नेपालगन्ज १० फागुन – विद्युत अनियमितका कारण आज भन्दा केही वर्षअघि सम्म नेपालगन्जका उद्योगहरु ठप्पप्राय हुन्थे ।
१८ घण्टासम्म हुने विद्युतको अनियमिताले गर्दा उद्योगको उत्पादन नराम्रो गरी प्रभावित भएको थियो ।
उद्योगीहरु उद्योगमा ताला लगाएर विद्युत माग्दै सडक र सरोकारवाला निकायमा धाउथे ।
तर अहिले परिस्थिती फेरिएको छ । यहाँका उद्योगहरु नियमित चलेका छन् । देशभर जस्तै यहाँका उद्योगीहरुलाई पनि विद्युतको हाइसन्चो भएको छ ।
प्राविधिक समस्या बाहेक अन्य अवस्थामा विद्युतका कारण उद्योग ठप्प गर्नुपरेको छैन् ।
गनापुरस्थित अंकुर ट्याप्स एण्ड भल्भ उद्योगका सन्चालक अशोक बस्नेतले विद्युतको अवस्था सन्तोषजनक रहेको बताउनुभयो ।
नियमित बिद्युतका कारण उद्योग सन्चालन गर्न सहज भएको बताउँदै बस्नेतले आगामी दिनमा पनि विद्युतको अवस्था यस्ते रहिरहनुपर्ने उल्लेख गर्नुभयो ।
नेपालगन्ज पश्चिम नेपालकै प्रमुख आर्थिक हब हो । यहाँ रहेका सानादेखि ठूलो उद्योग विद्युत अनियमितका कारण कुनै बेला ठूलो मारमा परेका थिए ।
तर देशभर जस्तै यहाँ पनि बिद्युतको संकट तत्काललाई अन्त्य भएपछि उद्योगीले राहात महसुस गरेको नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्यले बताउनुभयो ।
बिद्युत माग्दै दैनिक जसो आन्दोलन गर्नुपर्ने अवस्थाको अन्त्य भएको उहाँको भनाई छ ।
अहिलेको जस्तै गर्मीयाममा पनि बिद्युत नियमित हुन्छ की हुँदैन भन्नेमा उद्योगी, व्यवसायी ढुक्क छैनन् । अहिले पूर्ण क्षमतामा सन्चालन भएका उद्योगले गर्मीयाममा पनि नियमित बिद्युत पाउनुपर्ने बताउनुहुन्छ , नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली । नियमित बिद्युतका लागि संघले निरन्तर खबरदारी गर्ने उहाँको भनाई छ ।
यहाँका उद्योगीहरु पुराना दिनहरु बिर्सिन चाहान्छन् । प्लाईदेखि नयाँ फनपार्क समेत सन्चालनको तयारीमा रहेका युवा उद्यमी ओम मिश्र बिद्युत संकट अन्त्य भए नभएको थाहा पाउन गर्मीयाम पर्खिनुपर्ने बताउनुहुन्छ । सबैभन्दा पिकआवरमा त्यसको परिक्षा हुने बताउँदै मिश्रले आगामी दिनमा पनि उद्योगहरुमा बिद्युत सन्तोषजनकरुपमा आपूर्ती हुने कामना गरे ।