नेपालगन्ज २० माघ – कर्णालीमा पाइने ‘खोले साग’ नेपालगन्जमा धमाधम विक्री भइरहेको छ ।
खेत र खोलाको सिमसारमा उत्पादन हुने उक्त साग यतिवेला कर्णालीबाट ल्याएर नेपालगन्जमा विक्री भइरहेको हो ।
पच्चिस रुपैया मुठामा विक्री हुने खोले साग धेरैले रुची मानेर खाने गरेका छन् । कर्णाली मात्र नभई दाङका विभिन्न खोलामा पाइने खोले साग स्थानीयको राम्रो आम्दानीको स्रोत बनेको छ ।
खोलामा खेर गइरहेको खोले सागको बजारमा अधिकतम माग बढ्न थालेपछि स्थानीयले खोलाको साग सङ्कलन गरी बिक्री वितरण गर्दै आइरहेका छन् । खोले सागको माग बढ्न थालेपछि अहिले खोले सागको व्यावसायिक रूपमा खेती पनि गर्न थालिएको छ ।
यसरी बग्ने खोलामा उत्पादन गरिने भएकोले यसलार्ई खोले साग भनिन्छ । कतिपय स्थानमा खोले सागलाई सीम सागले चिन्ने गरिन्छ ।
गर्मी मौसममा खेती गरिने सागबाट नै किसानले मनग्ये आम्दानी पनि गर्ने गरेका छन् ।
साग रोपेको एक डेढ महिनामै उत्पादन लिन सकिने र एक पटक काटिसकेपछि पनि निरन्तर उत्पादन भइराख्ने हुनाले कृषकलाई पनि राम्रो फाइदा हुने गरेको छ ।
गर्मी मौसममा अन्य सागको उत्पादन खासै नहुने हुनाले पनि यसको बजार राम्रो भएको किसान बताउँछन् ।
फागुनको अन्तिम सातादेखि यो साग बजारमा आउने गर्दछ ।
पूर्ण रूपमा अर्गानिक हुने भएकोले बजारमा खोले सागको माग धेरै रहेको छ । रोगले पनि नसताउने, हेरचाह पनि धेरै गर्नुनपर्ने भएकोले खोले सागको खेती गर्ने गरेका छन् ।
खोले सागबाट मौसममा मासिक १२ देखि १५ हजार रुपियाँसम्मको व्यापार गर्ने गरेको कृषक बताउँछन् ।
। खोले सागकै खेतीबाट धेरैले आफ्नो गुजारा गर्दछन् ।
अन्य खेती गर्न सिँचाइको आवश्यकता पर्ने र खोले साग खोलामा मात्रै उत्पादन हुने हुँदा यस खेतीमा कृषक आकर्षित भएका छन् ।
एक पटक रोपेपछि निरन्तर उत्पादन लिन सकिने भएकोले यसको खेती गर्ने किसान बढ्दैगएका छन् ।
दाङबाट यो साग बुटवल, नेपालगञ्ज लगायतका सहरमा समेत बिक्रीका लागि जाने गरेको कृषकको भनाइ छ ।