नेपालगन्ज विमानस्थलको पूर्वाधार र जग्गा अधिग्रहणमा पाँच वर्षभित्र सात अर्ब खर्चिदै


नेपालगन्ज २६ माघ – सरकारले हवाई क्षेत्रको पूर्वाधार विकास र विस्तार गर्न झण्डै पाँच खर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।

विगत दुई वर्षमा मात्रै ९० अर्ब रुपैयाँ खर्च गरेको सरकारले अबको पाँच वर्षमा तीन खर्ब ३५ अर्ब लगानी गरी हवाई पूर्वाधार विकास गर्ने लक्ष्य लिएको छ ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार विगत दुई वर्षको अवधिमा मुलुकका अन्तर्रा्ष्ट्रिय विमानस्थलतर्फको पूर्वाधार विकासमा ५० अर्ब रुपैयाँ र जग्गा अधिग्रहणमा ३३ अर्ब रुपैयाँ खर्च भइसकेको छ । आन्तरिकतर्फ पूर्वाधारमा ६ अर्ब र जग्गा अधिग्रहणमा एक अर्ब खर्च भएको छ ।

नेपालगञ्ज विमानस्थललाई २ हजार ६ सय ५ मिटर लम्बाइको बनाइने भएको छ। भौतिक पूर्वाधारमा चार अर्ब र जग्गा अधिग्रहणमा तीन गरी जम्मा सात अर्ब खर्चेर विस्तार गरिनेछ ।

नेपालगन्ज विमानस्थलबाट विमान उडान सुरु भएको ४ दशक भएको छ ।

बाँकेमा विमानस्थल स्थापना भएको भने ६ दशक भइसकेको छ । २०१७ सालमा खजुरामा स्थापना गरिएको विमानस्थललाई ०३० सालमा राँझामा स्थानान्तरण गरिएको थियो ।

जग्गा अधिग्रहण गरेर पूर्वाधार निर्माण गरेर ३१ असार २०३७ देखि नेपालगन्ज विमास्थलमा सेवा सुरू भएको हो । तराईको पूरानो र व्यवस्थित नेपालगन्ज विमानस्थलले अन्तर्रा्ष्ट्रिय मापदण्डमा पुग्न अझै दुई दशक कुर्नुपर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई नेपालगन्ज आएर ठूला जेट विमान उडाउन मिल्ने गरी नेपालगन्ज विमानस्थलको विकास र विस्तार गर्न लागेको बताएका थिए ।

२० वर्षे गुरुयोजनामा यसको विकास र विस्तारलाई लागि सन् २०४० सम्म कुर्नु पर्नेछ । त्यत्तिबेलासम्म अहिलेको विमानस्थलको आकार झन्डै दोब्बर हुनेछ भने पूर्वाधार पनि त्यही अनुरुप थपिनेछन् ।

ठूला जेट विमान उडान सक्ने महत्वकाँक्षी योजना छ । गुरुयोजनामा चार चरणमा विस्तार र निर्माणको काम सम्पन्न हुनेछ ।

प्रकाशित मितिः     9:41:13 AM  |