नेपालगन्ज १५ फागुन – बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह गर्दा वीमा समेत गर्न दवाव दिइरहेको नेपालगन्जका उद्योगी, व्यवसायीले नेपाल राष्ट्र बैंकसंग गुनासो गरेका छन् । वीमा सम्बन्धी काम गर्न नपाउने नयाँ प्रावधान कतिपय बैंकले लागू नगरेको पाइएको हो ।
नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयका निर्देशक मुक्तिप्रसाद सापकोटा र नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित अध्यक्ष अब्दुल वाहिद मन्सुरी नेतृत्वको टोलीबीच बुधवार भेटघाट भएको थियो । उक्त भेटघाटमा उद्योगी, व्यवसायीले बैंक तथा वित्तीय संस्थाका कारण उत्पन्न भएका समस्याका बारेमा राष्ट्र बैंकको ध्यानार्कषण गराए ।
सोही क्रममा व्यवसायीले बैंकले वीमा गर्न दवाव दिएको गुनासो गर्दै हस्तक्षेप गर्न राष्ट्र बैंकसंग आग्रह गरे । व्यवसायीले अर्को बैंकबाट रकम ट्रान्सफर गर्दा एभरेष्ट बैंकले सेवा शुल्क लिने गरेको गुनासो समेत गरे । त्यस्तै बैंक तथा वित्तीय संस्थाले प्रयोग गर्ने भाषालाई सहज र सरल बनाउन सुझाव समेत दिइएको छ । व्यवसायीले गरेका गुनासाका बारेमा राष्ट्र बैंकले सकारात्मक प्रतिक्रिया दिएको छ ।