सर्वाधिक पुरस्कार सहित ‘नेपालगन्ज स्पिच कम्पिटिसन’ हुने


नेपालगन्ज २८ माघ । नेपालगन्जमा नागरिक समाज डटकम अनलाईन पोर्टल सञ्चार गृहले सर्वाधिक धनराशिको ‘स्पिच कम्पिटिसन’ आयोजना गर्ने भएको छ ।

‘बोल्नेछ नेपालगन्ज’को मुल नारा सहित ‘नेपालगन्ज स्पिच कम्पिटिसन २०२०’ गरिन लागेको हो । आयोजक नागरिक समाज डटकम टिमले सोमबार ‘स्पिच कम्पिटिसन’को अफिसिएल टिसर्ट सार्वजनिक गर्दै औपचारिक रुपमा जानकारी दिएको हो । नेपालगन्जमा आयोजना गरिने खुला प्रतियोगितामा बोल्न सक्ने क्षमता भएका ३० वर्ष मुनिका जोसुकैले भाग लिन पाउने भएका छन ।

नेकपा बाँकेका जिल्ला कमिटी सदस्य तथा संचार बिज्ञ डिल्ली बिसी, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य किशोर थापा, नागरिक समाज डटकमका अध्यक्ष एंव कार्यकारी सम्पादक रामु ओली, कार्यक्रम कोअर्डिनेटर खगेन्द्र दाहाल र सुनिल रसाइलीद्वारा टिसर्ट सार्वजनिक गरिएको थियो ।
बोल्न सक्ने व्यक्तिहरुको क्षमताको पहिचानका लागी प्रतियोगिता कोशेढुङ्गा हुने नागरिक समाज डटकमका अध्यक्ष ओलीले बताएका छन ।
इभेन्ट कोअर्डिनेटर खगेन्द्र दाहालका अनुसार प्रतियोगिता दुई चरणमा हुनेछ ।

पहिलो चरणमा प्रतियोगीले आफैले छनोट गरेको शिर्षकमा प्रस्तुति दिनुपर्नेछ भने फाइनल राउण्डको लागि आयोजकले दिएको शिर्षकमा प्रस्तुति दिनु पर्नेछ । पहिलो चरणको प्रतिस्पर्धा फाल्गुन ३ गते शनिबारका दिन हुने इभेन्ट कोअर्डिनेटर दाहालले बताए ।

कम्पिटिसनमा प्रथम हुनेलाई नगद रु. ३० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० हजार पुरस्कार रहेको आयोजकले जनाएको छ ।
त्यस्तै, आयोजकले फाइनल राउण्डमा प्रस्तुति दिने प्रतियोगिको लागि ‘भिवर्स च्वाइस’ पुरस्कारको व्यवस्था समेत गरेको छ । जसका लागि प्रतिस्पर्धीले प्रतिस्पर्धामा दिएको प्रस्तुतिको भिडियो नागरिक समाजको अफिसियल फेसबुक पेजमा अपलोड गरिने आयोजकले जनाएको छ । भिवर्स च्वाइस अवार्डका विजेतालाई नगद रु. ५ हजार प्रदान गरिने कोअर्डिनेटर दाहालले बताए ।

प्रतियोगितामा भाग लिन इच्छुकले नाम दर्ता गर्न सक्ने भएकाले अफिसियल र व्यक्तिगत रुपमा दर्ता गर्न सकिने आयोजकले जनाएको छ । प्रतियोगि दर्ताको लागी टिमका सदस्य ज्ञानु संगम खड्कालाई जिम्मेवारी दिइएको अध्यक्ष ओलिले जानकारी दिए ।

प्रकाशित मितिः     २८ माघ २०७६, मंगलवार ०७:५७  |