नेपालगन्ज १९ माघ – नेपालगन्ज क्षेत्रमा घर जग्गाको कारोवार बढेको छ । समग्रमा करिब ५ प्रतिशतले घरजग्गाको कारोबार घटेको छ भने जनकपुर, नेपालगन्ज र धनगढी क्षेत्रमा घर–जग्गा कारोबार बढेको नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा गरेको एक अध्ययनले देखाएको छ ।
राष्ट्र बैंकले बाँके, बर्दिया, दाङ्ग, सुर्खेत, सल्यान र जुम्लालाई नेपालगन्ज क्षेत्र मानेर घरजग्गा कारोवारको अध्ययन गरेको थियो । उक्त अध्ययन अनुसार, गत वर्ष घरजग्गा रजिष्ट्रेशन संख्यामा ४.७ प्रतिशतले कमी आएको छ । घरजग्गाको कारोबार घटे पनि राजश्व संकलन भने बढेको राष्ट्र बैंकले बताएको छ ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा घरजग्गा रजिष्ट्रेशन बापतको राजस्व ६.१ प्रतिशतले वृद्धि भई २१ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो राजस्व २.० प्रतिशतले वृद्धि भएको थियो ।
यस अवधिमा घररभवन नक्सा पास संख्या ८.२ प्रतिशतले घटेको छ । गत वर्ष घररभवन नक्सा पास संख्या ४६.३ प्रतिशतले बढेको थियो । समग्र क्षेत्रमा घरजग्गा कारोकार सुस्ताए पनि जनकपुर, नेपालगन्ज र धनगढी क्षेत्रमा घर-जग्गा रजिष्ट्रेशन संख्या वृद्धि भएको राष्ट्र बैंकले बताएको छ ।
त्यसैगरी, काठमाडौं र विराटनगर क्षेत्रमा घरजग्गा रजिष्ट्रेशन वापतको राजस्व घटेको छ भने अन्य क्षेत्रमा बढेकोछ । जनकपुर र धनगढी क्षेत्रमा घररभवन नक्सा पास संख्या वृद्धि भएको छ भने अन्य क्षेत्रमा ह्रास आएको राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले देखाएको छ ।