नेपालगन्ज २८ माघ – जिल्ला वन कार्यालय बाँकेले राष्ट्रिय वन अतिक्रमण भए नभएको अनुगमन गर्न गस्ती शुरु गरेको छ । वन अधिकारीको एउटा टोलीले सोमवार मात्र राप्तीसोनारी गाउँपालिका–४ गुरजनगौरी गाउँमा गस्ती गरेर फर्किएको जिल्ला वन कार्यालय बाँकेका प्रमुख मोहन कृष्ण श्रेष्ठले बताए ।
गस्ती टोलीमा वन रक्षक, नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत समावेश थिए । वन अतिक्रमण भएको हुन सक्ने प्रारम्भीक सूचनाका आधारमा नेपालगन्जबाट वनरक्षक सहितको टोली भारतीय बाटो हुँदै गुरजनगौरी पुगेको थियो । सोही ठाउँमा रहेको प्रहरी टोली समेत सहभागि भएको गस्ती टोलीले दिनभर वनको निरीक्षण गरेको श्रेष्ठले बताए ।
‘वन अतिक्रमण भएको छ की भनेर यस्ता गस्तीहरु भइरहन्छन् ।’– श्रेष्ठले भने –‘सोमवारको गस्तीटोलीले अतिक्रमण भएको फेला पारेको छैन । हामी अझै गस्ती गछौं ।’ श्रेष्ठले राष्ट्रिय वन अतिक्रमणको चपेटामा पर्न नदिन सचेत रहेको उनले बताएका छन् ।