दाङमा आजदेखि ‘प्रदेश एक्स्पो’


दाङ, फागुन १० । आजदेखि दाङको बेलझुण्डीमा भब्य रुपमा ‘प्रदेश एक्स्पो’ सञ्चालन हुन लागेको छ । प्रदेश ५ सरकारको दोस्रो स्थापना दिवसको अवसरमा सञ्चालन हुन लागेको ‘प्रदेश एक्स्पो’ को तयारी पूरा भएको आयोजक आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

‘प्रदेश एक्स्पो’ आज १० गतेदेखि १२ गतेसम्म सञ्चालन हुने मुल समारोह व्यवस्थापन तथा कार्यक्रम सञ्चालन उप–समितिले जानकारी दिएको छ । एक्स्पो अवलोकनका लागि निशुल्क प्रवेश रहेको समतिले जनाएको छ ।

कानून मन्त्रालयका सचिव शंकर प्रसाद खरेलले शुक्रबार पत्रकार सम्मेलन मार्फत एक्स्पोको तयारी पूरा भएको जनाउँदै प्रदेश ५ सरकारले २ वर्षको अवधिमा गरेका कामको जनताको बीचमा सार्वजनिकीकरण गरिनु मुख्य उद्येश्य रहेको बताउनुभयो ।

३ दिनसम्म संचालन हुने एक्स्पोमा पहिलो दिन उद्घाटन सत्रमा शंखध्वनि, स्वस्तिवाचनसहित दीपप्रज्वलन गरेर हुने भएको छ । यस्तै, प्रदेश अन्तर्गतका १२ वटै जिल्लाबाट स्थानीय तह, विभिन्न क्षेत्रबाट सहभागी भएका झाँकी तथा साँस्कृतिक प्रस्तुति हुनेछ । एक्स्पोको उदघाटन प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले गर्नुहुने भएको छ । एक्स्पोमा १२ वटै जिल्लाबाट विविधिकरण सहितका बस्तु तथा सेवा स्टलमा राखिएको आयोजकले जनाउको छ ।

मुलुकमै पहिलोपल्ट ‘प्रदेश एक्स्पो’ को आयोजना गरिएको भन्दै सचिवालयका प्रमुख विनयकुमार पोख्रेलले ४ सय स्टल निर्माण गरिएको जानकारी दिनुभयो ।

‘प्रदेश सरकारका विभिन्न मन्त्रालय, १२ वटै जिल्ला समन्वय समिति, स्थानीय तह र सरकारी कार्यालयका गतिविधि प्रदर्शनका लागि ५० वटा र व्यापारिक प्रयोजनका लागि ३ सय ५० वटा गरी ४ सय वटा स्टल निर्माण गरिएको छ’, पोख्रेलले भन्नुभयो, ‘मञ्च व्यवस्थापन, सरसफाई, विद्युत जडान, मण्डलाको स्तूप निर्माण आदिका काम सकिएको छ ।’

‘प्रदेश एक्स्पो’ लाई प्रभावकारी बनाउन गठित उप–समितिहरुले तयारी पूरा भएको जानकारी गराएको भन्दै पोख्रेलले प्रदेश ५ मा प्रचलित थारु, सोरठी, टप्पालगायतका नृत्यमा ४ सय कलाकारलाई एउटै मञ्चमा नचाउन थालेको पनि जानकारी दिनुभयो ।

प्रदेश सरकारले २ वर्षको बीचमा गरेका गतिविधि जनताहरुलाई जानकारी गराउने उद्देश्यले ‘प्रदेश एक्स्पो’ को आयोजना गरिएको भन्दै आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले एक्पो अवधीभर प्रदेश सरकार दाङमा नै केन्द्रीत हुने जानकारी दिनुभयो ।

‘प्रदेश एक्स्पो’ बाट प्रदेश समृद्धिको झलक दिने भन्दै मन्त्री केसीले एक्स्पोलाई सिंगो मुलुकले नौलो रुपमा हेरेको बताउनुभयो । ‘प्रदेश एक्स्पोमा हाम्रो प्रस्तुति कस्तो रहने भन्ने सवाल प्रदेशको समृद्धिसँग पनि जोडिएको छ’, मन्त्री केसीले भन्नुभयो, ‘एक्पोलाई सबैले नौलो ढंगले हेरेकाले यसले प्रदेश समृद्धिको झलक दिनुपर्छ ।’

एक्स्पोलाई महोत्सवजस्तो रमाइलोमा नभई शिक्षामूलक प्रदर्शनीमा केन्द्रित गरिने जानकारी दिँदै मन्त्री केसीले १२ वटै जिल्लाका उत्पादन, सांस्कृतिक झलक ‘प्रदेश एक्पो’ मा देखिने हुँदा यो सबैको सिकाई हुने बताउनुभयो । ‘एक्स्पोमा प्रदेशभित्रका स्थानीय उत्पादन प्रदर्शनीका साथै प्रदेश सरकारका कामकारवाहीप्रति जनताको सुझाव पनि लिइने छ’, मन्त्री केसीले भन्नुभयो, ‘प्रदेशभरिका जनप्रतिनिधिका लागि सिकाइ अवसर पनि भएकाले जनप्रतिनिधिहरु अनिवार्य सहभागी हुन परिपत्र गरेका छौं ।’

‘प्रदेश एक्पो’लाई पर्यटन प्रबद्र्धनसँग पनि जोडेको भन्दै मुल समारोह व्यवस्थापन तथा कार्यक्रम सञ्चालन उप–समितिका संयोजक जितेन्द्रमान नेपालीले पाहुनाहरुलाई जिल्लाका पर्यटकीय स्थलहरुको अवलोकन गराउने व्यवस्था मिलाएको जानकारी दिनुभयो । ‘प्रदेश एक्पो’ को अवसरमा आज १० गते विहानबाट योग तथा ११ र १२ गते मुटु र मृगौला रोगको वृहत शिविरको समेत आयोजना गरिएको नेपालीले जानकारी दिनुभयो ।

प्रकाशित मितिः     १० फाल्गुन २०७६, शनिबार १०:०८  |