कर उठाउने मात्र होइन व्यवसायिक वातावरण बनाउनेतर्फ पनि सरकारले सोच्नुपर्छ- चिरञ्जीवी ओली


चिरञ्जीवी ओली
महासचिव
नेपालगन्ज उद्योग वाणिज्य संघ

पश्चिम नेपालको प्रमुख सहरका रूपमा रहेको नेपालगन्ज अहिले पनि प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको आर्थिक केन्द्र हो । जिल्ला शैक्षिक र स्वास्थ्यको ‘हब’ का रूपमा पनि रहेको छ । सामाजिक र धार्मिक सद्भावको नमुनाका रूपमा रहेको बाँके जिल्ला पछिल्लो समय पर्यटकीय केन्द्र बन्दै छ । सङ्घीयतापछि प्रदेशको राजधानी दाबी गरिरहेका बाँकेवासी केही निराश देखिए पनि बाँके जिल्ला आर्थिक हिसाबले पश्चिम नेपालका तीन प्रदेशको मेरुदण्डका रूपमा छ । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना यही जिल्लामा निर्माणाधीन अवस्थामा छ । पछिल्लो समय आर्थिक विकास र समृद्धि सिङ्गो मुलुकको नै एजेन्डा भइसकेको छ ।

हाम्रो संस्था दबाबमूलक संस्था हो ।  हामीले आर्थिक मुद्दा उठाउँदै आएका छौँ । सरकारलाई सुझाव र दबाब दिन्छौँ । बाँकेको विकासका लागि निरन्तर लागिपरेका छौँ । नेपालगन्ज विमानस्थल अन्तर्रा्ष्ट्रिय बनाउनुपर्छ । दिल्ली–नेपालगन्ज, नेपालगन्ज–बैङ्ग्लोर, नेपालगन्ज–पोखरा किन उडान गर्न नसक्ने ? भारतीय पर्यटक यहाँ बसेर पोखरा किन जान नसक्ने ? यसमा राजनीतिक दलहरू पनि लागिरहेका छन् । सरकारले पनि चासो दिएको छ । अहिले बाँकेमा थुप्रै काम भएका छन् । बाटोघाटो, शैक्षिक अवस्था हेर्नुस् । हिजोभन्दा राम्रो भए पनि अझ धेरै हुन बाँकी छ । हिजो पनि शैक्षिक हब हो यो ।

हिजोभन्दा अहिले उच्च शिक्षा पढ्न आउने विद्यार्थीको सङ्ख्या बिस्तारै कम हुन थालेको छ । यसमा सङ्घीयतामात्रै कारण नभएर, शैक्षिक स्तर उठ्न नसकेको पनि हो कि भन्ने छ । स्वास्थ्यको कुरा गर्ने हो भने धेरैको रोजाइमा अहिले पनि भेरी अस्पताल परिरहेको छ । भेरी अस्पताल साबिक मध्य र सुदूरपश्चिमको ‘रिफर’ अस्पताल हो । यसलाई ब्रान्ड किन बनाउन नसक्ने ? बिरामीलाई थप स्तरीय उपचार दिनेतर्फ लाग्ने हो कि ? धेरैले भन्छन्– बाँकेको सम्भावना समाप्त भइसकेको छ तर त्यो होइन, यसको सम्भावना धेरै छ ।

नेपालगन्ज जमुनाह–हिल्सा सडकको सर्वे भइसकेको छ, छिटोभन्दा छिटो निर्माण गर्ने हो भने त्रिदेशीय करिडोर बनाउन सकिन्छ । भारतबाट यहाँ बाँकेमा बसेर हिल्सा पुग्न सकिन्छ । अन्तर्रा्ष्ट्रिय विमानस्थलको कुरा छ, यहाँबाट मानसरोवर जाने यात्रुको सङ्ख्या जसरी बढेको छ, यहीअनुरूप पाँचतारे होटलको सङ्ख्या र लगानी बढेको छ, यो सबै अन्तर्रा्ष्ट्रिय पर्यटन कसरी बढाउन सकिन्छ भनेर नै हो ।

पर्यटकलाई कसरी राम्रो सुविधा दिन सकिन्छ भनेर यहाँ पाँचतारे होटल थपिएका हुन् । नाम चलेका छड कम्पनीले यहाँबाट उत्पादन सुरु गरेका छन् । जनशक्ति यहीँको प्रयोग भएको छ । सहज रूपमा प्राप्त गर्न सकिएको छ । यी सबै कुराले बाँकेमा भएका राम्रा पनि छन् गर्नुपर्ने पनि थुप्रै छन् । प्रदेश राजधानीलगायतका कारण व्यापार कम भएको महसुस भएको छ । सीमापार व्यापार व्यवसायले स्वदेशी व्यापार व्यवसाय चौपट भएको अवस्था पनि छ । औद्योगिक क्षेत्र नौवस्तामा बन्दै छ, त्यसलाई छिटो सम्पन्न
गर्नेतर्फ लाग्नुपर्छ ।

सरकारले निजीको सहयोग भएन भन्ने अनि निजीको सरकारले पेल्यो भन्ने धारणा छ । कताकता सही पनि हो । प्रदेशमात्रै भन्ने तर समृद्ध नबनाउने वा यसैलाई राम्रो बनाउन लाग्ने भन्ने कुरा विचारणीय हो । ५ नम्बर प्रदेशमा अहिले १२ जिल्ला छन्, सबैको आशा राजधानी बनिदिए होला भन्ने होला तर हुने त एउटामै हो । नेपालगन्ज आफैँमा पूर्वाधार सम्पन्न भएकाले यसको अलि बढी दाबी हो । तर, राजधानी भएन भने बर्बाद भइहाल्छ, खत्तम भइहाल्छ भन्ने पनि होइन ।

हामी व्यवसायी खाली कर तिर्नेमात्रै त होइनौँ । राजधानीको विषय राजनीतिक विषय हो । बाँके, बर्दिया कर्णालीमा जाने कि भन्ने पनि छ । भोलि जनताको आन्दोलनबाट त्यो हुन पनि सक्छ । अहिलेको अवस्थामा समृद्ध बाँकेका लागि बाँके राष्ट्रिय निकुञ्ज २०६८ घोषणापछि बाघ संरक्षणमा राम्रो भएको छ, पर्यटक भित्रिएका छन् । ब्रान्ड बनाउन सकिन्छ । ट्रान्जिट पोइन्ट भनेको खाली यहाँ बस्नेमात्र त होइन नि । मानसरोवरको प्रतीक जहाँ बने पनि पर्यटनका लागि राम्रो हुन्छ ।

बागेश्वरी भारतमा पनि प्रसिद्ध छ । यसबाट पनि पर्यटनमा जोडिन सक्छ । महानगरपालिकाको अभियानले बाँकेलाई समृद्धतर्फ लैजान सक्छ । तर, निजी क्षेत्र सशङ्कित छ । गाविसबाट जति माथि पुगेको छ, व्यापार बढेको छैन, कर बढेको छ, व्यवसाय घटिरहेको छ । कर उठाउनेमात्रै राज्यको पाटो होइन होला नि । व्यापार व्यवसाय बढाउन पनि सोच्ने हो कि ? व्यवसायी पनि राज्यप्रति वफादार हुनुपर्छ । कर तिर्नुपर्छ भन्ने भावना आउनुप¥यो । अहिले कर कार्यालयको गाडी देखेपछि भाग्ने अवस्था छ । टेबुलमुनिबाट पैसा बढी तिर्नुपर्ने अवस्था अहिले पनि छ । व्यवसायीमा पनि चेतनाको अभाव देखिन्छ ।

बाँके चीनसँग जोड्ने करिडोरको ‘ट्रान्जिट पोइन्ट’का रूपमा लिइएको छ । बाँके जिल्ला भारतको युपीसँग जोडिएको छ । थुप्रै पर्यटकका लागि मानसरोवर जाने एकदमै छोटो बाटो भएकाले धेरैभन्दा धेरै पर्यटक यहाँबाट मानसरोवर जाने अवस्था छ, अहिले पनि गइरहेका छन् । सरकारले हिल्सा जोड्ने सडकको योजना ल्याएको छ । यसले बाँकेसँगै कर्णालीको विकासमा पनि फड्को मार्ने देखिएको छ । पक्कै पनि सरकारले योजनाअनुसार अघि बढेमा सफल हुन्छ । भारतमा टेकेर अन्य देशका पनि चीनको मानसरोवर जान यही बाटो आउनेछन् ।

प्रकाशित मितिः     १५ फाल्गुन २०७६, बिहीबार १३:५२  |