- टोपेन्द्र रोका मगर
दाङ, माघ २९ । प्रदेश ५ सरकारले दाङको बेलझुण्डीमा ‘प्रदेश एक्स्पो’ आयोजना गर्न लागेको छ । यही फागुन १०, ११ र १२ गते तीन दिनसम्म आफ्नो स्थापना दिवसको अवसर पारेर प्रदेश एक्स्पो आयोजन गर्न लागेको हो । एक्स्पोलाई भव्य, सभ्य र सफल बनाउन प्रदेश सरकार अहिले तिब्र प्रचार प्रसारमा लागेको छ ।
‘प्रदेश एक्स्पोमा सहभागी होऔं, “समृद्ध प्रदेश खुशी जनता”को अभियान सफल पारौं’ भन्ने नारासहित प्रदेश एक्स्पो आयोजना हुन लागेको छ । बुधबार घोराहीमा एक्स्पो प्रचारप्रसार उपसमितिले पत्रकार सम्मेलन गरी यस एक्स्पोमा प्रदेश सरकारले हालसम्म गरेका कार्यहरुको प्रगति तथा सेवाका बारेमा जानकारी गराइने जनाइएको छ ।
यस्तै प्रदेश भित्रका नवीन प्रविधि, उत्पादन तथा सेवाहरुको जानकारी, शिक्षा, स्वास्थ्य, कृषि, सूचना, प्रविधि, यातायात तथा अन्य क्षेत्रका नवीन प्रविधहरुको प्रदर्शन गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागेको समितिले जनाएको छ । प्रत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनको अध्यक्षमा भएको पत्रकार सम्मेलनमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कूलबहादुर केसीले एक्स्पो ज्ञान प्रबाह र सिकाई केन्द्र बन्ने बताउनुभयो ।
प्रदेश सरकारले सञ्चालन गर्ने उक्त एक्स्पोमा सरकारले गरेका कामसँगै प्रदेशमा रहेका विविध आयामहरुको बारेमा बुझ्ने अवसर मिल्ने मन्त्री केसीको भनाई थियो । उहाँले एक्स्पो अनुभव आदान प्रदान गर्ने थलो बन्ने बताउनुभयो । प्रदेश सरकारका साथै स्थानीय तहले गरेका कामलाई प्रर्दशनका रुपमा देखाउने गरी तयारी तिब्र पारिएको उल्लेख गर्नुभयो ।
मन्त्रालयका सचिव शंकरप्रसाद खरेलले प्रदेश एक्स्पो मार्फत भएका काम देखाउने, अनुभव साट्ने र सुझाब लिने थलो बनाउन लागेको बताउनुभयो । उहाँले प्रदेशका १२ जिल्लाका १०५ स्थानीय तहले आफ्नो मौलिकता झल्कने विविध प्रस्तुतिहरु प्रदर्शन गर्ने जानकारी दिनुभयो । एक्सो आयोजनाको लागि प्रदेश सरकारले आन्तरिक मामिला तथा कानून मन्त्री केसीको संयोकजकत्वमा ३८ सदस्यीय मूल समारोह समिति र ९ वटा उपसमिति गठन गरी तयारी शुरु गरेको छ ।
एक्स्पोमा ५० वटा सरकारी स्टल र करीब ५ सय जति अन्य स्टलहरु रहने जनाइएको छ । तीन दिनसम्म सञ्चालन हुने एक्स्पोमा कुनै पनि बिकृति भित्र्याउने खालको प्रस्तुतिहरु प्रदर्शन नहुने आयोजनक बताउँछ । प्रदेशको उत्तरमा रहेको पुथा हिमालदेखि दक्षिणमा मर्चवारसम्म, पूर्वमा पाल्पाको रामपुरदेखि पश्चममा राजापुरसम्म रहेको भौगोलिक, जैविक तथा साँस्कृतिक विविधताको प्रदर्शनी हुने छ ।
केही दिन अगाडी प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकल पोखरेलले विभिन्न मेला महोत्सवको नाममा बिकृति प्रदेशन हुने गरेको भन्दै एक्स्पोबाट नयाँ कुराको जानकारी पाउन सकिने दावी गर्नुभएको थियो ।
एक्स्पोमा हुने कही कार्यक्रमहरु
- १) प्रदेश सरकारले स्थापनादेखि हालसम्म २ वर्षको अवधिमा सरकारले गरेका कार्यहरको विभिन्न माध्यमबाट जानकारी गराउने
- २) विपद्को अवस्थामा गरिने उद्दार कार्यको अभ्यास पदर्शन गरिने
- ३) नवीन निर्माण प्रविधि तथा भूकम्प प्रतिरोधी संरचना सम्वन्धी प्रदर्शनी गरिने
- ४) झोलुङ्गे पुल तथा सडक पुलको डेमोन्स्ट्रेसन गर्ने ५)हस्पिटालिटि सम्वन्धी तालिम सञ्चालन गर्ने
- ६) प्रदेश ५ को संस्कृति झल्काने नृत्यहरु, साँस्कृति कार्यक्रम तथा झाँकी प्रस्तुति गर्ने
- ७) स्थानीय घरेलु तथा व्यवसायीका उत्पादित सामाग्रीहरु प्रशर्दन गर्ने,
- ८) बालबालिकाको लागि खेलहरु प्रदर्शन
- ९) शैक्षिक तथा वैज्ञानिक कार्यक्रमहरु (स्मार्ट पाढाई) र सिकायको प्रोजेक्टहरु प्रदर्शन, स्वास्थ्य शिविर सञ्चालन
- १० कृषि प्रविधि तथा प्रदेशका प्रमुख उत्पादनहरुको प्रदर्शन, जैविक मल, बैकल्पिक सिंचाई, गोबर जाँच, माटो जाँच, प्लान्ट क्लिनिक र खोप खादिको प्रत्यक्ष सेवा तथा जानकारी
- ११) नमूना संसद अभ्यासको प्रस्तुति
- १२) प्रदेश ५ का १२ वटै जिल्लाबाट जिल्लागत रुपमा सम्वन्धित जिल्लाको पहिचान झल्किने उत्पादनको प्रदर्शन
- १३) विभिन्न जातजाति, भाषा, संस्कृति झल्किने झाँकी लगायत अन्य मनोरञ्जनात्मक साँस्कृति कार्यक्रमको प्रस्तुति
- १४) प्रदेश भित्रका विभिन्न धार्मिक, ऐतिहासिक, साँस्कृतिक एवम् पर्यटकीय स्थलहरुको बारेमा जानकारीमूलक सामाग्रीको प्रस्तुति
- १५) योग, ध्यान शिविर सञ्चालन र विशेषज्ञ डाक्टरद्धारा मुटु र मृगौला सम्वन्धी रोगको निशुल्क स्वास्थ्य परिक्षण
- १६) विभिन्न विद्यालय र क्याम्पसका विद्यार्थीहरु तथ अन्य व्यक्तिहरुले उत्पादन एवम् आविष्कार गरेका नवीन प्रविधिहरुको प्रदर्शन
- १७) प्रदेश भित्रका मोलिक ज्ञान, सिप, लोककला, स्थानीय उत्पादन, खाना तथा परिकारहरुको प्रस्तुति र प्रदर्शन आदि ।