उत्तरप्रदेशमा बजारको सम्भावना खोज्दै नेपालगन्जको निजीक्षेत्र


नेपालगन्ज ११ फागुन – नेपालको बजारमा भारतको एकाधिकार छ ।

नुनदेखि सुनसम्म उतैबाट आउने अवस्थामा नेपालगन्जको निजीक्षेत्रले भने भारतको सबैभन्दा ठूलो र धेरै जनसंख्या भएको उत्तर प्रदेशलाई आफ्नो बजारको रुपमा हेरिरहेको छ ।

झट्ट सुन्दा असम्भव जस्तो लागे पनि यहाँका कयौं उद्योगीले आफ्ना उत्पादन नेपालगन्जसंग जोडिएको उत्तरप्रदेशको बजारमा पुर्याउने योजना बनाइरहेका छन् ।

सफल हुन्छन् वा हुँदैन हेर्न भने बाँकी छ ।

तर ढिलो, चाँडो यहाँको उत्पादन उत्तरप्रदेशका नागरिकको पहुँचसम्म पुर्याउन सकिने प्रशस्त सम्भावना रहेको आर्थिक क्षेत्रका जानकार सह–प्राध्यापक अशोक बस्नेत बताउँनुहुन्छ ।

‘मेरो उद्योगले उत्पादन गरेका सामाग्रीको बजार उत्तरप्रदेशमा राम्रो छ ।

सरकारले कच्चा पदार्थमा सहुलियत दियो भने म नै निर्यात गर्छु ।’ बस्नेतले भन्नुभयो–‘यस्ता धेरै उद्योगीका यस्ता योजना छन् ।’ बस्नेतको अंकुर ट्याप्स एण्ड भल्भ उद्योग धाराका टुटी र बाथरुमका लागि आवश्यक सामाग्री उत्पादन गर्दै आएको छ ।

नेपालको बजारमा सफलता पाएको उक्त उद्योगले उत्पादन गरेका सामाग्री भारतमा विक्री हुने उत्तिकै सम्भावना छ । ‘यति धेरै जनसंख्या भएको उत्तर प्रदेश हाम्रो छिमेकी हुन असाध्यै राम्रो कुरा हो । हाम्रो सरकारले उद्योगीलाई प्रोत्साहन गर्दै लैजाने हो भने त्यहाँ सामान पठाउन कुनै समस्या नहोला ।’– बस्नेतले भन्नुभयो ।

नेपालगन्जमा सफल मानिएको शिखर प्लाईडका सन्चालक चम्पालाल बोथरा कच्चा पदार्थमा सहुलित पाए उत्तर प्रदेश लगायतको बजारमा निर्यात गर्न कुनै समस्या नहुने बताउनुहुन्छ ।

तर त्यसका लागि कच्चा पदार्थमा कित आफै आत्मनिर्भर बन्नु पर्यो होइन भने कच्चा पदार्थको आयातमा सहुलियत दिनुपर्यो ।

सुर्खेतमा ठूलो क्षमताको सिमेन्ट उद्योग सन्चालनको योजना बनाएका व्यापारी अजय सुमार्गीले गत वर्ष आफ्नो सिमेन्ट उद्योगले उत्पादन गर्ने सिमेन्ट भारतको उत्तर प्रदेशसम्म विक्री वितरण गर्ने योजना रहेको सुनाउनुभएको थियो ।

यद्यपी लामो समयदेखि लाइसेन्स होल्डमा राखेर बस्नुभएका सुमार्गीको महत्वकांक्षी योजना कहिले पुरा हुन्छ भन्ने पत्तो छैन । तर उहाँले पनि भारतको उत्तर प्रदेशलाई आफ्नो बजार सम्भावनाका रुपमा हेर्नुभएको छ ।

देशकै सबैभन्दा ठूलो सुपरमार्केट भाटभटेनीका प्रमुख मिन बहादुर गुरुङले उत्तर प्रदेशको छिमेकी हुनु नेपालगन्जका लागि राम्रो अवसर रहेको बताउनुहुन्छ । अनौपचारिक कुराकानीमा उहाँले भन्नुभयो,–‘यो अवसरलाई कसरी उपयोग गर्ने हो भन्नेमा निजीक्षेत्र र सरकारले गम्भीरतापूर्वक सोच्नुपर्छ ।’

नेपालगन्ज र उत्तरप्रदेशको व्यापार सम्बन्ध धेरै पुरानो हो । यद्यपी यसबाट नेपालले अति कम फाईदा लिइरहेको छ ।

नेपालगन्जबाट उत्तरप्रदेश हुँदै तेस्रोमुलकमा जडिबुडी बाहेक सम्भवत अन्य कुनै उत्पादन पठाउँदैनन् ।

भारतबाट भने सबैथोक भित्रिन्छ । नेपालगन्जमा अहिले सुविधा सम्पन्न फिल्म हल, फनपार्क, होटल र उत्तरप्रदेशलाई लक्षित गरेर सन्चालन भइरहेका छन् । उत्तरप्रदेशबाट पर्यटक भित्रिने प्रशस्त सम्भावना पनि रहेको छ ।

प्रकाशित मितिः     ११ फाल्गुन २०७६, आईतवार १७:२६  |