बाँके १९ फागुन : संसारभर फैलिएको कोरोना भाइरस स्थलमार्ग हुँदै नेपाल भित्रिन नदिन जमुनाह नाकामा हेल्प डेक्स स्थापना गरिएको छ । दुई जना हेल्थ असिस्टेन्ट (एचए) र आवश्यक पूर्वाधारको व्यवस्था गरेर स्थापना गरेको हेल्प डेक्समा स्वास्थ्य जाँच भने अनिवार्य छैन ।
भारतबाट दैनिक संयौ नेपाली जमुनाह नाका हुँदै नेपालगन्ज प्रवेश गर्छन् । यसरी प्रवेश गर्ने मध्ये बिरामी परेका र आफै स्वास्थ्य जाँच गर्न चाहाने बाहेक अरुको स्वास्थ्य जाँच हुँदैन ।
‘बिरामी परेकालाई हामीले निगरानीमा राखेर स्वास्थ्य जाँच गर्छौ । अन्यथा लाइन लगाएर नाका ओहोरदोहोर गर्ने सबैको स्वास्थ्य जाँच गरिएको छैन ।’ एचए धनप्रसाद न्यौपानेले भने–‘सबैलाई स्वास्थ्य परीक्षण गर्ने हो भने अहिलेको पूर्वाधार र जनशक्ति ज्यादै न्यून हुन्छ ।’
हेल्थ डेक्समा इन्फारेड थर्मोमिटरबाट मानिसको स्वास्थ्य परीक्षण गरिने न्यौपानेले बताए । त्यस्तो थर्मोमिटरले बिरामीमा ज्वरो कति छ भन्ने टाडैबाट थाहा पाउँछ । ज्वरोको अवस्था हेरेर हेल्थ डेक्सका स्वास्थ्यकर्मीले आवश्यक उपचारका लागि अन्य अस्पतालमा बिरामी पठाउँदै आएका छन् । एचए धन प्रशाद न्यौपानेले कोरोना भाइरसको समस्या देखेपछि सर्तकता अपनाएको बताउँदै भने,–‘जहाँसम्म सबैको स्वास्थ्य परीक्षण गर्ने कुरा छ त्यो आवश्यकता महसुस भयो भने गर्छौ पनि ।’
स्थलमार्ग हुँदै नेपाल भित्रिने मानिसको स्वास्थ्य परीक्षण अनिवार्य नभएकाले जुनसुकै बेला रोगको प्रकोप देखिने डर रहेको छ । तर खुल्ला सिमानामा दैनिक संयौ मानिसको ओहोरदोहोर हुने नाकामा प्रत्येकको स्वास्थ्य परीक्षण गर्नका लागि ठुलै व्यवस्थापनको खाँचो छ । हेल्थ डेक्समा खटिएका कर्मचारीलाई नेपालगन्ज उपमहानगरपालिकाले खटाएको हो । एउटा सटरमा उनीहरु बस्दै आएका छन् । थुलो धुवाँका कारण स्वयं स्वास्थ्यकर्मी बिरामी हुने अवस्थामा रहेका छन् ।
बाँके, बर्दिया लगायत र भारतीय सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीको बैठकले कोरोना भाइरसका बारेमा उच्च सर्तकता अपाउने निर्णय गरेपछि दुबै ठाउँमा हेल्थ डेक्स राखिएको थियो ।