नेपालगन्ज ४ माघ – बाँकेमा ठुला लगानी भित्र्याउन लगानी सम्मेलन गर्नेदेखि व्यवसायीलाई दुःख पर्दा तत्काल परिचालन हुने ‘हेल्प टिम’ बनाउने जस्ता विषय समेट्दै अब्दुल वाहिद मन्सुरी चुन्ना नेतृत्वको समावेशी प्यानलले प्रतिवद्धता –पत्र सार्वजनिक गरेको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघको यही माघ ११ गते हुने निर्वाचनका लागि यतिबेला उम्मेदवारहरु घरदैलो गर्न ब्यस्त छन् ।
शनिवार समावेशी प्यानलले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । प्रतिवद्धतापत्रमा नेपालगन्ज पश्चिम नेपालको आर्थिक ‘हब’का रुपमा स्थापित हुँदा हुँदै पनि अपेक्षाकृत उद्योगको संख्या बढ्न नसकेको भन्दै चिन्ता प्रकट गरिएको छ ।
नेपाल र भारत व्यापारको ढोका खोल्ने, एकिकृत भन्सार चेकपोष्ट , रेलमार्ग बिस्तार, नौवस्ता औद्योगक क्षेत्र, बिशेष आर्थिक क्षेत्र ‘सेज’ जस्ता योजना कार्यान्वयनको चरणमा रहेका बेला आगामी दिनमा यहाँ सानादेखि ठूला लगानीका उद्योग, करकारखाना स्थापना हुने प्रशस्त सम्भावना भएको प्रतिवद्धतापत्रमा भनिएको छ ।
यसका लागि लगानीकर्तालाई आर्कषित गर्न हाम्रो पहलकदमी पनि आवश्यक देखिएको भन्दै समावेशी प्यानलले देश/ बिदेशका लगानीकर्तालाई बाँकेमा आकर्षित गर्न स्पष्ट योजना सहित ‘लगानी सम्मेलन’, अन्र्तराष्ट्रियस्तरको कृषि तथा औद्योगिक प्रदर्शनी जस्ता बिषयगत मेला आयोजना गर्ने प्रतिवद्धता जनाएको छ ।
लगानी बोर्डलाई आह्वान गरी बिज्ञ समूह मार्फत त्यसको स्पष्ट खाका निकट भविष्यमै निर्धारण गर्ने र लगानी सम्मेलन र कृषि तथा औद्योगिक प्रदर्शनीले बाँकेमा लगानी गर्नका लागि राज्य र लगानीकर्ताको ध्यान यसतर्फ खिच्ने अपेक्षा गरिएको छ ।
त्यस्तै उद्यमी व्यवसायीहरुलाई पर्न आउने व्यवसायीक पिरमर्काहरुलाई शिघ्र सम्बोधन गर्न संघका पदाधिकारीकै नेतृत्वमा सूचना पाउँना साथ तत्काल परिचालन हुने गरी ‘हेल्प टिम’ बनाउने र उक्त टिम उद्योगी, व्यवसायीको समस्या समाधान गर्न अहोरात्र खटिन तयार हुने प्रतिवद्धता व्यक्त गरिएको छ ।
हेर्नुहोस् प्रतिवद्धतापत्रको पूर्णपाठ
आदरणीय उद्योगी, व्यवसायी तथा मतदाता साथीहरु,
यतिबेला हामी बाँकेका उद्योगी व्यवसायीहरुको छाता संगठन नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनको पूर्व संघारमा उभिएका छौं । राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रुपमा सारथी बनेका उद्योगी, व्यवसायीहरुको आस्थाको केन्द्र नेपालगन्ज उद्योगी वाणिज्य संघ अहिले देशकै नमूना उद्योग वाणिज्य संघका रुपमा स्थापित छ । वर्षौदेखि यस संघले व्यवसायीक हित र सामाजिक आन्दोलनको अगुवाई गर्दै आएको कुरा सर्वविदितै छ । उद्योगी, व्यवसायीको हकहित मात्र होइन सामाजिक परिवर्तनका मुद्दामा समेत हामी निरन्तर सक्रिय छौं । राज्यको पुर्नसंरचनासंगै बनेका स्थानीय, प्रदेश र केन्द्रीय तहसम्मका नीति निर्माताहरुलाई व्यवसायीक र बाँकेबासीको हितमा सदैव झक्झक्याउने काम गर्दै आएका छौं ।
बर्तमान अवस्थामा नेपालमै उदाहरणीय बन्न सकेको नेपालगन्ज उद्योग वाणिज्य संघको गौरवपूर्ण इतिहास बनाउन महत्वपूर्ण भूमिका खेल्ने हाम्रा अग्रज संस्थापक अध्यक्ष ओमकारमल खेतान, संस्थापक एवं पूर्व अध्यक्ष ज्यूहरु लगायत सम्पूर्ण अग्रजहरुलाई यस अवसरमा हामी सम्मान प्रकट गर्न चाहान्छौ । उहाँहरुकै अथक प्रयास र योगदानका कारण आज संघ यो अवस्थामा आईपुग्न सफल भएको हो । व्यापार संघ हुँदै वाणिज्य संघ बन्दासम्म नेतृत्वदायी भूमिकामा रहने पदाधिकारी एवं सहकर्मी उद्योगी, व्यवसायीहरु हाम्रा प्रेरणाका स्रोत हुनुहुन्छ । उहाँहरुलाई हामी सदैव सम्झिरहन्छौ भने आगामी दिनमा उहाँहरुको भावना अनुसार अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्दछौं । त्यसैगरी नेपालगन्ज लगायत देश कै व्यवसायीक एकता एवं हामीले गर्दै आएको सामाजिक आन्दोलनलाई प्रत्यक्ष र अप्रत्यक्षरुपमा साथ दिनु हुने राजनीतिक पार्टीहरु, नागरिक समाजका अगुवा, सन्चारकर्मी मित्रहरु र संघमा आवद्ध भई धैर्यताका साथ संघको नेतृत्वको भूमिकालाई नियाल्नु भएका संघका सदस्यज्यूहरु र समग्र बाँकेबासी प्रति हामी सदैव आभारी छौं ।
उद्योगी, व्यवसायी मित्रहरु,
नेपालगन्ज साविकको मध्य र सुदूरपश्चिमको आर्थिक राजधानी हो भन्दा अत्यूक्ति नहोला ! यस ऐतिहासिक शहरमा रहेको यस संघको व्यवसायीक हीत र सामाजिक आन्दोलनको भूमिका दिन प्रतिदिन फराकिलो बन्दै छ । बिभिन्न आन्दोलन पश्चात देशमा नयाँ संविधान जारी भई तीन तहका सरकार बनेर राज्य पुर्नसंरचनामा आमूल परिवर्तन भएको अवस्था छ । यसले देशमा बेग्लै उत्साह थपेको छ, तर बद्लिएको परिस्थितीले नेपालगन्जलाई सन्तुष्ट पार्न सकिरहेको छैन । राज्य पुर्नसंरचनाले बाँकेलाई पछि धकेली रहेको यस परिस्थिति प्रति आज हाम्रो चिन्ता र चासो बढेको छ ।
हामीले यो ऐतिहासिक शहरको चमक कम हुन नदिन र त्यसका लागि संघका माध्यमबाट निरन्तर राज्यलाई सचेत गराउने जिम्मेवारी बोध गर्दै सम्पूर्ण उद्योगी, व्यवसायी र बाँकेबासी दाजुभाइको सुन्दर भविष्य निर्माणको संकल्प लिदै अगाडि बढ्ने बेला आएको छ । माघ ११ गते हुने निर्वाचनको पूर्वसन्ध्यामा भइरहेका घरदैलो कार्यक्रममा हाम्रा उम्मेद्वारहरु तपाईहरु सामु यो कुराको यथार्थवोध गराउँदै आएको कुराको समेत जानकारी गराउँदछौं । देशमा राजनीतिक स्थिरता आएता पनि उद्योग, व्यवसाय क्षेत्रका धेरै मुद्दाहरु सम्बोधन हुन सकेका छैनन् । उद्योगी, व्यवसायीका थुप्रै समस्या सतहमा देखिएका छन् । लगानीमैत्री वातावरणका लागि कानुनी झण्झट झेल्नु परिरहेको अवस्था छ । व्यवसायीलाई बिभिन्न बाहनामा राज्यका निकायबाट दुःख दिने काम भइरहेको छ । बैंकको अस्थिर ब्याजदरले उद्योगी, व्यवसायीको उठिबास भएको छ । त्यसको प्रत्यक्ष प्रभाव रोजगारीमा परेको छ भने हजारौ युवाहरु कामको खोजिमा बिदेश भौतारि रहनुपरेको छ ।
खुल्ला सिमाका कारण नेपालगन्जको व्यवसाय धरमर भइरहेको अवस्था छ । यो हाम्रा लागि सबैभन्दा ठूलो चुनौतीका रुपमा देखा परेको छ भने अर्कोतर्फ सरकारले ल्याएका नयाँ कर प्रणालीहरु अव्यवहारिक र झञ्झटिलो बन्दा उद्योगी, व्यवसायी मर्कामा परेका छन् । यस्तो परिस्थितीमा सिङ्गो बाँके र यहाँका उद्योगी, व्यवसायीले संघमा बलियो नेतृत्व खोजिरहेका छन् । यसै सन्र्दभमा समावेशी समूहको तर्फबाट प्रस्तुत गरिएका हाम्रा अध्यक्षका उम्मेदवार अब्दुल वाहिद मन्सुरी (चुन्ना)संघको कार्यसमितिमा चार कार्यकाल रही दुई कार्यकाल उपाध्यक्षको समेत अनुभव सङ्गालेका प्रतिष्ठित, उर्जावान , जुझारु युवा व्यवसायी हुनुहुन्छ । चुन्ना बिशुद्ध व्यवसायीक क्षेत्रबाट उदय हुनुभएका सफल व्यवसायी हुनुहुन्छ ।
त्यस्तै गरी वाणिज्य तर्फको उपाध्यक्षमा संघको विकास निर्माणमा २०५३ सालदेखि ऐतिहासिक भूमिका निर्वाह गरी सफल कोषाध्यक्षका रुपमा आफ्नो परिचय दिन सफल प्रतिष्ठित समाजसेवी व्यक्तित्व ज्ञानेन्द्र कुमार श्रेष्ठलाई अगाडी सारेका छौं साथै उदयमान युवा उद्योगपति जसले संघको कार्यसमितिमा तीन कार्यकाल अनुभव हासिल गरिसक्नुभएका आदेश कुमार अग्रवाललाई अगाडी सारेका छौं । उहाँहरुको यो उम्मेदवारीले नेपालगन्ज शहरको बिशेषता, विविधताको पनि बलियो प्रतिनिधित्व गरेको छ । यति मात्र होइन हामीले व्यवसायीक र औद्योगिक क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्याएर चर्चामा आईसक्नुभएका होनहार व्यक्तित्वका रुपमा स्थापित जुझारु उद्यमी व्यवसायीहरुलाई सदस्य पदको उम्मेदवारका रुपमा अगाडी सारेका छौं ।
नेपालगन्ज उद्योग वाणिज्य संघमा अहिले एउटा निडर, निस्पक्ष, जुझारु नेतृत्वको आवश्यकता रहेको छ । यसै सन्दर्भमा हामीले निर्वाचनको पूर्वसन्ध्यामा तपाईहरुको माझ हाम्रा साझा प्रतिवद्धता प्रस्तुत गरेका छौं । जसलाई यहाँ सामाजिक तथा आर्थिक उत्तरदायित्व गरी दुई भागमा विभाजन गरिएको छ ।
सामाजिक उत्तरदायित्व तर्फ
१) नेपालगन्ज उद्योग वाणिज्य संघले दामोदर आचार्य नेतृत्वको कार्यकालमा बहुउद्देशिय सभागृह र प्रदर्शनीस्थल निर्माणका लागि कारकाँदो सडक डिभिजन परिसरको दश बिघा जग्गाको भोगाधिकार प्राप्त गरेको थियो । आठ कोठे पक्की भवन निर्माण गरि सडक डिभिजिनलाई हस्तान्तरण गरेपछि मात्र उक्त जग्गामा प्रदर्शनीस्थल निर्माणको काम शुरु गर्न पाइने पूर्व सर्त अनुसार संघले पटक–पटक सडक डिभिजन कार्यालयलाई भवन निर्माणस्थल एकिन गरिदिन र भवनको डिजाइन उपलब्ध गराइ दिन पटक–पटक पत्राचार गर्दा पनि आलटाल गरियो । आठ कोठे भवन निर्माणका लागि निर्माणलस्थल माग्दा माग्दै संघको तीनवटा कार्यकाल बित्यो । तर पनि भवन निर्माण स्थल उपलब्ध भएन । यति हुँदा हुँदै पनि संघको बर्तमान कार्यसमितिले जग्गा सुरक्षाका लागि तारवार गर्न पोल समेत गाडिसकेको छ ।
लामो प्रयास पछि उक्त जग्गामा मन्त्रीपरिषदको निर्णयबाट भोगाधिकार प्राप्त भए पनि सभागृह र प्रदर्शनी स्थल बनाउनै नदिने सडक विभागको नियतका अगाडी हाम्रो योजना कार्यान्वयनमा बाधा उत्पन्न भयो । सभागृह निर्माण गर्ने प्रयोजनका लागि भएको महोत्सवबाट कृष्णप्रसाद श्रेष्ठको कार्यकालमा रु १ करोड जम्मा गरी सरकारको नीति तथा कार्यक्रममा रु ५० लाख बिनियोजन सहित सो योजना समायोजन गर्न आवश्यक पहल गरिएको थियो । नन्दलाल बैश्य नेतृत्वको कार्यकालमा समेत थप रकम जम्मा भइसकेको अवस्थामा षडयन्त्रमूलक ढङ्गबाट भोगाधिकार खोस्ने काम भएको छ ।
यस कार्यबाट नेपालगन्जमा पश्चिम नेपालकै ठूलो सभागृह र प्रदर्शनी स्थल निर्माण गर्ने योजनामा कुठाराघात भएको छ । बाँकेका सम्पूर्ण राजनीतिक दलले समेत जग्गा फिर्ता लिन र प्रदर्शनीस्थल निर्माणका लागि ऐक्यवद्धता जनाइसकेको अवस्थामा अब त्यस दश बिघा जग्गामा आगामी नेतृत्वले केन्द्रीय स्तरको प्रदर्शनीस्थल निर्माण गर्न संघ, प्रदेश र स्थानीय सरकार एवं सरोकारवाला पक्षसंग समन्वय र सहकार्य गरी एएए मोडेलमा कार्य अगाडि बढाउन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जाहेर गर्दछौं ।
२) नेपालगन्ज पश्चिम नेपालको आर्थिक ‘हब’का रुपमा स्थापित हुँदा हुँदै पनि अपेक्षाकृत उद्योगको संख्या बढ्न सकेको छैन । नेपाल र भारत व्यापारको ढोका खोल्ने, एकिकृत भन्सार चेकपोष्ट , रेलमार्ग बिस्तार, नौवस्ता औद्योगक क्षेत्र, बिशेष आर्थिक क्षेत्र ‘सेज’ जस्ता योजना कार्यान्वयनको चरणमा रहेका बेला आगामी दिनमा यहाँ सानादेखि ठूला लगानीका उद्योग, करकारखाना स्थापना हुने प्रशस्त सम्भावना छ । यसका लागि लगानीकर्तालाई आर्कषित गर्न हाम्रो पहलकदमी पनि आवश्यक देखिन्छ ।
तसर्थ देश/ बिदेशका लगानीकर्तालाई बाँकेमा आकर्षित गर्न स्पष्ट योजना सहित ‘लगानी सम्मेलन’, अन्र्तराष्ट्रियस्तरको कृषि तथा औद्योगिक प्रदर्शनी जस्ता बिषयगत मेला आयोजना गर्ने प्रतिवद्धता जनाउँदछौं । लगानी बोर्डलाई आह्वान गरी बिज्ञ समूह मार्फत त्यसको स्पष्ट खाका निकट भविष्यमै निर्धारण गर्नेछौं । लगानी सम्मेलन र कृषि तथा औद्योगिक प्रदर्शनीले बाँकेमा लगानी गर्नका लागि राज्य र लगानीकर्ताको ध्यान यसतर्फ खिचिने छ ।
३. राजनैतिक मुद्दा फरक भए पनि विकासका मुद्दामा साझा प्रतिवद्धताको खाँचो महसुस गरिएको छ । विकास नहुँदा जिल्लाबासीले पिडाबोध गर्ने मात्र होइन सबै राजनैतिक र सामाजिक अगुवाबीच साझा अवधारणा तयार गरी अगाडि बढ्ने वातावरण पहिल्याउन पनि जरुरी छ । जिल्लाको विकासमा साझा अवधारणा बनाउन निजीक्षेत्रकोे तर्फबाट पहल गर्ने छौं ।
४. पछिल्लो समय बाँकेको पर्यटन उद्योगमा पनि ठूलो लगानी भित्रिएको छ । तारे होटल , फनपार्क, क्यासिनो, होमस्टे जस्ता क्षेत्रमा उत्साह जनक लगानी भए पनि पर्यटन क्षेत्रको स्पष्ट रणनीति नहुँदा लगानीकर्ता आफ्नो भविष्य अनिश्चित बन्ने हो की भन्ने निरासा व्यक्त गरिरहेका छन् । व्यवसायीहरुको निरासालाई आशामा बदल्न र पर्यटन क्षेत्रमा उत्साह जगाउन निजी क्षेत्रको तर्फबाट प्रभावकारी काम गराउन पहल गरिने छ । नेपाल भ्रमण वर्ष २०२० शुरु भइसकेको अवस्थामा पर्यटन क्षेत्रको प्रचार प्रसारमा ध्यान दिने, पूर्वाधारहरु जस्तै नेपालगन्ज– दिल्ली उडान, नेपालगन्ज पोखरा उडान, नेपालगन्ज–मुगु नियमित उडान गराउन, मानसरोवर जाने रुटलाई स्थायी बनाउन नेपालगन्ज हिल्सा सडक मार्गलाई स्तरोन्नती गर्न सम्बन्धित निकायमा पहल गर्दै नेपालगन्जलाई पश्चिमकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापित गराउन सम्बन्धित निकायसंग पहल गर्नेछौं ।
साथै रात्रीकालीन सडक बजार (स्ट्रिट मार्केट)लाई व्यवस्थापन गर्दै लैजाने र नेपालगन्जलाई ‘गुल्जार’ बनाउनका लागि सरोकारवाला निकायलाई निरन्तर ध्यानार्कषण गराउने छौं । त्यस्तै बाँकेमा खेल पर्यटनको प्रशस्त सम्भावना छ । आठौ राष्ट्रिय खेलकूद भव्यतापूर्वक सम्पन्न भइसकेको र सो क्रममा यहाँ भित्रिएका पूर्वाधारहरुले आगामी दिनमा बाँकेमा खेलकूद गतिविधि बढाउन निजीक्षेत्रका तर्फबाट सहयोगी भूमिका निर्वाह गर्नेछौं ।
व्यवसायीक समस्या तर्फ
१. खुल्ला सीमानाका कारण नेपालगन्जको व्यापार, व्यवसाय चौपट भएको छ । यसले गर्दा एकातिर सरकारलाई दैनिक लाखौ रुपैयाँ राजश्व घाटा व्यहोर्नु परिरहेको छ भने अर्कातिर स्वदेशी उत्पादन फस्टाउन सकेको छैन । यहाँका उत्पादनले सीमापारबाट अवैध रुपमा भित्रिएका सामानसंग प्रतिस्पर्धा गर्न सकिरहेका छैनन् भने अर्कोतर्फ उपभोक्तालाई सीमापारी जान रोक्न सकिएको छैन । यसले गर्दा साना, ठूला उद्योगहरु धरासायी बन्दै गइरहेका छन् ।
आज हामी माझ एकातिर हाम्रै उपभोक्तासंग रहेको सीमापारी सस्तो सामान पाइन्छ भन्ने सोंच अन्त्य गर्नुपर्ने चुनौती छ भने अर्कोतर्फ स्वदेशी उत्पादनको बजारिकरणको सम्भावनाको खोजि गर्नुपर्ने छ । यी दुबै मुद्दा सम्बोधनका लागि हामी बिशेष पहल गर्ने छौं । भन्सार मूल्यांकन, भन्सारसंग जोडिएका समस्या नीतिगतरुपमा समाधान गर्न पहल गर्दै खुल्ला भन्सार नियमनका लागि बैज्ञानिक प्रविधिको प्रयोगमा जोड दिन सरोकारवाला निकायसंग पहल गर्ने छौं । नेपालगन्जको अव्यवस्थित पार्किङ्गले व्यवसायमा नकारात्मक असर पारेको छ । नेपालगन्ज उपमहानगरपालिकासंग समन्वय गरी पार्किङ्गको सम्बन्धित स्थान पहिचान गरी त्यसको व्यवस्थापन गर्न पहल गर्नेछौं ।
२. नेपलागन्ज उद्योग वाणिज्य संघको कार्यसमितिमा संघलाई सबै क्षेत्रका व्यवसायीहरुको अपनत्व महसुस हुने गरी बिधान त व्यवस्था मिलाइने छ । बिगतदेखि संघको निर्वाचनमा अस्वस्थ प्रतिस्पर्धाका कारण सामान्य व्यवसायीहरु निर्वाचनमा उम्मेदवार बन्न नसक्ने अवस्था आएको छ । निर्वाचन प्रयोजनका लागि मात्र सदस्य संख्या बढ्ने बढाउने र अन्य खर्चिलो निर्वाचन पद्धतीलाई सुधार गर्न, निर्वाचनलाई मितव्ययी र मर्यादित बनाउन बिधानलाई समय सापेक्ष एवं आवश्यकता अनुसार संसोधन गरिने छ ।
३. नेपालगन्ज क्षेत्र जडिवुटी व्यवसायको प्रमुख केन्द्र रहेको छ । यहाँ प्रदेश ५, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश लगायत देशभरबाट जडिबुटीको संकलन र भण्डारण हुने गरेको छ । तर स्थानीय तह, प्रदेश र केन्द्र सरकारले लागु गर्ने अव्यवहारिक नीतिका कारणले जडिबुटी संकलन, भण्डारण, प्रशोधन र निर्यातमा अवरोध सिर्जना भएको छ । निकासी हुन नसक्दा महिनौसम्म थन्किएर करोडौ लगानी डुबेको अवस्था छ । जडिबुटीमा देखिएको यस्तो समस्या समाधानका लागि सरोकारवाला निकायसंग बिशिष्ट भूमिका निर्वाह गरी नेपालगन्जलाई जडिबुटी भण्डारण, प्रशोधन र निर्यात प्रशोधनको ‘हब’ बनाउन पहल गरिने छ ।
४. सरकारले आर्थिक ऐन मार्फत आयकर ऐनलाई संशोधन गर्दै ल्याएको व्यवस्थालाई पुर्नविचार गर्न नेपाल उद्योग वाणिज्य महासंघ मार्फत नेपालगन्ज उद्योग वाणिज्य संघले पटक–पटक आवाज उठाउँदै आएको छ । हतारमा ल्याएको सामाजिक सुरक्षा कोष,ख्ऋत्क् र प्यानबाट पारिश्रमिक भूक्तानी गर्ने जस्ता निर्णयले उद्योगी, व्यवसायीलाई असहज बनाएको छ । पर्याप्त गृहकार्य नगरी ल्याएको उक्त प्रावधान कार्यान्वयन गर्न उद्योगी, व्यवसायीलाई अझै पर्याप्त समय चाहिने भएकाले सोको लागि पहल गर्ने प्रतिबद्धता जनाउँदछौ ।
५. बैंक तथा वित्तीय संस्थाको अस्थिर ब्याजदर निजीक्षेत्रको प्रमुख चुनौती बनेको छ । देशमा लगानीको वातावरण बन्दै गए पनि ब्याजदरका कारण उद्योगी, व्यवसायीले अनेकौ हैरानी व्यहोर्नु परिरहेको छ । एकवर्ष अघि एउटा ब्याजदरमा ल्याएको ऋण अर्को वर्ष दोब्बर भइदिने जस्ता समस्याले उद्योगी, व्यवसायीको लगानी डुबेर सडकमा आउनुपर्ने अवस्था सिर्जना भएको छ ।
अस्थिर ब्याजदरका बिरुद्ध नेपालगन्ज उद्योग वाणिज्य संघले हालै मात्र देशभरमा पहिलो पटक सशक्त आन्दोलन शुरु गर्यो । जसको परिणाम देशभरका निजी क्षेत्र आन्दोलित भए जसले गर्दा सरोकारवाला निकायको ध्यानार्कषण गराउन सफल भएका छौं । आगामी दिनमा अस्थिर ब्याजदरको समस्या समाधान गर्न हामी निरन्तर प्रयासरत रहने छौं । बैंक तथा वित्तीय संस्थाबाट बिभिन्न शिर्षकमा लिएको व्यवसायीक कर्जामा नयाँ प्रावधान थप्दै ऋण चुक्ता गर्न दवाव आइरहेको छ । पूर्व जानकारी र कुनै मौका समेत नदिई एकाएक ऋण चुक्ता गर्न दिएको निर्देशनले व्यवसायी आतंकित भएका छन् । ऋण चुक्ताका लागि निश्चित समय माग गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दछौ ।
६. बहुक्षेत्रबाट करको भारी थोपार्दा उदयोगी, व्यवसायी आक्रान्त भएका छौ । करमा एकद्धार प्रणाली लागू हुन सकिरहेको छैन । यतिबेला बिभिन्न तहका सरकारले एक–आपसमा बाझिने गरी दोहोरो तेहरो कर लिइरहेका छन् । त्यस्तो करलाई एकद्धार प्रणालीबाट कार्यान्वयन गराउन प्रयासरत रहने छौं । करको दर होइन करको दायरा फराकिलो बनाउने तर्फ राज्यका निकायको ध्यानार्कषण गराउँने छौ. ।
७. कर शिक्षाको अभावमा उद्योगी, व्यवसायीलाई आन्तरिक राजस्व कार्यालय, वाणिज्य कार्यालय, राजश्व अनुसन्धान कार्यालय लगायत नियमनकारी निकायबाट बेलाबखत अनुगमनको नाममा दुःख दिने काम भइरहेको छ । नयाँ–नयाँ जारी हुने कर प्रणालीका बारेमा उद्योगी, व्यवसायी जानकार नहुँदा थुप्रै समस्या सिर्जना हुने गरेको बास्तविकतालाई महसुस गर्दै कर शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउन छौं । यसका लागि बिज्ञ सहितको अन्तरक्रिया, बुलेटिन प्रकाशन, सामाजिक सन्जाल, संस्थागत वेवसाईटको प्रयोगलाई प्राथमिकता दिइने छ ।
८. नेपालगन्ज उद्योग वाणिज्य संघको समानान्तर संस्था खडा गर्र्र्र्र्दै संघको एकतालाई खण्डित तुल्याउने कार्यलाई निरुत्साहित पारिने छ र दोहोरो भूमिकामा कसैलाई रहन नदिने व्यवस्था गरी संघलाई जिल्लाभरका उद्योगी, व्यवसायीको आस्था र भरोसाको केन्द्र बनाइने छ ।
९. आजको यूगमा सन्चारक्षेत्रसंगको सहकार्य बिना आर्थिक विकासको सम्भावना छैन भन्ने हामीले बुझेका छौं । बाँकेको आर्थिक विकासमा सन्चारक्षेत्रको अहम् भूमिका रहंदै आएको छ । आगामी दिनमा त्यस भूमिकालाई अझ फराकिलो बनाउन सन्चारक्षेत्रसंगको सहकार्यका लागि स्पष्ट कार्ययोजना तयारी गरिने छ ।
१०. उद्यमी व्यवसायीहरुलाई पर्न आउने व्यवसायीक पिरमर्काहरुलाई शिघ्र सम्बोधन गर्न संघका पदाधिकारीकै नेतृत्वमा सूचना पाउँना साथ तत्काल परिचालन हुने गरी ‘हेल्प टिम’ बनाइने छ र यो टिम उद्योगी, व्यवसायीको समस्या समाधान गर्न अहोरात्र खटिन तयार हुने प्रतिवद्धता जाहेर गर्दछौ ।