राष्ट्र बैंकले गर्यो नीतिगत व्यवस्था, बैंकमा सुन राखे ब्याज


वाणिज्य बैंकहरुमा सुन राखेर नागरिकले अब ब्याज पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई निर्देशन जारी गर्दै निक्षेपका रुपमा सुन संकलन गर्न सक्ने व्यवस्था मिलाएको हो । यस नीतिगत व्यवस्थासँगै वाणिज्य बैंकहरुले कम्तीमा ३ वर्षदेखि बढीमा ५ वर्षसम्मको अवधिका लागि निक्षेपका रुपमा सुन संकलन गर्न पाउने भएका छन् ।

यसरी सुन निक्षेपका रुपमा संकलन गरेपछि ग्राहकलाई त्रैमासिक रुपमा व्याज भुक्तानी गनुपर्नेछ । सुन जम्मा गर्दा नै सो बराबरको साँवा तथा व्याज यकिन गर्नुपर्ने भनिएको छ । यसरी सुन निक्षेप संकलन गर्ने ग्राहकको के वाइ सी विवरण बैंकले राख्नुपर्नेछ ।

सुन निक्षेप संकलनका लागि बैंकहरुलाई नै विस्तृत कायविधि बनाई संचालक समितिबाट पारित गरेर कार्यान्वयन गर्ने अधिकार दिइएको छ । बैंकले नै सुनको शुद्धता तथा तौलको जाँच गर्ने संयन्त्रको स्थापना गरी कम्तीमा ९९५ फिटनेसको सुन मात्रै स्वीकार गर्नुपर्ने व्यवस्था गरिएको छ । बैंकहरुले संकलन गरेको सुन ढुकुटीभित्र राख्ने वा व्यवसायीलाई बेच्ने सम्वन्धमा बैंकले नै निर्णय गर्न सक्ने छ ।

सुन निक्षेपका रुपमा स्वीकार गर्ने शाखा तोक्नुपर्नेछ । कम्तीमा २५ ग्राम परिमाणको सुनलाई मात्रै बैंकहरुले स्वीकार गर्न सक्नेछन्। त्यसपछि सुनको जाँच गरी बैंकहरुले तौल र शुद्धता एकीन गरी प्रमाणपत्र दिने छन् । सो प्रमाणपत्र बैंकमा धितो राखेर सोको ७० प्रतिशतसम्म कर्जा सुविधा पनि पाइनेछ। यसरी प्रवाह भएको कर्जामा बैंकले सुन धितोमा दिएको व्याजदरमा २ प्रतिशतभन्दा बढी थप्न पाउने छैनन् ।

प्रकाशित मितिः     २५ फाल्गुन २०७६, आईतवार ११:५३  |