भाटभटेनीले नेपालगन्जको बजारलाई कस्तो प्रभाव पार्छ ? यस्तो भन्छन् व्यवसायीका नेता


नेपालगन्ज १४ फागुन : बुटवल र भैरहवाको भन्दा पनि ठूलो लगानीमा भाटभटेनीले नेपालगन्जमा आफ्नो शाखा सन्चालन ल्याउँदै छ । पश्चिम नेपालमा पहिलो पटक भित्रिएको भाटभटेनीले सीमावर्ती बजार रुपैडियामा नेपाली ग्राहक जान रोक्ने अपेक्षा गरिएको छ ।

नेपालीलाई सीमापारी जानबाट रोक्ने कुरा राम्रो भइहाल्यो । तर त्यसले नेपालगन्ज बजारलाई कस्तो असर पार्ला ? यस विषयमा स्थानीय व्यवसायीले मिश्रित प्रतिक्रिया दिएका छन् ।

ठूलो परिमाणमा सामान उठाउने,मार्जिन पनि सोही हाराहारीमा पाउने भाटभटेनी र खुद्रा व्यवसायीले पाउने मार्जिनको अन्तर हुने भएका कारण साना व्यवसायीलाई त्यसको असर पर्ने होकी भन्ने तर्फ चिन्ता व्यक्त गरिएको छ । त्यसले स्थानीय व्यवसायीलाई मर्का पर्ने भएकाले सबै व्यवसायी एकजुट भएर अब कम्पनीसंग कुराकानी गर्नेमा व्यवसायीहरु एकमत जस्तो देखिन्छ ।

भाटभटेनी जस्ता सुपरमार्केट आउनु नेपालगन्जका लागि राम्रै कुरा भएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । नेपालगन्जमा बुधवार आयोजित एक कार्यक्रममा बोल्दै उनले भने,–‘कुनै पनि शहरको बैभव भनेको यस्तै सुपरमार्केटले देखाउँछ । यस्ता सुपरमार्केट आउनु समग्रमा शहरका लागि राम्रै कुरा हो । यसका साथै साना व्यवसायीलाई यसले पार्ने प्रभावका बारेमा पनि अब हामीले सोच्नुपर्छ ।’

मन्सुरीले भाटभटेनीको बिरोध गर्ने नभई व्यवसायीले अब आ–आफ्ना कम्पनीसंग मार्जिनका छलफल चलाउनुपर्ने बताए । ‘हामीबीच एकताको खाँचो छ । मिलेर अगाडी बढ्न हामी तयार छौं ।’– मन्सुरीले भने ।

नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले मार्जिनका अन्तरका विषयमा कम्पनीसंग छलफल गरेर नेपालगन्ज साना व्यवसायीलाई राहात दिनुपर्नेमा जोड दिदै आएका छन् । उनले भाटभटेनी आउँदैमा सबैथोक सकियो भनेर नसोंच्न आग्रह गर्दै भने– ‘नआत्तिएर साना व्यवसायीलाई कसरी प्रर्बद्धन गर्ने हो भन्ने तर्फ सोंचौ ।’

नेपालको ठूलो तथा चर्चित सुपर मार्केट ‘भाटभटेनी सुपर स्टोर पश्चिम नेपालकै मूख्य व्यापारिक केन्द्र तथा एैतिहासिक सहर नेपालगञ्जमा पनि शुुभारम्भ हुँदैछ । स्टोर यही फागुन १६ गते शुक्रबारदेखि सञ्चालनमा आउन लागेको हो । काठमाण्डौंबाट सुुरु भएको भाटभटेनीको व्यावसायीक यात्रा देशव्यापी हुने क्रममा १८ औं स्टोरका रुपमा बाँकेको नेपालगञ्जमा सञ्चालनमा आउने छ । यसअघि रुपन्देहीको भैरहवामा १७औं स्टोर सञ्चालनमा ल्याएको भाटभटेनीले नेपालगञ्जको सुर्खेत रोड, कारकाँदोमा १८औं स्टोरकोे शुभारम्भ गर्ने अन्तिम तयारीमा रहेको भाटभटेनी सुपर मार्केटका अध्यक्ष मिन बहादुर गुरुङले बताए । १० महिना अघिदेखि निर्माण कार्य सुरु गरिएको यस स्टोरको सम्पूर्ण निर्माण कार्य सम्पन्न भएको स्टोरका व्यवस्थापक विनोद भट्टराईले बताएका छन ।

करिब एक लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको यस भाटभेटनीमा भौतिक सम्पत्ति सहित करिब १५० करोड लगानी रहेको व्यावस्थापनले जनाएको छ । यो स्टोर पछिल्लो पटक प्रदेश ५मै सञ्चालनमा आएका बुटवल र भैरहवा स्थित स्टोर भन्दा ठूलो रहेको स्टोरका व्यवस्थापक विनोद भट्टराईले बताए । यो संगै प्रदेश ५ मा भाटभटेनीका तीन वटा स्टोर सञ्चालनमा आउनेछन् ।
स्टोरमा खाद्यान्न, कस्मेटिक, लत्ताकपडा, इलेक्ट्रोनिक, फर्निचरदेखि सम्पूर्ण घरायसी सामाग्रीहरु पाइनुका साथै अत्याधुनिक मल्टिप्लेक्स सिनेमा हल, फूडकोर्ट लगाएतका सेवाहरु समेत उपलब्ध हुने व्यवस्थापक भट्टराइले बताए । शुभारम्भको अवसरमा सबै किसिमका सामानहरुको खरिदमा १० प्रतिशत तथा सम्पूर्ण ईलेक्ट्रोनिक्स सामानहरुमा २० प्रतिशत सम्म नगद छुटका साथै निःशुल्क होम डेलिभरी समेत दिइने उनले बताए ।

प्रकाशित मितिः     १४ फाल्गुन २०७६, बुधबार १६:१४  |