‘नेपालगन्जका उपभोक्तालाई गुणस्तरीय दुग्ध पदार्थ बेच्छौ’–सरोज पाण्डे


नेपालगन्ज ४ फाल्गुन : २०४५ सालदेखि नै बाँकेको व्यवसायिक क्षेत्रमा सक्रिय रहेका सरोज पाण्डेले नेपालगन्ज–२२, पुरैनीमा रु नौ करोड लगानीमा ‘एसके डेरी इण्डस्ट्रिज प्रालि’ सन्चालनमा ल्याएका छन् । कोहलपुरको पहिलो धिताल पेट्रोल पम्पमा चिन्तामणी धितालसंगै उनको लगानी समेत थियो । त्यहीबाट बाँकेका बिभिन्न व्यवसायिक क्षेत्रमा सक्रिय रहेका पाण्डेले पश्चिममै ठूलो लगानीमा डेरी उद्योग सन्चालनमा ल्याएका हुन ।

‘कुनै न कुनै रुपमा बाँकेको व्यवसायिक क्षेत्रमा सक्रिय छु । यो लगानीका लागि प्रचुर सम्भावना बोकेको ठाउँ भएकाले मलाई पनि आर्कषित गर्यो ।’–अर्थपेजसंगको कुराकानीमा पाण्डेले भने । सोमबार बिहान सात बजे प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उक्त डेरी उद्योगको उद्घाटन गर्दै छन् । साढे पाँच कठ्ठा जग्गामा स्थापना भएको उक्त डेरी उद्योगबाट दैनिक १५ हजार लिटर दूध प्रशोधन गरेर बिक्री वितरण गरिने उद्योगका संचालक पाण्डेले जानकारी बताए ।

‘यसका लागि बर्दियास्थित भगवती डेरीसंग सहकार्य गरिएको छ ।’–पाण्डेले भने । उद्योगमा भारतका एचएमटी र गोमा कम्पनीका प्लान्ट लगाइएको छ । ‘नेपालगन्जमा गुणस्तरीय दुग्ध पदार्थ विक्री गछौं । दूधको गुणस्तरमा कुनै समस्या नआओस् भनेर उच्च्स्तरीय मेशनरी सामाग्रीको प्रयोग गरेका छौं ।’

एसके डेरी उद्योगले रोयल च्वाइस ब्राण्डमा दूधका उत्पादन बजारमा आउनेछ । यसको सफट् लन्चिङ्ग भइसकेको छ । उद्योगबाट दूधका अतिरिक्त पनिर, बटर, दही, घिउ, चिज र आइसक्रिम उत्पादन हुनेछ । ‘हामी दूध मात्रै होइन अन्य वस्तु समेत उत्पादन गर्नेछौ,’ पाण्डेले भने, ‘प्रदेश ५ र ६ मा अहिले भारतबाट आयात भएर आउने दुग्ध पदार्थ बिक्री भइरहेको छ । हाम्रो उद्देश्य ती आयातित वस्तु प्रतिस्थापन गर्नु पनि हो ।’

उद्योगका लागि आवश्यक कच्चा दूध संकलनमा पनि विशेष ध्यान दिएको छ। दूध संकलन गर्नु अघि त्यहाँका किसानलाई विशेष जनचेतना जगाउने कार्यक्रम पनि गरिरहेको छ ।

प्रकाशित मितिः     ४ फाल्गुन २०७६, आईतवार १८:४२  |