नेपालगन्ज ५ माघ – नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका प्रतिस्पर्धी समावेशी प्यानलले र साझा प्रजातान्त्रिक प्यानलले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । उनीहरु दुवैको घोषणापत्रमा बाँकेको आर्थिक विकासको मुद्दालाई प्राथमिकताका साथ जोड दिइएको छ ।
अब्दुल वाहिद मन्सुरी चुन्ना नेतृत्वको समावेशी प्यानलले बाँकेमा ठुला लगानी भित्र्याउन लगानी सम्मेलन गर्नेदेखि व्यवसायीलाई दुःख पर्दा तत्काल परिचालन हुने ‘हेल्प टिम’ बनाउने प्रतिवद्धता –पत्र सार्वजनिक गरेको छ ।
शनिवार समावेशी प्यानलले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । प्रतिवद्धतापत्रमा नेपालगन्ज पश्चिम नेपालको आर्थिक ‘हब’का रुपमा स्थापित हुँदा हुँदै पनि अपेक्षाकृत उद्योगको संख्या बढ्न नसकेको भन्दै चिन्ता प्रकट गरिएको छ ।
नेपाल र भारत व्यापारको ढोका खोल्ने, एकिकृत भन्सार चेकपोष्ट , रेलमार्ग बिस्तार, नौवस्ता औद्योगक क्षेत्र, बिशेष आर्थिक क्षेत्र ‘सेज’ जस्ता योजना कार्यान्वयनको चरणमा रहेका बेला आगामी दिनमा यहाँ सानादेखि ठूला लगानीका उद्योग, करकारखाना स्थापना हुने प्रशस्त सम्भावना भएको प्रतिवद्धतापत्रमा भनिएको छ ।
यसका लागि लगानीकर्तालाई आर्क्षित गर्न हाम्रो पहलकदमी पनि आवश्यक देखिएको भन्दै समावेशी प्यानलले देशर बिदेशका लगानीकर्तालाई बाँकेमा आकर्षित गर्न स्पष्ट योजना सहित ‘लगानी सम्मेलन’, अन्र्तराष्ट्रियस्तरको कृषि तथा औद्योगिक प्रदर्शनी जस्ता बिषयगत मेला आयोजना गर्ने प्रतिवद्धता जनाएको छ ।
लगानी बोर्डलाई आह्वान गरी बिज्ञ समूह मार्फत त्यसको स्पष्ट खाका निकट भविष्यमै निर्धारण गर्ने र लगानी सम्मेलन र कृषि तथा औद्योगिक प्रदर्शनीले बाँकेमा लगानी गर्नका लागि राज्य र लगानीकर्ताको ध्यान यसतर्फ खिच्ने अपेक्षा गरिएको छ ।
त्यस्तै उद्यमी व्यवसायीहरुलाई पर्न आउने व्यवसायीक पिरमर्काहरुलाई शिघ्र सम्बोधन गर्न संघका पदाधिकारीकै नेतृत्वमा सूचना पाउँना साथ तत्काल परिचालन हुने गरी ‘हेल्प टिम’ बनाउने र उक्त टिम उद्योगी, व्यवसायीको समस्या समाधान गर्न अहोरात्र खटिन तयार हुने प्रतिवद्धता व्यक्त गरिएको छ ।
त्यस्तै ललित रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले ७ पृष्ठ लामो प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । उक्त उद्योगी व्यवसायीहरुको सुरक्षा र सम्मान गर्ने, उद्योग बाणिज्य संघप्रति उद्योगी व्यवसायीहरुको घट्दै गएको विश्वास पुनः फर्काउने प्रतिबद्धता–पत्रमा उल्लेख गरिएको छ ।संस्थागत विकासदेखि पेशागत तथा बिषयगत संघसंस्थाहरुसँग सहकार्य गर्ने प्रतिबद्धता–पत्रमा उल्लेख गरिएको छ ।
प्रतिबद्धता–पत्रमा व्यवसायिक सुदृढिकरणका लागि आवश्यक नीतिगत सुधारको पहल गर्ने, व्यवसायीहरुको प्राज्ञिक विकासलाई विस्तार गर्ने, सुख्खा बन्दरगाह निर्माणका लागि सम्बन्धित निकायसँग पहल गर्ने, सूचना र संचार पारदर्शीताको आधार भन्ने नारालाई चरितार्थ गर्ने उल्लेख गरिएको छ ।
त्यसैगरी नेपालगन्ज उद्योग बाणिज्य संघको अल्पकालीन तथा दीर्घकालीन रणनैतिक योजना तथा कार्ययोजना तयार गर्ने र कार्यान्वयन गर्ने, संघको विधान अक्षरसः पालन गर्दै संघको मानमर्यादालाई उच्च बनाउनुका साथै विधानमा भएको कमी कमजोरीलाई विधानमा संशोधन समायानुकूल सुधार गर्ने प्रतिबद्धता–पत्रमा उल्लेख छ ।