नेपालगन्ज १७ फागुन : ठूला प्रोजेक्ट लन्च गर्दा आसन अनि अतिथीको लम्बेतान भाषण सामान्य कुरा हो । तर डेढ अर्व लगानीमा नेपालगन्ज–१८ मा खुलेको भाटभटेनी सुपरमार्केट शुभारम्भ कार्यक्रममा न भाषण भयो नत आसन नै ।
शुक्रवार मीनबहादुर गुरुङ्ग र उनकी श्रीमती सावित्री गुरुङ्गले आफ्नै शैलीमा भाटभटेनी उद्घाटन गरे । गुरुङ्ग भाटभटेनीका मालिक हुन । उद्घाटन समारोहमा गुरुङ्गका सबै सपरिवार उपस्थिती थिए ।
हिन्दु वैदिक सनातन धर्म अनुसार विधिवत रुपमा शुभारम्भ भएको थियो । बिहान नौं बजेर पाँच मिनेट जाँदा पण्डित कैलाश दाहालले पुजा सुरु गराएका थिए । पण्डित दाहालको मन्त्र उचारण र मालश्री धुन सहित गूरुङ्ग दम्पत्तीले भाटभटेनीको शुभारम्भ गरे । मालश्री धुन शुभकार्यमा प्रयोग गरिन्छ ।
शुभारम्भ कार्यक्रममा प्रतिनिधिसभा सांसद महेश्वर गहतराज अथक, नेपालगन्जका मेयर धवल शम्सेर राणा, भाटभटेनी रहेको वडा नं. १८ का अध्यक्ष दीपक बर्मा लगायत सहभागि थिए ।
सांसद, मेयर र पत्रकारलाई गुरुङ्गले अघि लगाएरै पुरै भाटभटेनी घुमाए । माथिल्लो तलामा लगेर कफि खुवाए । अनि सकियो औपचारिक उद्घाटन । यद्यपी निमन्त्रणा कार्ड दिएर बोलाएका अतिथी र सेवाग्राही आउने क्रम जारी छ । अतिथीलाई मिठाइ, जुस र पानीको बोत्तल दिइएको थियो । आसन र भाषण नभई कार्यक्रम सम्पन्न भएकोमा भाटभटेनीमा शुभारम्भ कार्यक्रममा आएकाहरुले प्रशंसा गरे ।
भाटभटेनी नेपालगन्जको फिनिसिङ्ग गर्न पुस महिनादेखि नै गुरुङ्ग नेपालगन्जमा छन् । तीन महिनादेखिन नेपालगन्जमा रही भाटभटेनी शुभारम्भ गर्दासम्म पनि उनले औपचारिकरुपमा एक शब्द बोलेनन् ।
अनौपचारिकरुपमा अत्यन्त सरल र सहज तरिकाले बोल्ने गरेका गूरुङ्गले औपचारिक रुपमा कतै भाषण र आसन नगरी भाटभटेनी उद्घाटन गरे । नेपालगन्ज मात्र होइन अन्यत्र पनि आसन र भाषण बिनानै शुभारम्भ गर्ने यो भाटभटेनीको आफ्नै स्टाइल हो ।