नेपालगन्जको मौलिक परिकार चिनाउँन सडक खाना महोत्सव -भिमलाल कँडेल


  • भिमलाल कँडेल
    संयोजक
    मूल आयोजक समिति

पछिल्लो समयमा नेपालगन्जको समग्र आर्थिक व्यवस्था खस्किदै महसुस गरिएको छ । यसलाई समग्ररुपले अगाडी बढाउन आ—आफ्नो तह तप्काबाट पहल र प्रयास बोध गरिदै आएको हो । यसै परिप्रेक्ष्यमा होटल व्यवसायीहरुको साझा संस्था, होटल व्यवसायी संघ बाँके नेपालगन्ज आफ्नो दायित्व र जिम्मेवारी भित्र रहेर नेपालगन्जको आर्थिक अवस्था सुधारका लागि निरन्तर प्रयत्नशिल छ ।

पश्चिमको आर्थिक केन्द्र नेपालगन्ज औद्योगिक र पर्यटनका क्षेत्रमा मात्र होइन बिभिन्न धर्म, सम्प्रदायमा पुस्तौंदेखि चल्दै आएको गुणस्तरीय र स्वादिला खानाका परिकारका लागि पनि परिचित छ । यहाँ रहेका सम्पूर्ण समुदायमा अभ्यासरत मौलिक खानाहरुको स्टल राखि बजारिकरण तथा प्रवद्र्धन गर्ने प्रमुख उदेश्यले राखेर होटल व्यवसायी संघ बाँकेले प्रथम सडक खाना महोत्सव २०७६, (नेपालगन्ज फुडफेस्टिभल २०७६) फागुन २३ गतेदेखि २५ गतेसम्म आयोजना गर्न लागेको सहर्ष जानकारी गराउँदछौं ।

सुर्खेतरोड (धम्वोझीदेखि कृषि विकास बैंकको पूर्वपट्टीको सडकको एक भाग) मा भब्य लाईट, टेन्ट सहितको व्यवस्थापनमा आयोजना गरिने महोत्सवमा तारे होटलदेखि मौलिक परिकार सहितका पचास बढि स्टल समावेश गरिने छ । सर्वसुलभ मूल्यमा एउटै ठाउँमा थरीथरीका परिकारको स्वाद लिन पाइने यस फुड फेस्टिभलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । सरसफाई, सुरक्षा र ट्राफिक व्यवस्थापनको लागि बिशेष ध्यान पुर्याउने गरी सरोकारवाला निकायबाट अनुमति प्राप्त भइसकेको छ भने आवश्यक समन्वयको सुनिश्चितता गरिएको छ । नेपालगन्जको उत्सवका रुपमा आयोजना गर्न लागिएको फुडफेस्टिभलमा ५० हजार बढिले अवलोकन गर्ने बिश्वास गरिएको छ ।

छिमेकी देश भारतबाट समेत पर्यटक सहभागि हुने फुडफेस्टिभलमा रु २ करोड बढिको कारोबार हुने लक्ष्य राखिएको छ । जसमा बिभिन्न स्वादिला परिकार पस्किने छौं । फुडफेस्टिभलमा कलाकारहरुको बिशेष प्रस्तुती मार्फत सांस्कृतिक संरक्षणको काम समेत गरिने छ । बिभिन्न समुदायमा प्रचलित उत्कृष्ट खानाको परिकारको स्वदेशी तथा बिदेशी पाहुनाहरु माझ परिचय गराउने र व्यवसायीकरण गरेर आर्थिक शसक्तिकरण र पहिचान संरक्षण हुने उद्देश्यका साथ यो फुड फेस्टिभलको आयोजना गर्न लागिएको हो । खाना मात्र नभई भिजिट बर्ष २०२० लाई मुलरुपमा अंगिकार गरि यसको सफल पार्ने र स्वरोजगारिताको विकास गरि देशको आर्थिक विकासमा योगदान गर्ने अर्को लक्ष्य हो ।

यस फुड फेस्टिभलले मौलिक उत्पादनको बजारीकरण भई स्वरोजगारिताको सिर्जना गरि आर्थिक सशक्तिकरण गर्न सहयोग पुर्याउने छ । बेरोजगार युवाहरुलाई होटल तथा व्यापार, व्यवसायतिर आकर्षित तथा उत्साहित गर्नुका साथै बैदेशीक रोजगारमा जाने युवाहरुमा सिपको विकास गरेर आत्मबिश्वास निर्माण गर्नेछ । फुड फेस्टिभलबाट भएको आम्दानी तथा नाफाको केहि प्रतिशतबाट बाँके जिल्लामा रहेका पर्यटन स्थलकोप्रबद्र्धन तथा प्रचार प्रसारमा लगाइने छ । नेपालगन्जका परिकारलाई देश, दुनियामा चिनाउने यस महात्सवमा सहयोग गरिदिनु हुन सम्पूर्ण पत्रकार, उद्योगी व्यवसायी, नागरिक समाज एवं सम्पूर्ण बाँकेबासी दाजुभाई दिदी बहिनीमा अनुरोध गर्दछौं ।

नेपालगन्ज अर्थात ‘फुडल्याण्ड’ : खानाका पारखीका लागि उत्कृष्ट शहर

प्रकाशित मितिः     ७ फाल्गुन २०७६, बुधबार १७:१३  |