
नेपालगन्ज – सीधै विदेशी मुद्रा जम्मा गर्नका लागि बैंकका खोलिने खाता नै विदेशी मुद्रा खाता वा डलर खाता हो । नेपालका बैंकहरुले डलर, युरो लगायतका मुद्रा बचत गर्न एवम् कारोबार गर्न मिल्ने विदेशी मुद्रा बचत खाता संचालनमा ल्याएका छन् ।
अन्य समान्य बचत खाता खोलेजस्तै बैंक शाखामा गएर विदेशी मुद्रा बचत खाता खोल्न सकिन्छ । बैंकमा विदेशी मुद्रा खाता खोल्ने नेपालीले एक वर्षमा १५ हजार अमेरिकी डलरसम्म खर्च गर्न पाउने व्यवस्था छ । प्रत्येक नेपालीले विदेश जानका लागि भिसा लागेको पासपोर्टको आधारमा २५ सय अमेरिकी डलर खर्च गर्ने सुविधा पाउँछ ।

धेरै विदेश यात्रा गरिरहनेहरुका लागि यस्तो खाता महत्वपूर्ण हुन्छ । बैंकमा गएर पैसा साट्नुपर्ने झन्झट हुँदैन भने खल्तीमा धेरै नगद बोकेर हिँड्नुपर्ने अवस्था पनि रहँदैन । त्यस्तै, नेपालीले विदेशी मुद्रामा कमाएको आय विदेशी मुद्रामै बचत गर्दा विदेशी विनिमय संचिति बढ्न गई मुलुकको आयात धान्ने क्षमता बढ्छ ।