‘मौका नदिई धितो लिलाम नगर्नु,ऋण लिएर मिटर ब्याजमा लगाउन नदिनु’


नेपालगन्ज ९ माघ – नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयका निर्देशक मुक्तिप्रसाद सापकोटाले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण मिटर ब्याजमा प्रयोग हुन नदिन सावधानी अपनाउन निर्देशन दिएका छन् । राष्ट्रिय वाणिज्य बैंकको वार्षिकत्सव कार्यक्रममा शुक्रवार सापकोटाले यस्तो निर्देशन दिएका हुन ।

‘मिटर ब्याज जस्ता कार्य कानूनत निषेध गरिएको छ । त्यस्ता कार्य कहि कतै भइरहेका छन् भने पनि त्यस्ता काममा बैंकको ऋण प्रयोग हुन नदिन सावधानी अपाउनुहोस् ।’ नेपालगन्जका बैंक तथा वित्तीय संस्था सहभागि उक्त कार्यक्रममा निर्देशक सापकोटाले भने–‘ऋण दिदा पनि ऋणीको कनेक्सन मिटर ब्याजेसंग छ वा छैन भन्ने बारेमा पनि सुक्ष्म अध्ययन गर्नुहोस् ।’

मिटर ब्याज जस्ता कार्यले निम्त्याएका वित्तीय अपराधका घटनालाई रोक्न बैंकको भूमिका प्रभावकारी हुने सापकोटाले बताए । उनले भने,–‘ऋण दिनु भन्दा पहिले र दिइसकेपछि पनि ऋणीका बारेमा सुक्ष्म अनुगमन गर्न नबिर्सिनुहोला ।’

निर्देशक सापकोटाले बैंक तथा वित्तीय संस्थालाई ऋण तिर्न नसक्ने ऋणीको धितो लिलाम तत्काल गरिहाल्ने कुरालाई प्राथमिकतामा नराख्न समेत निर्देशन दिएका छन् । परिस्थितीजन्य तरिकाले ऋणीलाई समस्या भएको अवस्था भए त्यस्तालाई मौका दिन बैंक तथा वित्तीय संस्था लचक हुनुपर्ने सापकोटाको भनाई छ । उनले कार्यक्रममा भने,–‘ऋणीलाई मौका नदिई धितो लिलाम गरी हाल्ने तर्फ तपाईहरुले नसोच्नुहोला ।’

सापकोटाले चेक अनादर गर्नेलाई उन्मुक्ति नदिन निर्देशक दिएका छन् । उनले चेक अनादारको घटना बढ्दै गएको बताउँदै त्यस्ता घटना रोक्न बैंक तथा वित्तीय संस्थाका कर्मचारी सचेत बन्नुपर्ने स्पष्टरुपमा बताए । चेक अनादार गर्नेलाई कालो सूचिमा नराख्ने बैंकका कर्मचारीलाई नै कारवाही हुने उनले जनाए ।

प्रकाशित मितिः     १० माघ २०७६, शुक्रबार १८:३७  |