- कमल डाँगी
बिदाको दिन नेपालगञ्जमा कहाँ घुम्न जाने ? जवाफ हो,–‘रानी तलाउ ।’ रानी तलाउमा मान्छेको भीड लाग्छ । बोटिङ गर्न, माछालाई चारो हाल्न र बालबालिका लिएर रमणीय दृश्य हेर्न स्थानीयले मन पराउन थालेका छन् । यो पुरानो शहरको बिदा मनाउने र मन भुलाउने प्रमुख आधार रानी तलाउ नै बनेको छ । स्थानीय कुश कुमार गुप्ता भन्छन्,–‘शनिवारका दिन हजार भन्दा बढिको भिड देख्न पाइन्छ । चलहहल निक्कै बढेको छ ।’
सात महिना पहिले बेबारिसे रहेको रानी तलाउमा अहिले मान्छेको घुइँचो छ । त्यस आसपासका व्यापारीसमेत आम्दानी बढ्न थालेकामा दंग छन् । झन्डै २३ लाख रुपैयाँ लगानीमा पुनः मर्मत गरेपछि तलाउ सन्चालनमा आएको नेपालगञ्जका मेयर धवल शमसेर राणा बताउँछन् । पहिलो पटक २०५६ मा मेयर हुँदा उनैले रानी तलाउ बनाएका थिए । बिचमा धेरै समय बन्द भयो । दोस्रो पटक मेयर भएका राणाले मर्मत गरेर रानी तलाउ सन्चालनमा ल्याएका हुन ।
मान्छेहरू घन्टौं चारो हाल्ने र माछासँग रमाउन रानी तलाउ धाउने गर्छन । खास गरी सार्वजनिक बिदाका दिनमा यहाँ आन्तरिक पर्यटकको भीड लाग्छ । सात महिनामा १ हजार हजारको हाराहारीमा पर्यटक घुम्न आएको आएका छन् ।
नगरपालिका अन्य तालतलाउ पनि जोगाउने अभियानमा छ । कान्ति, फुटाह र वाटर पार्क पनि उस्तै नेपालगन्ज उपमहानगरपालिका–२२ (पुरैनी) र वडा–२१ (पुरैना)मा अवस्थित कान्ति ताल सयौं वर्ष पुरानो हो । १० करोडमाथिको लगानी रहेको यो ताल अहिले निर्माणधीन छ ।
‘कान्ति ताल नेपालगन्जको ड्रिम प्रोजेक्ट हो,’ प्रमुख राणाले भने, ‘दुई वर्षभित्र पूरा गर्ने योजना छ ।’ पुष्पाञ्जली र पीएसजेबी कम्पनीले ९ करोड ४८ लाख रुपैयाँमा ठेक्का लिएको छ । २५ बिघा जग्गामा रहेको ताल लामो समयदेखि अलपत्र थियो । स्थानीयले फोहोर फाल्ने थलो बनाएका थिए । नगरपालिकाले अलपत्र तालको संरक्षण गर्न थालेपछि यहाँ स्थानीयका जमिनले समेत भाउ पाउन थालेका छन ।
कान्ति तालमा बोटिङ, माछा पालन, वृक्षरोपण, चिल्ड्रेन पार्क, पिकनिक स्पटलगायत अत्याधुनिक शैलीको संरचना बनाउने नगरको योजना छ । नेपालगन्ज उपमहानगरपालिकाले हालसम्म पाँचवटा ताल संरक्षण गरेको छ । अरु चारवटा गर्ने तयारीमा छ । त्यससँगै स–साना तलाउको खोजी गरेर जनस्तरमा ताल जोगाउ अभियानमा जोड दिने रााणाले बताए ।
उपमहानगरपालिका–१९ मा रहेको फुटाह ताल पनि १५ लाख बराबरको लगानीमा सफा गरिएको उनले सुनाए । झन्डै चार बिघा जग्गामा रहेको तालमा भने व्यावसायिक रूपमा माछा पाल्ने र पदमार्ग बनाउने ड्रिम प्रोजेक्ट रहेको छ ।
नेपालगन्ज पुष्पलाल चोकनजिक रहेको वाटर पार्क निर्माण संघीय सरकारअन्तर्गत छ । ताल संरक्षण भइसकेपछि त्यसलाई व्यवस्थित गरेर सौन्दर्यकरणमा उपमहानगरपालिकाले नै जिम्मा दिने प्रमुख राणाले बताए । साढे तीन करोडको लगानीमा बन्दै गरेको वाटर पार्कले नेपालन्जको मुहार नै फेर्ने विश्वास छ । ‘ताल संरक्षणले प्राकृतिक सौन्दर्य बढ्छ भने एकातिर पर्यटकको आकर्षणले आयस्रोतमा सघाउ पुग्छ,’ उनले भने, ‘ताल जोगाउन भरमग्दुर प्रयास गर्दै छौं ।’
बाँकेको छिमेकी जिल्ला बर्दियामा बढैयाताल छ । देशकै सबैभन्दा धेरै माछा उत्पादन हुने बढैयाताललाई पर्यटकीयस्थलका रुपमा बिस्तार गर्ने योजना बनाएको छ । बर्दियामै सतखोलुवा जस्ता प्राकृतिक र कृत्रिम ताललाई संरक्षण गरेर पर्यटकीयस्थल बनाउँदा आन्तरिक र बाह्य पर्यटकको आवत–जावत बढ्ने पर्यटन व्यवसायी कृष्ण चौधरी बताउँछन् । प्रदेश ५ का धेरे जसो जिल्लामा यस्ता रमणीय तालहरु छन् ।
बाउन्न पोखरी त्रिपन्न टाकुरीका नामले परिचित रुकुम जिल्लाका विभिन्न तालहरूमध्ये कमल ताल संरक्षणको अभावमा ओझेलमा परेको छ । धार्मिक तथा पर्यटकीय महत्व बोकेको तालको संरक्षणका लागि कुनै प्रयास नभएपछि ताल लोप हुने अवस्थामा पुगेको छ । ताल उत्पतिका विषयमा कुनै ठोस प्रमाण नभेटिए पनि धार्मिक तथा पर्यटकीय महत्व बोकेको यो तालमा बर्षेनी शिवरात्री, चैत्रे दशैं, हरितालिका तिज, बडादशैंमा भब्य मेला लाग्ने गर्दछ । तालमा नुहाएमा विभिन्न रोगहरू निको हुने जनविश्वास रहेको पाइन्छ ।
तालको संरक्षणसँग प्रचार प्रसार भएमा राम्रो पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने स्थानीय व्यवसायीहरू बताउँछन्। स्थानिय भाषामा कमल दह पनि भन्ने गरिन्छ ।
रुकुमकोटको बाहुन्थानामा अवस्थित यो ताल नेपालको नक्शा जस्तो देखिन्छ । यसको क्षेत्रफल १.९५ वर्ग कि.मी.छ । यहाँ नुहाउदा पाप नाश हुन्छ भन्ने धार्मिक किम्बदन्ति अनुशार माघे सक्रान्तिमा तिर्थयात्रिहरू आएर नुहाउने चलन छ । यो ताल सुन्दर र मनमोहक हुनुकासाथै नेपालमा पाईने कमल मध्ये सबैभन्दा राम्रो कमल पाइन्छ । प्राय चैत बैशाख महिनामा यस ताल बाट कमल निकाल्ने गरिन्छ,जुनबाट अचार या तरकारि बनाइन्छ त्यसबाहेक यसलाई कमलपित्त (जन्डिस) या अन्य रोगको उपचारको लागि पनि प्रयोग गरिन्छ ।
अनि असार,साउन र भदौ तिर तालले माला भिरेझै देखिने कमलको हरियो पात अनि त्यसमथि फुलेको कमलको फुलले रुकुमकोटमा लाग्ने तिज् मेलामा अर्कै रौनक थपेको हुन्छ। यो तालको पूर्वमा पर्ने वनमा बिभिन्न किसिमका जडिबूटिहरू पाइन्छन, साथै यो ताल वरिपरि बिभिन्न किसिमका चराहरू पाइने भएकोले बर्ड् वोचिङ्को लागि उपयूक्त ठाँउ हो ।
दाङ्गको घोराही उपमहानगरपालिकाले वडा नम्बर २ बलामपुरमा बनाएको कृत्रिम जलाशय हेर्न लायक छ । मुख्य मन्त्री शंकर पोख्रेलले समेत यसको प्रशंसा गरेका छन् । यो कृत्रिम जलाशयले २० विगाहमा सिचाई पुराएको छ । अहिले बारीभरी टमाटर, काक्रा, गोभी, मकै, सिमी लगाएतका तरकारी खेती गरिएको छ ।