नेपालगन्ज १९ फागुन : आर्थिक वर्ष २०७६/७७ को बजेटबाट सरकारले पीठो र सूजीमा भ्याट अनिवार्य गर्यो । उक्त निर्णय साना मिल र भारतबाट निर्वाध भित्रिने अवैध पीठो, सूजीमा कार्यान्वयन हुन सकेको छैन ।
तर ठूला उद्योगबाट उत्पादन भएका पीठो र सूजीमा भने भ्याटको व्यवस्था कार्यान्वयन हुँदा उद्योग नाजुक अवस्थामा पुगेको उद्योगीले दुःखेसो पोख्न थालेका छन् ।
भ्याट लगाउँदै प्रत्येक घरमा प्रयोग हुने पीठो र सूजीको मूल्य बढेको छ । त्यसको प्रत्यक्ष मार उपभोक्तालाई परेको त छ नै । ठूला मिललाई उत्पादन र विक्री वितरणमा समस्या भएको छ । एक उद्योगीका अनुसार, साना मिलले उत्पादन गर्ने पीठोमा भ्याट लागू भएको छैन भने भारतबाट अवैधरुपमा पीठो र सूजी भित्रिएको छ ।
‘यस्तो अवस्थाको बीचमा हामीले प्रतिस्पर्धा गर्नुपरिरहेको छ । साच्चिकै भन्नुहुन्छ भने अहिले हाम्रो अवस्था नाजुक छ ।’– ती उद्योगीले भने । उनले बजारमा अहिले भित्रिएका पीठो र सूजी स्वास्थ्यका लागि पनि ठिक नरहेको दावी गरेका छन् ।
नेपालगन्जमा रहेको विकास फ्लोर मिलले बिगतमा मैदामा दिएका सहुलियत हटाइएको मैदा र पीठो मिलहरु यतिबेला दोहोरो मारबाट पीडित भई उद्योगको अवस्था नाजुक भएको बताए । उनले सरकारसंग भ्याटको व्यवस्था हटाउन माग गरेका छन्।