नेपालगन्ज १० माघ – राष्ट्रिय वाणिज्य बैंकले शुक्रवार आफ्नो ५५ औं वार्षिकत्सव मनाएको छ । प्रदेश ५ अन्र्तगत बिभिन्न शाखामा स्थापना दिवश मनाउँदै बैंकका कर्मचारीहरुले प्रभावकारी सेवा प्रवाहमा सम्झौता नगर्ने प्रतिवद्धता जनाएका छन् ।
नेपालगन्जमा नेपाल राष्ट्र बैंक नेपालगन्जका निर्देशक मुक्तिप्रसाद सापकोटाको प्रमुख आतिथ्यता र नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको बिशिष्ट आतिथ्यतामा बैंक स्थापना दिवश मनाइयो । प्रदेश प्रमुख आनन्द सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा केक काटेर वार्षिकत्सव कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक नेपालगन्जका निर्देशक मुक्तिप्रसाद सापकोटाले राष्ट्रिय वाणिज्य बैंक धेरै सूचांकमा अगाडी रहेको बताउँदै प्रशंसा गरे । उनले सेवा प्रभावमा क्रमश सुधार हुँदै गएको उल्लेख गर्दै अहिलेको अवस्थालाई निरन्तर जोगाइराख्न बैंकका कर्मचारीलाई सुझाव दिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले बैंक र उद्योगी, व्यवसायीबीचको सम्बन्ध अटुट रहेको बताए । उनले बाँकेको आर्थिक गतिविधि चलायमान बनाउँन राष्ट्रय वाणिज्य बैंकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।
उक्त अवसरमा बोल्दै राष्ट्रिय वाणिज्य बैंकका प्रदेश नंं ५ प्रमुख आनन्द सुवेदीले आगामी दिनमा सेवाग्राहीको सेवा प्रभावमा कुनै प्रकारको सम्झौता नगर्ने प्रतिवद्धता जनाए । उनले भने,–‘हाम्रो बैंकले प्रभाव गर्ने सेवा यतिबेला प्रभावकारी छ भन्ने सबैले महसुस गर्नुभएकै छ । आगामी दिनमा यसलाई अझ राम्रो बनाउन लाग्छौ ।’
सुवेदीले लगानीका बिशेष क्षेत्र पहिचान गरी ऋण प्रवाह गर्ने रणनीति बनाएको कार्यक्रममा बताए । ‘जस्तो नेपालगन्जमा उद्योग क्षेत्रमा लगानीको सम्भावना राम्रो छ भने खजुरामा कृषि क्षेत्र । जुन ठाउँमा जे कुराको सम्भावना छ त्यसलाई प्राथमिकतामा राखेर लगानी गर्छौ ।’– सुवेदीले बताए । उनले सेवाग्राहीको हरेक गुनासालाई आफुहरु हाँसी हाँसी सम्बोधन गर्न तयारी भएको बताए । राष्ट्रिय वाणिज्य बैंक नेपालगन्ज शाखाका प्रमुख बिनोद पाण्डेले सेवाग्राहीको मन जितेका कारण एक नम्बर बैंक सफल भएको बताए । कार्यक्रममा नेपालगन्ज क्षेत्रका उद्योगी, व्यवसायी, बैंक र वित्तीय क्षेत्रका अगुवा, पूर्व कर्मचारी लगायतको सहभागिता रहेको थियो ।