जब एयर होस्टेसले सिरियस प्रोबलम आयो, छिटो-छिटो ओर्लिनुस् भन्दै यात्रुहरुलाई ओराले


  • अनलाइनखबरबाट

१० फागुन, काठमाडौं । काठमाडौंबाट नेपालगञ्ज जाने तयारीमा रहेको श्री एयरलाइन्सको हवाई जहाजमा ‘गम्भीर समस्या’ आएको भन्दै अन्तिम समयमा उड्नबाट रोकिएको छ ।

शनिबार बिहान साढे आठ बजे सो हवाई जहाज नेपालगञ्ज उड्ने तयारीमा थियो । तर, एयर होस्टेसहरुले हवाई जहाजमा बसिसकेका यात्रुहरुलाई हतार-हतार ओरालेका छन् ।

‘इन्जिन स्टार्ट गरेर पाइलटले विमानस्थल टावरबाट उड्ने अनुमतिसमेत लिइसकेका थिए । तर, एक्कासी एयर होस्टेजहरुले सिरियस प्रोबलम आयो छिटोछिटो ओर्लिनुस् भनेर हामीलाई ओराले,’ एक जना यात्रुले  भने ।

हवाई जहाजसम्म पुग्नका लागि बोर्डिङ पास लिएर बसमा बसेका यात्रुहरु कस्तो खालको प्राविधिक समस्या हो भन्नेबारेमा जानकारी भने दिइएको छैन । श्री एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरले प्राविधिक समस्या आएर उडान रोकिएको र मर्मतको काम भइरहेको जानकारी दिए ।

उनले पनि केमा समस्या आएको हो भनेर खुलाउन चाहेनन् । मानन्धरले भने, ‘सुरक्षालाई त ध्यान दिनुपर्‍यो नि । त्यही भएर केहीबेर डिले भएको छ ।’

प्रकाशित मितिः     १० फाल्गुन २०७६, शनिबार १०:१५  |