मतदातालाई समावेशी प्यानलको धन्यवाद


नेपालगन्ज १३ माघ – नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित समावेशी प्यानलका उम्मेदवार अब्दुल वाहिद मन्सुरी, उद्योगतर्फका उपाध्यक्ष आदेश अग्रवाल सहित सदस्यले मतदाताप्रति हार्दिक आभार प्रकट गर्दै सोमवार बिजय र्याली निकालेका छन् । नेपालगन्जको नगर परिक्रमा गरेर मतदातालाई धन्यवाद दिएका हुन ।

नवनिर्वाचित अध्यक्ष मन्सुरीले सबैलाई एक ढिक्का बनाएर व्यवसायीक हितमा लाग्ने उद्घोष गरे । उनले कुनै पनि प्रकार्रका बिमत्ती नरहने गरी काम गरिने बताउदै सहयोग गर्न सबैमा अनुरोध गरे । समावेशी प्यानलले ‘उद्योगी, व्यवसायीको एकता, समावेशी प्यानलको पहिचान । व्यवसायीहरुको हकहितका लागि गर्छौ हामी योगदान ।’– भन्ने नारा सहित नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा होमिएको थियो ।

उक्त समावेशी प्यानलबाट अध्यक्ष पदका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्ना सहित उपाध्यक्ष (उद्योग) आदेश कुमार अग्रवाल, सदस्यमा क्रमश ः हरिलाल न्यौपाने, चिरञ्जीवी ओली, श्यामसुन्दर अधिकारी, विजय भण्डारी(बासु),मन्दिरा पाण्डे, धर्मराज अर्याल, टंक बहादुर धामी भिम बहादुर रानाभाट, एशोसिएट तर्फ दिपेन्द्र विष्ट बिजयी भएका छन् भने बस्तुगतमा भिम कँडेलको बराबरी भएको छ ।

बिजयको उत्साहका साथ साथै सम्पूर्ण उद्योगी, व्यवसायीलाई नेपालगन्ज उद्योग वाणिज्य संघको छाताभित्र गोलवद्ध गरी व्यवसायीक हकहितमा काम गर्ने गहन जिम्मेवारी आएको समावेशी प्यानलका संरक्षक एवं पूर्व केन्द्रीय सदस्य दामोदर आचार्यले बताए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले सबैलाई समेटेर संघलाई सफल बनाउन आग्रह गरे । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले व्यवसायीक हितका लागि नवनिर्वाचित कार्यसमिति सफल हुने बिश्वास गरे ।

क्रममा निर्वाचनका समय यदि कहि कतै तिता मिठा कुरा भएका भए पनि त्यसलाई बिर्सिएर अब संघको छाताभित्र गोलवद्ध भई व्यवसायीक हकहितमा सक्रियतापूर्वक अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्दै निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको निर्वाचन समिति, नेपालगन्ज उद्योग वाणिज्य संघ, उद्योगी, व्यवसायी, प्रहरी, प्रशासन, नागरिक समाज एवं पत्रकार हार्दिक आभार प्रकट गरेको निर्र्वाचन परिचालन समिति संयोजक इश्वर प्रसाद पोख्रेलले बताए ।

प्रकाशित मितिः     १३ माघ २०७६, सोमबार १४:२०  |