पर्यटन कार्यालय ‘गायब’ हुँदा बाँकेका ट्राभल एजेन्सीलाई तनाव


नेपालगन्ज १९ माघ – बाँकेका ट्राभल एजेन्सीले पर्यटन कार्यालय खोज्न थालेको वर्षदिन भन्दा धेरै भयो । अहिलेसम्म उक्त कार्यालय भेटाउन सकेका छैनन् । पर्यटन कार्यालय कहाँ हो भन्ने पत्ता नलाग्दा यहाँका ट्राभल एजेन्सीको नविकरण जस्ता महत्वपूर्ण काम हुन सकेको छैन् ।

पर्यटन कार्यालय नेपालगन्जमा थियो । यहाँबाट सारेर कोहलपुर लगियो । गत वर्ष भदौ महिनामा प्रदेश र स्थानीय तहमा कार्यालय विभाजन गर्दा संघ अन्र्तगत पर्ने पर्यटन कार्यालय गायब भयो ।

‘कोहलपुरमा रहेको पर्यटन कार्यालय कहाँ लगियो भन्ने थाहा भएन । त्यसले गर्ने काम कस्ले गर्छ भन्दै धेरै ठाउँ खोज्दै हिड्यौ तर पत्ता लागेन ।’–नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाटा) बाँकेका अध्यक्ष श्रीराम सिग्देलले भने,–‘यसले गर्दा नविकरण जस्ता कयौं काम समयमै हुन सकेको छैन ।’

नाटा बाँकेका उपाध्यक्ष डिल्लीराम रेग्मीका अनुसार, शुरुमा जिल्ला वन कार्यालयलाई पर्यटन कार्यालयको अख्तियारी दिइएको भनियो । ‘हाम्रा नविकरणका फाईल त्यहाँ पुर्याउने काम गरेका थियौ । तर त्यहाँ पनि काम नहुने भएपछि भैरहवा गयौं । त्यहाँ पनि हाम्रो काम भएन ।’– रेग्मीले भने,–‘कार्यालय खोज्दा खोज्दै नविकरणको लागि आवश्यक पर्ने म्याद सकिएको छ ।’

पर्यटन कार्यालय गायब भएको एकवर्ष भन्दा धेरै भएपछि मात्र बल्ल यस विषयमा प्रदेशको उद्योग, पर्यटन तथा वन मन्त्रालयले चासो दिएको छ । नाटाको सक्रियता पछि दर्ता र नविकरण गर्ने गरी यतिबेला प्रदेश पर्यटन मन्त्रालयका अधिकृत नारायणप्रसाद शर्मा लगायतका कर्मचारी शिविर नै सन्चालन गर्न नेपालगन्ज आएका छन् । उनीहरुले पनि नविकरण गर्न छ महिना म्याद गुजारेका एजेन्सीका विषयमा कुनै काम गर्ने छैनन् ।

नाटाको आयोजनामा आईतवार नेपालगन्जमा भएको एक अन्तरक्रियामा न्यौपानेले भने,–‘नविकरणको म्याद छ महिना गुजारेका हकमा माथिबाटै नीतिगत निर्णय हुनुपर्छ । बाँकीका हकमा शिविरमै काम गर्छौ ।’ सरकारकै कारण आफुहरु नविकरण गर्नबाट बन्चित भएको बताउँदै नाटा बाँकेका सचिव झविलाल शर्माले त्यसको व्यवस्थापन हुन जरुरी रहेको बताए । कर चुक्ता जस्ता काम गरिसकेको भएपनि पर्यटन विभागबाट नविकरणको काम नहुँदा ट्राभल एजेन्सीलाई कारोवार गर्न समस्या भएको छ ।

आईतवार भएको छलफलमा ट्राभल एजेन्सी, एयरलाइन्सका प्रमुख लगायतको सहभागिता रहेको थियो । छलफल बाँकेको पर्यटन प्रर्बद्धनमा केन्द्रीय भएको नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताए ।

प्रकाशित मितिः     १९ माघ २०७६, आईतवार १५:५८  |