- मेरो अटोबाट
काठमाडौं । नाडा अटोमोवाइल्स एसोशिएशन अफ नेपालले गत बिहिबार आफ्ना सदस्य कम्पनीहरुले बिक्री गर्ने सवारीसाधनको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ ।
नयाँ मूल्यसूची प्रकाशित भएसँगै हामीले करिब ८ महिनाअघि नाडाले प्रकाशित गरेको मूल्यको तुलनामा कम्यूटर सेग्मेन्टका मोटरसाइकलमा कति मूल्य बढ्यो भन्ने जानकारी दिने प्रयास गरेका छौं ।
नाडाले प्रकाशित गरेको फागुन महिनाको मूल्यसूची अनुसार कम सीसीका मोटरसाइकलमा असारको तुलनामा मूल्य वृद्धि भएको छ । नेपाली बजारमा बजाज, होन्डा, यामाहा, टीभीएस, हिरो जस्ता थुप्रै कम्पनीका मोटरसाइकल कम्यूटर सेग्मेन्टमा उपलब्ध रहेका छन् ।
बजाज प्लाटीना १०० इएस
बजाजको सबैभन्दा सस्तो मोटरसाइकल प्लाटीना १०० इएसको मूल्य हाल १ लाख ६७ हजार ९०० रहेको छ । बजाज मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक एचएच बजाजले गत असारमा प्रकाशित गरेको मूल्यसूची अनुसार यो मोटरसाइकलको मूल्य १ लाख ६४ हजार ९०० रहेको थियो । कम्पनीले यो मोटरसाइकलमा ३ हजार रुपैयाँले मूल्य वृद्धि गरेको हो ।
यामाहा सलुटो ड्रम
यामाहा सलुटो ड्रम यामाहाको सबैभन्दा सस्तो मोटरसाइकल रहेको छ । यो मोटरसाइकलको नयाँ प्रकाशित मूल्य अनुसार २ लाख ५ हजार ९०० रुपैयाँ तोकिएको छ । यो मोटरसाइकल १२५ सीसी इन्जिन क्षमताको रहेको छ । यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यू नेपालले गत असारमा प्रकाशित गरेको मूल्यसूची अनुसार यसको मूल्य १ लाख ९८ हजार ९०० रुपैयाँ रहेको थियो । यसको मूल्य ७ हजार रुपैयाँले वृद्धि भएको हो ।
टीभीएस रेडीअन
टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले रेडीअन ११० को मूल्य २ हजार रुपैयाँले बढाएको छ । कम्पनीले गत असारमा सार्वजनिक गरेको मूल्यसूचीमा १ लाख ७९ हजार ९०० रुपैयाँ तोकिएकोमा हाल प्रकाशित सुचीमा १ लाख ८१ हजार ९०० रुपैयाँ तोकिएको छ ।
होन्डा सीबी साइन डीआरएस
होन्डा मोटरसाइकल तथ स्कुटरको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङले होन्डा सीबी साइन डीआरएसमा ४ हजार रुपैयाँ बढाएको छ । कम्पनीले गत असारमा सार्वजनिक गरेको मूल्यसूची अनुसार यसको मूल्य २ लाख ५ हजार ९०० रहेको थियो भने हाल यसको मूल्य २ लाख ९ हजार ९०० तोकिएको छ ।
हिरो एचएफ डिलक्स
हिरो स्कुटर तथा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एनजीएम हिरोले एचएफ डिलक्सको मूल्यमा कुनै परिर्वतन गरेको छैन । हाल प्रकाशित मूल्यसूची अनुसार यसको मूल्य १ लाख ६६ हजार ९०० रुपैयाँ तोकिएको छ । हिरोको सबैभन्दा सस्तो मोटरसाइकल समेत यही रहेको छ ।