प्राइम बैंकले कैलाशलाई गाभेर बिहीबारदेखि एकीकृत कारोबार गर्ने


काठमाडौं। प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभेर आगामी २९ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ। प्रणाली मिलाउनु पर्ने भएकाले अघिल्लो दिन दुवै बैंकको कारोबार बन्द हुने भएको छ।

प्राइमले कैलाश विकास बैंकलाई एक बराबर ०।९४ प्रतिशत सेयर अनुपातमा प्राप्ति गरेको हो।

स्वाप रेसियोको आधारमा बोनस सेयरपछि कैलाश विकास बैंकको पुँजी २ अर्ब ७४ करोड रूपैयाँ पुगेको छ। यो पुँजी प्राइम बैंकको पुँजीमा जोडिने छ। बोनस सेयरपछि कायम हुने प्राइमको पुँजीमा स्वाप रेसियो पछिको पुँजी जोडिँदा १३ अर्ब ५५ करोड रूपैयाँ कायम हुनेछ। स्वाप रेसियोपछि उब्रिएको पुँजी १७ करोड ५४ लाख रूपैयाँ प्राइमको जगेडामा जोडिने छ।
प्राइमको जगेडा कोषमा ८ अर्ब ५ करोड रूपैयाँ छ भने कैलाशको ३ अर्ब २० करोड रूपैयाँ छ। मर्जरपछि जगेडा कोषमा ११ अर्ब २५ करोड रूपैयाँ पुग्नेछ।

कैलाश विकास बैंकको हाल उपत्यकाभित्र २५ वटा र उपत्यका बाहिर ७६ वटासहित १०१ वटा शाखा कार्यालय छन्। त्यस्तै प्राइमको उपत्यका भित्र २४ वटा शाखा र उपत्यका बाहिर ७५ वटा सहित ९९ वटा शाखा कार्यालय छन्।

नेटवर्कका हिसाबले प्राइमले आफ्नोभन्दा ठूलो सञ्जाल भएको बैंकलाई प्राप्ति गर्ने भएको हो। प्राप्तिपछि प्राइमको नेटवर्क २०० वटा पुग्नेछ।

प्रकाशित मितिः     २५ फाल्गुन २०७६, आईतवार १६:०७  |