उद्योगी व्यवसायीहरुको यही अपेक्षा सम्बाधेन गर्नका लागि नेतृत्वमा आउन चाहेको रौनियार बताउँछन् । करिव ३० बर्षदेखि व्यावसायीक क्षेत्रमा सक्रिय रौनियार दमयन्ती इजी मार्ट एण्ड डिपार्टमेन्टल स्टोर फर्म सन्चालक हुन् । व्यावसायीक संगठनहरुमा विभिन्न तह तप्कामा रहेर नेतृत्व गरिसकेका रौनियार नेपालगन्जका सम्पूर्ण उद्योगी व्यवसायीमाझ परिचित छन् ।
नेपालगन्ज उपमहानगरपालिका ३ बागेश्वरी टोल, हाल वडा नम्वर १८ कारकाँदोमा बस्दै आएका रौनियारले उद्योगी व्यवसायीको हकहित र अधिकारको सवालमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । नेपालगन्ज उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य, पूर्व बरिष्ठ कार्यसमिति सदस्यको जिम्मेवारी निर्वाह गरेका रौनियार नेपाल वितरक महासंघ काठमाडौंका पूर्व उपाध्यक्ष, नेपालगन्ज वितरण संघको संस्थापक अध्यक्ष हुन् । उद्योग व्यवसायसँगै रौनियारले सामाजिक क्षेत्रमा समेत योगदान दिएका छन् ।
शिक्षा, स्वास्थ्य तथा सांस्कृतिक क्षेत्रमा रौनियारको महत्वपूर्ण योगदान छ । नेपाल चीन शैक्षिक तथा सांस्कृतिक परिषदको केन्द्रीय सदस्य, नेपालगन्ज नगर विकास समितिका पूर्व अध्यक्ष पदमा रहेर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका ललित रौनियार आगामी माघ ११ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहको तर्फबाट अध्यक्ष पदका उम्मेदवार हुन् ।