युनाईटेड एग्रो ईन्जिनीयरिङ प्रालिले बैशाखबाट उत्पादन शुरु गर्ने


आगामी बैशाखदेखी कोहलपुरमा थप नयाँ उद्योग संचालनमा आउने तयारीमा छ । युनाईटेड एग्रो ईन्जिनीयरिङ प्रालिले कोहलपुर नगरपालिका वडा नं-९ मा बहुआयामीक उद्योग संचालन गर्न लागेको हो । स्थानिय दुई युवाले नेतृत्व गरेको उक्त उद्योगको भौतिक संरचनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको उद्योग संचालक मध्येका एक सुरेश बुढाथोकीले जानकारी दिए ।

नेपालमै पहिलो पटक हस्पीटल, हस्पीटालिटी, आरु प्लान्ट तथा डिस्टीलरी सेटअपका सामग्री उत्पादन गर्ने उद्योग संचालन गर्न लागिएको बुढाथोकीले बताए । उद्योगमा अस्पतालकालागि आवश्यक अत्याधुनिक बेड, डक्टरी औजार, पानी प्रशोधन गर्ने आरु मेसिन, होटलमा प्रयोग हुने सबै सामग्री तथा डिस्टलरी प्रयोजनका ट्याङ्कीहरु समेत निर्माण गरीने बुढाथोकीले जानकारी दिए ।

कुनै एउटा विशेष उत्पादनलाई लक्षित गरी थुप्रै उद्योग संचालन गरीएको भएपनि एकै ठाँउमा विभिन्न प्रकारका सामग्री उत्पादन गर्ने गरी आफुहरुले संचालन गर्न लागेको उद्योग नेपालमै पहिलो भएको बुढाथोकीको दावी छ ।

नेपाली अस्पताल तथा होटलहरुमा प्रयोग हुने ठुलादेखी साना सामग्रीहरु बिदेशबाट आयात गर्नुपर्ने बाध्यता रहँदै आएको छ । यस्ता सामग्रीहरुकालागि भारत तथा चाईना मै निर्भर हुनुपर्ने बाध्यतालाई हटाउने उद्धेश्यले नेपालमै पहिलो पटक युनाईटेड एग्रो ईन्जिनियरिङ उद्योग संचालन गर्न लागिएको ईन्जिनियर तथा उद्योग संचालक शतिष केसीले बताए । उद्योगकालागि भारत तथा चिनबाट एकरएक वटा प्राविधिक झिकाईएको र अबको केही दिनभित्रै उत्पादन प्रक्रिया सुरु गरीने केसीले जानकारी दिए ।

उद्योग स्थापनाकालागि ३ करोड बढि लगानी भईसकेको र आगामी दिनमा समेत थप लगानी बढाउँदै जाने योजनामा रहेको बताउँदै केसीले भने, ‘उद्योगमा बहुआयामिक सामान उत्पादन हुनुकासाथै सय बढि स्थानियले प्रत्यक्ष रोजगार समेत पाउने छन ।’

६ कठ्ठा क्षेत्रफलमा उद्योग, गोदाम र प्राविधि कक्ष निर्माण गरीएको छ । कतिपय सामग्रीहरु उद्योगमा उत्पादन गरेर सम्बन्धि ठाँउसम्म पुर्याउन कठिन हुने भएकाले त्यस्ता सामग्रीहरु सम्बन्धित ठाँउमै उत्पादन गर्ने योजनामा रहेको केसीले बताए ।

प्रकाशित मितिः     २ फाल्गुन २०७६, शुक्रबार १६:५८  |