जानकीमा ठूला उद्योगको आर्कषण बढेको छ : रामनिवास यादव


जानकी गाउँपालिका बाँकेमा सबैभन्दा बढि उद्योग भएको स्थानीय तह हो । उक्त गाउँपालिकाको वडा नम्बर छ मात्र अरवौ लगानीका दर्जनौ उद्योग सन्चालनमा छन् । थप उद्योग समेत सन्चालनको तयारीमा छन् । यस बाहेक वडा नम्बर तीन, वडा नम्बर चारमा थुप्रै उद्योग छन् । समग्रमा भन्दा गाउँपालिका ओद्योगिक ग्रामका रुपमा विकास भइरहेको छ । जानकी गाउँपालिकामा दुईवटा सिमेन्ट उद्योग, दुईवटा आईरन उद्योग सन्चालनमा छन् भने अन्य एउटा आईरन उद्योग सन्चालनको तयारीमा छन् । आधा दर्जन रोजिन उद्योग छन् भने कत्था, जडिबुटी प्रशोधन, प्लाष्टिक उद्योग सन्चालन भइरहेका छन् । उद्योगी, व्यवसायीले लगानी थप्दैछन् । गाउँपालिकाले पनि उद्योगमैत्री नीति लिएको  छ । प्रस्तुत छ, यिनै बिषयमा जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवसंग अर्थपेजले गरेको कुराकानी :

जानकी गाउँपालिकामा उद्योग सन्चालनको अवस्था कस्तो छ ?

-जानकी गाउँपालिका बाँके जिल्ला मात्र नभई पश्चिम नेपालकै यस्तो स्थानीय तह होला जहाँ लाखदेखि अरवका दर्जनौ उद्योग सन्चालन भइरहेका छन् । एक प्रकारले भन्ने हो भने औद्योगिकग्रामका रुपमा हाम्रो गाउँपालिका बिस्तार भइरहेको छ । जता हे¥यो त्यतै ठुला उद्योग देख्न पाईन्छ । जानकी गाउँपालिकामा दुईवटा सिमेन्ट उद्योग, दुईवटा आईरन उद्योग सन्चालनमा छन् भने अन्य एउटा आईरन उद्योग सन्चालनको तयारीमा छन् । आधा दर्जन रोजिन उद्योग छन् भने कत्था, जडिबुटी प्रशोधन, प्लाष्टिक उद्योग सन्चालन भइरहेका छन् । उद्योगी, व्यवसायीले लगानी थप्दैछन् । प्राकृतिकरुपमा हामीसंग केही पनि छैन । वन छैन, नदि छैन । तर अरु कहाँ नभएको आर्थिक विकासको मेरुदण्ड उद्योग, कलकारखाना हामीसंग छ ।

यहाँको गाउँपालिकामा उद्योग खोल्न लगानीकर्ताको आर्कषण किन देखिएको होला ?

-एउटा उद्योगीले धेरै कुरा सोंचेर उद्योग खोल्छ । विकासका पूर्वाधार छ की छैन । लगानीयोग्य वातावरण स्थानीयस्तरमा छ की छैन भनेर हेर्छन । यि सबै कुरा हाम्रो गाउँपालिकामा छ । गर्न बाँकी छ तर पूर्वाधारको व्यवस्था छ । नेपालगन्ज उपमहानगरपालिका , कोहलपुरनगरपालिकाको छिमेकमा पर्ने, राजमार्ग नजिकै पर्ने भएकाले पनि यहाँ उद्योग खुलेका हुन । उद्योगका लागि चाहिने प्रशस्त जग्गा छ । स्थानीय तहको कर पनि धेरे छैन । लगानीयोग्य वातावरण भएकाले जानकी गाउँपालिकालाई उद्योगीहरुले रोज्नुभएको छ ।

अहिले त स्वस्फुर्तरुपमा व्यवसायीहरुले लगानी गरिरहनुभएको छ । त्यसबाहेक गाउँपालिकाका तर्फबाट कुनै छुट्टै उद्योगी सम्बन्धी नीति पनि ल्याउनुभएको छ की ?

-नीति नै भन्ने छैन । तर हामी लगानीकर्तालाई प्रोत्साहन हुने गरी कामकाज गर्छौ । नियतमा हामी साफ छौं । देशमा उद्योग कलकारखाना खुलेपछि न राम्रो हुने हो । त्यसका लागि हामी वातावरण बनाउँछौं । पूर्वाधार तयार गर्छौ । आगामी दिनमा थप कुनै कार्ययोजना बनाउनुपर्ने हो भने त्यो पनि बनाउँछौं ।

उद्योगका लागि पूर्वाधारको अवस्था कस्तो छ ?

-पूर्वाधारको विकास गर्दैछौं । बाटोघाटो, बिजुली जस्ता पूर्वाधार नभएका उद्योग चल्न सक्दैन । हामी त्यसलाई व्यवस्थि तगर्न खोजिरहेका छौं । लामो समयदेखि हाम्रो गाउँपालिकामा नहरको काम हुन सकिरहेको छैन । नहरको आसपासलाई केन्द्र बनाएर उद्योगहरु खुलिरहेका छन् । तर बाटो राम्रो छैन । नहरले कति बाटो दिने हो थाहा पनि छैन । यसले हामीलाई मुस्किल पारेको छ । नहरको काम भइदिएको भए सडक निर्माण गर्न सजिलो हुन्थ्यो । त्यो होस् भनेर केन्द्रसम्म कुरा राखिसकेका छौं । २४ सै घण्टा बिजुलीको व्यवस्था गर्नुपर्छ भनेर पहल गरेका छौं । सुरक्षाको प्रबन्ध भएकै छ ।

उद्योगको धनी छ, यहाँहरुको गाउँपालिका राजश्व संकलनमा कतिको फाईदा पुगेको छ ?

— त्यस्तो छैन । हामी उदार छौं । उद्योग धन्दा चौपट पार्ने गरी करमा कस्ने काम गरेका छैनौं । साविककै कर लिने काम भइरहेको छ । हामी कर संकलन मात्र गर्ने होइन, उद्योगी, व्यवसायीहरुलाई चाहेको पूर्वाधार विकास गरिदिने पनि हो । उद्योगीलाई सुविधा दिने अनि मात्र कर उठाउँने हो । सुविधा केही नदिने तर करमा कस्ने काम हामीबाट हुँदैन ।

उद्योगीबाट उत्पन्न हुने समस्या छ की ?

-समस्याहरु छन् पनि । उहाँहरुका पनि समस्या छन् हाम्रा पनि समस्या छन् । रोजगारी, प्रदुषण लगायतका समस्याहरु देखिएका छन् । ती समस्याहरु समाधान गरिन्छ र लगानीमैत्री वातावरण बनाउँछौं ।

अन्त्यमा केही भन्न चाहानुहुन्छ ?

-उद्योग, कलकारखाना सन्चालनका लागि प्रशस्त सम्भावना र उपयुक्त छ, जानकी गाउँपालिका । त्यसका लागि वातावरण बनाउँछौ । पूर्वाधारको विकास पनि गर्दैछौं । हाम्रो क्षेत्रमा लगानी गर्न आउनुहोस् हामी स्वागत गछौं ।

प्रकाशित मितिः     १३ फाल्गुन २०७६, मंगलवार ०७:५७  |