प्राईभेट फर्म नवीकरण खुल्यो, संघले भोली वाणिज्य कार्यालयमा हेल्प डेक्स स्थापना गर्दै


नेपालगन्ज २२ फागुन :  लामो समयदेखी नेपालगन्ज उद्योग वाणिज्य संघले उठाउँदै आएको नवीकरण हुन नसकेका प्राईभेट फर्महरुको नवीकरण हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले प्राईभेट फर्म रजिष्ट्रेशन ( १२ औं संशोधन) नियमावली,२०७६ मार्फत नविकरणको म्याद गुजारेका उद्योगी, व्यवसायीलाई फर्म नवीकरणको व्यवस्था मिलाएको हो ।

नयाँ व्यवस्था अनुसार, प्राईभेट फर्म नविकरण गराउन नसकेको प्राईभेट फर्मको धनीले त्यसको मनासिव कारण खुलाई संवत २०७७ असार मसान्तभित्र नवीकरण गराउनका लागि दरखास्त दिएमा र त्यस्तो दरखास्त जाँचबुझ गर्दा कारण मनासिव देखिएमा नवीकरण हुने भएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघले पटक–पटक सरकारसंग नविकरण खुलाउन माग गर्दै आएको परिप्रेक्ष्यमा गरिएको नयाँ व्यवस्थाले बाँके लगायत देशभरका उद्योगी, व्यवसायीलाई राहात महसुस गराउने अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताउनुभयो । उहाँले संघको निरन्तर प्रयासले फर्म नवीकरणको वातावरण बनेकाले यसको समयमै सदुपयोग गर्न सम्पूर्ण उद्योगी, व्यवसायीमा आह्वान गर्नुभएको छ ।

संघले नयाँ व्यवस्थाको सरल र सहज कार्यान्वयन गर्नका लागि वाणिज्य कार्यालय नेपालगन्जसंग समन्वय गरेको छ । संघले २०७६ फागुन २३ गतेबाट नवीकरणको काम शुरु हुने भएकाले त्यसको मौकाको फाईदा उठाउन र कुनै पनि प्रकारको समस्या उत्पन्न भए नेपालगन्ज उद्योग वाणिज्य संघमा सम्पर्क गर्न हुन अनुरोध गरेको छ ।

उद्योगी, व्यवसायीको सहजताका लागि संघले वाणिज्य कार्यालयमा हेल्प डेक्स समेत स्थापना गर्दै छ । उक्त हेल्प डेक्सको शुक्रवार बिहान १० ः ०० बजे उद्घाटन समेत हुँदै छ ।

प्रकाशित मितिः     २२ फाल्गुन २०७६, बिहीबार १८:१४  |