फागुन १९ गतेदेखि खजुरामा दादुरा–रुबेला खोप अभियान शुरु हुने


नेपालगन्ज १५ फागुन : खजुरा गाउँपालिकामा फागुन १९ गतेदेखि २८ गतेसम्म दादुरा–रुबेला खोप अभियान सन्चालन हुने भएको छ । ५ वर्षमूनीका बालबालिकालाई पोलियो सहित दादुरा–रुबेला खोप खुवाउने अभियान सफल पार्न स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकायका अगुवा एकजुट भएका छन् ।

बिहिवार गाउँपालिकाको कार्यवहाक अध्यक्ष एकमाया बिकको अध्यक्षतामा भएको छलफलमा प्रमुख प्रशासकिय अधिकृत बमबहादुर केसी, वडा अध्यक्ष , कार्यपालिका सदस्य एवं शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

कार्यवहाक अध्यक्ष बिकले बालबालिकाको स्वास्थ्यका लागि खोप अभियानलाई सफल बनाउन सबैमा आह्वान गरिन । उनले आफ्ना बालबालिकालाई खोप लिन नछुटाउन आग्रह गरिन ।

खजुरा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख पूर्णबहादुर खड्काले खोप केन्द्रमा सबै बालबालिकालाई खोप खुवाउने कार्यक्रम रहेको बताए । सबै स्थानीय तहले ९५ प्रतिशतसम्म खोपको कभरेज बनाए मात्र पूर्ण खोप अभियान सफल हुने उल्लेख गरे । यसका लागि जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने उनको भनाई छ ।

बालबालिकाको मृत्युदर घटाउनका लागि खोप अभियानले जीवनबुटीको रुपमा काम गर्ने भएकाले अभियान सफल पार्नुपर्ने स्वास्थ्य शाखा उपसंयोजक लक्ष्मी केसीले बताइन ।

प्रकाशित मितिः     १५ फाल्गुन २०७६, बिहीबार १४:३२  |