‘घरेलु तथा साना उद्यमीको मनोबल बढाउने गरी काम गर्छु’– मधु खड्कासंगको कुराकानी


घरेलु तथा साना उद्योग महासंघ बाँकेमा पहिलो पटक महिला अध्यक्ष बन्ने इतिहास बनाएकी छन् मधु खड्काले ।

शनिवार भएको निर्वाचनबाट उनले महासंघको नेतृत्व पाएका हुन । महिला मात्र होइन युवा उमेरको अध्यक्ष समेत पाएको छ, घरेलु तथा साना उद्योग महासंघ बाँकेले ।

अध्यक्ष निर्वाचित भइसकेपछि महासंघमा अब कसरी अगाडी बढ्ने भन्ने योजना लगभग बनाइसकेकी छन् खड्काले ।

अर्थपेजसंगको कुराकानीमा खड्काले घरेलु तथा साना उद्योगीको पिरमर्का सुन्ने र सम्बोधन गर्ने संस्थाका रुपमा महासंघलाई स्थापित गराउने बताइन ।

यसका बारेमा थप प्रष्ट्याउँदै खड्काले भनिन्,–‘ बिगतमा के कति काम भए म त्यसतर्फ जान्न । अब भने घरेलु र साना उद्यमीको समस्या सुन्ने र समाधानको उपायको खोजि गर्ने संस्था पनि छ है भन्ने बनाउने गरी महासंघलाई लैजान्छु । यो कार्यमा सबै सहकर्मी र अग्रजको साथ लिन्छु ।’ अध्यक्ष खड्काले हालसम्म बन्ने नसकेको भवन बनाउने योजना समेत बनाइरहेकी छन् । त्यसका लागि सबैको साथ चाहिने खड्काको भनाई छ ।

घरेलु तथा साना उद्यमीले उत्पादन र बजारीकरणको समस्या झेल्दै आएका छन् । अझ बाँके जस्तो भारतीय सीमासंग जोडिएका ठाउँका साना उद्योगको समस्या त झन् जटिल छ । त्यस्तो अवस्थामा यहाँका घरेलु तथा साना उद्यमीको मनोवल बढाउने गरी उत्पादन र बजारीकरणको उपायको खोजि गर्ने खड्काले बताइन ।

स्थानीय तह, प्रदेश र केन्द्र सरकारसंग हातेमालो गरेर बाँकेका घरेलु तथा साना उद्यमीको मनोवल बढाउने गरी राहातका कार्यक्रम ल्याउने खड्काले जनाइन ।

बाँके कोहलपुरकीकी सफल महिला उद्यमी खड्का उत्कृष्ट महिला उद्यमी पुरस्कारबाट सम्मानित भइसकेकी छन् । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय काठमाडौमा आयोजित उत्कृष्ट महिला उद्यमी पुरस्कार–२०७५ बाट उनी सम्मानित भएकी उत्कृष्ट व्यवसायी हुन । नगद २० हजार तथा प्रमाणपत्र सहित दोसल्ला उढाएर सम्मान गरेका थिए । कोहलपुरमा गोरखनाथ टे«निङ सेन्टर तथा सिलाई कटाई प्रशिक्षण केन्द्र सञ्चालन गरेकी खड्का समाज सेवाका क्षेत्रमा उत्तिकै सक्रिय छन् ।

प्रकाशित मितिः     १८ फाल्गुन २०७६, आईतवार १७:०४  |