नेपालगन्ज ८ माघ – पश्चिम नेपालको पूर्वाधार विकासले बाँकेमा ठुला औद्योगिक समूहको आर्कषण बढाएको छ । विकास निर्माणसंग जोडिएका सिमेन्ट र छड जस्ता उद्योग प्रत्येक वर्ष जस्तो थपिदो क्रममा छ ।
नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले ठूला उद्योग स्थापना हुनु बाँकेका लागि उत्साहजनक भएको बताउँछन् । उनी भन्छन्,–‘बाँके लगानीका लागि उपयुक्त ठाउँ हो भन्ने कुरा प्रमाणित भएको छ ।’
उद्योग बिभागका अनुसार २०४७ सालयता बाँकेमा ८८ वटा ठुला उद्योग थपिए । पछिल्लो समय जय अम्बे स्टील, सगरमाथा स्टील इण्डष्ट्रिज, नेपाल वेलहोप एग्रीटेक प्रालि, गोल्डेन गेमिङ्ग इन्टरनेशन क्यासिनो, वर्षा रिसाईक्लिङ्ग ईण्डष्ट्रिज, विकास फ्लोर मिल र भिभो मोवाइल नेपाल प्रालिको सर्भिस सेन्टर सन्चालनको तयारीमा छन् ।
द्वन्द्वकालमा बाँकेले गुमाएका पुराना उद्योग पुनस्र्थापना भएको र नयाँ स्थापना हुनेक्रम तीव्र गतीमा बढेको अध्यक्ष बैश्यको बुझाईछ । स्थानीयदेखि देशका ठूला र नाम चलेका औद्योगिक समूह लगानी गर्न हौसिएका छन् । ‘राजनीतिक स्थिरता र उर्जा लगायतका समस्या समाधान भएपछि लगानीको उत्साह थपिएको छ । बाँके औद्योगिक हबका रुपमा विकास भइरहेको छ,’ उनी भन्छन् ।
बाँके जिल्ला लगानीकर्ताका लागि आफैमा सुनौलो ठाउँ भएको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए । राजनीतिक अस्थिरता र उर्जा लगायत समस्याले लगानीकर्ता आउन हिच्किचाए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य प्रवेशद्वारा बाँके भएकोले पछिल्लो समय ठूला लगानीकर्ता आकर्षित भएको उनले बताए । ‘अहिले अवस्था सुध्रिएको छ । एकपछि अर्को ठूलो उद्योग खुल्ने क्रम जारी छ,’ श्रेष्ठले भने, ‘यो वातावरणलाई संधै यस्तै बनाईराख्न जरुरी छ ।’
बाँके जिल्लामा स्टील उद्योगको आर्कषण नै देखिएको छ । देशकै सबैभन्दा ठूलो औद्यागिक समूह जय अम्बे स्टील प्रालिले जानकी गाउँपालिकामा रु. चार अर्व १५ करोड चुक्तापुँजी सहित उद्योग स्थापना भएको छ ।
त्यस्तै सगरमाथा स्टील उद्योगले पनि जानकी गाउँपालिकाको खजुराखुर्दमा रु. २४ करोड चुक्ता पुँजी सहित उद्योग स्थापना गरेको छ । संघीयता पछि बनेको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आवश्यक पर्ने सामग्री पठाउने उपयुक्त ठाउँ बाँके भएको छ । ति दुई प्रदेशसँगै प्रदेश ५ लाई चाहिने बस्तुको हिस्सा ओगट््न कुनै पनि उद्योगले बाँकेमा औद्योगिक प्लान्ट राख्नै पर्ने बाध्यता भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा दैनिक जसो हरेक उत्पादनको बजारक्षेत्र बढ्दै गएको छ ।
विकास निर्माण तीव्ररुपमा भइरहँदा निर्माणका सामग्रीको माग ह्वात्तै बढेको छ । पहाडी र हिमाली क्षेत्रमा बढ्दै गएको शहरीकरणले उपभोग्य सामग्रीको बजार थपिदैछ । त्यस्तो अवस्थामा पूर्वमा उत्पादन भएका सामग्री पश्चिममा ल्याएर बिक्री गर्दा ढुवानी धेरै रकम खर्चिनु भन्दा यही उद्योग खोलेर उत्पादन गर्नु उद्योगीका लागि दीर्घकालिनरुपमा फाईदाजनक हुने देखेर उद्योगीहरु बाँकेका विभिन्न स्थानमा उद्योग स्थापना गर्न तम्सिएको शिखर प्लाईउड प्रालिका प्रोप्राइटर चम्पालाल बोथराले बताए ।
ठूलो स्केलमा आफ्ना उत्पादन बिक्री गर्ने र पश्चिममा बजारको राम्रो सम्भावना देखेर उद्योगीले बाँकेलाई उद्योग संचालनका लागि रोजेको उनले बताए । ‘बाँकेमा लगानीकर्ताहरु आकर्षित हुनुको अर्को कारण सहजरुपमा जग्गा प्राप्त गर्न सकिने हो,’ उनले भने, ‘अन्य ठाउँभन्दा सहजरुपमा जग्गा उपलब्ध हुने भएका कारण पनि यहाँ लगानीकर्ताको आर्कषण देखिन्छ ।’
भारतसंग सीमा जोडिएको र एकीकृत भन्सार जाँच चौकी निर्माणको क्रममा रहेकोले बाँकेलाई उद्योगीले रोज्न थालेको छन् । नेपाल–भारत जोड्ने रेल र पूर्व–पश्चिम रेल संचालनमा आए त्यसले आयात निर्यातमा समेत फाइदा पुग्ने दूरदृष्टि राखेर यहाँ उद्योग संचालन गर्न उद्योगीहरु बाँकेलाई उपयुक्त स्थानको रुपमा देखिन्छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलाई मध्यनजर गरि सरकारले बाँकेको नौवस्तामा प्रदेश ५ कै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र निर्माणको काम शुरु गरिसकेको छ ।