पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाए


काठमाडौं। जबरजस्ती करणी उद्योगको आरोपमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन्।

जिल्ला अदालत काठमाडौंले महराको मुद्दामा फैसला गर्दै सफाइ दिने निर्णय सुनाएको हो। न्यायाधीश अमरराज पौडेलेको इजलासले सोमबार कसुर प्रमाणित हुने अवस्था नदेखिएपछि सफाइ दिने फैसला सुनाएको हो।
आइतबार महराको पक्षमा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, सविता भण्डारी लगायतले बहस गरेका थिए। त्यस्तै सरकारी पक्षबाट उमाकान्त खनाल लगायतले बहस गरेका थिए। तर, आइतबार समय अभावको कारण फैसला सुनाइएको थिएन।

गत असोज १२ गते संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा महरामाथि लागेको थियो। पीडित महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि गत असोज १९ गते अदालतको अनुमतिमा प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो।

महराले असोज १२ गते सादा पोशाकमा रहेका नेपाल प्रहरीका हवल्दार बिष्णुबहादुर थापा, नेपाली सेनाका जमदार काजीमान राना मगर र चालक सहायक प्रहरी हवल्दार श्यामहरि आचार्यलाई लिएर पीडित महिलाको कोठामा पुगेको खुलेको प्रहरीले बयान दिएका थिए। त्यस्तै अन्य भौतिक प्रमाणले महरा पीडित महिलाको कोठामा गएको पुष्टि गरेपछि जिल्ला अदालतले कात्तिक १८ गते थुनामा पठाउन आदेश दिएको थियो।

महराले आजको दिनसम्म १ सय ३ दिन डिल्लीबजार कारागारमा बिताइसकेका छन्।

त्यसपछि महरा उच्च अदालत पाटन पुगेका थिए। तर उच्च पाटनका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासले जिल्ला अदालत काठमाडौंको आदेश सदर गर्दै महरालाई थुनामा राख्न आदेश दिएको थियो।

प्रकाशित मितिः     ५ फाल्गुन २०७६, सोमबार १५:१४  |