नेपालगन्ज १६ फागुन : पश्चिम नेपालको आर्थिक राजधानी नेपालगन्जमा शुक्रवारदेखि ‘भाटभटेनी सुपरमार्केट’ शुभारम्भ भएको छ । स्टोरको शुक्रवार विशेष समारोहका बीच हिन्दु वैदिक सनातन धर्म अनुसार विधिवत रुपमा शुभारम्भ भएको हो ।
स्टोरका अध्यक्ष मिन बहादुर गुरुङ्ग, उनकी श्रीमती सावित्री गुरुङ , प्रतिनिधि सभाका सांसद महेश्वर गहतराज अथक, नेपालगन्ज मेयर डा. धवल शम्सेर राणा, भाटभटेनी रहेको वडा नं. १८ का अध्यक्ष दीपक बर्मा लगायत गुरुङ् परिवारका सदस्य, आफन्तजन, शुभेच्छुक, व्यापारी, व्यवसायी, नेपालगञ्जबासी लगाएतको सहभागिता रहेको थियो ।
मालश्री धुनसंगै भाटभटेनी नेपालगन्जको शुभारम्भ भएको हो । हरेक शुभकार्यमा गुञ्जिने गर्छ मालश्री धुन । करिब साढे चार सय वर्षअघि नेवार समूदायबाट यो मालश्री धुनको उत्पत्ती भएको जानकारहरु बताउँछन् । नेपालगन्जमा भाटभटेनी सुपरमार्केटको शुभारम्भ कार्यक्रममा बजेको मालश्री धुनले रौनक थपेको थियो ।
करिब एक लाख ४६ हजार वर्ग्फिट क्षेत्रफलमा फैलिएको यस भाटभेटनीमा भौतिक सम्पत्ति सहित करिब १५० करोड लगानी रहेको व्यावस्थापनले जनाएको छ । यो स्टोर पछिल्लो पटक प्रदेश ५मै सञ्चालनमा आएका बुटवल र भैरहवा स्थित स्टोर भन्दा ठूलो रहेको स्टोरका व्यवस्थापक विनोद भट्टराईले बताए । यो संगै प्रदेश ५ मा भाटभटेनीका तीन वटा स्टोर सञ्चालनमा आउनेछन् ।
स्टोरमा खाद्यान्न, कस्मेटिक, लत्ताकपडा, इलेक्ट्रोनिक, फर्निचरदेखि सम्पूर्ण घरायसी सामाग्रीहरु पाइनुका साथै अत्याधुनिक मल्टिप्लेक्स सिनेमा हल, फूडकोर्ट लगाएतका सेवाहरु समेत उपलब्ध हुने व्यवस्थापक भट्टराइले बताए । शुभारम्भको अवसरमा सबै किसिमका सामानहरुको खरिदमा १० प्रतिशत तथा सम्पूर्ण ईलेक्ट्रोनिक्स सामानहरुमा २० प्रतिशत सम्म नगद छुटका साथै निःशुल्क होम डेलिभरी समेत दिइएको छ ।
गत मंसिर २६ गते भारतीय सिमा शहर भैरहवामा १७औं स्टोर सञ्चालनमा ल्याएको भाटभटेनीलाई यहाँपनि सिमावर्ती बजारकै चुनौती सामना गर्नुपर्नेछ । यस सन्दर्भमा सञ्चालक गुरुङ भन्छन, स्वदेशमा नै यूरोपिएन स्तरको सुपर मार्केटको सेवा प्रदान गर्ने हाम्रो उद्देश्य हो । यसै उद्देश्यलाई मध्यनजर गरी सिमावर्ती बजारमा जानै नपर्ने गरी शुपथ मूल्यमा हामी हाम्रो सेवा दिनेछौं ।’