‘भारतले बनाएको बाँध र सडकले बाँके कश्मिरको डलझिल बन्ने खतरा छ’-ईस्तियाक राई


नेपालगन्ज १६ फागुन : बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सांसद एवं पूर्व मन्त्री मोहमद ईस्तियाक राईले भारतले बनाएको लक्ष्मणपुर बाँध र सडकका कारण उत्पन्न हुने डुबानको समस्याका बारेमा संसदमा कुरा उठाएका छन् । प्रतिनिधिसभामा बिशेष समय लिएर बोल्दै सांसद राईले लक्ष्मपुर बाँध र सडकका कारण नरैनापुर ‘कश्मिरको डलझिल’ बन्ने खतरा रहेको उल्लेख गरे ।

कश्मिरमा वरीपरी पहाडले घेरिएको ठूलो तलाउलाई डलझिल भनिन्छ । कश्मिरमा डलझिललाई प्रसिद्ध पर्यटकीयस्थलका रुपमा हेर्ने गरिएको भए मन्त्री राईले नरैनापुरका हकमा भने त्यसलाई बिपतका रुपमा आउने अथ्र्याएका थिए । पानीको निकास नहुँदा नरैनापुर नै डलझिल जस्तै ठूलो तलाउ भनेर बिपत्त सिर्जना हुने खतरा औल्याउँदै राईले भने –‘म यो समस्या समाधानका लागि सरकारलाई आग्रह गर्छु । दुईपक्षिय सहमतिका आधारमा वर्षा अघि नै समस्या समाधान होस् ।’

मन्त्री राईले लक्ष्मणपुर बाँधसंगै भारतले सीमामा बनाएको सडकले पानी निकास अवरुद्ध पारेको बताए । उनले बिगतमा नरैनापुरको सीमित वडा मात्र डुबान हुने गरेको बताउँदै अहिले सडकका कारण पुरै नरैनापुर डुब्ने खतरा रहेको धन्दै समाधानका लागि सरकारको ध्यानार्कषण गराए ।

मन्त्री राईले एक व्यक्तिका लागि संविधान संशोधन गर्न नहुने बताउँदै त्यसको बिरोध गरे । उनले संविधान संशोधनका लागि भएका आन्दोलनलाई नजरअन्दाज गरेर व्यक्तिबिशेषका लागि गर्ने भनिएको संविधान संशोधनको विषयले जनताको अपमान भएको स्पष्ट पारे । सांसद राईले बागेश्वरी मन्दिरको गुठी समस्याले करमोहनाबासीमा परेको मर्का लगायतका विषयमा संसदमा बोलेका थिए ।

प्रकाशित मितिः     १६ फाल्गुन २०७६, शुक्रबार १२:३०  |