कोरोना भाइरसको प्रभाव : नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन के होला ?


  • बिजमाण्डुबाट

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आगामी चैत २८ र २९ गते हुने साधारणसभा अन्योलमा परेको छ।

कोरोना भाइरसका कारण सरकारले सभारसम्मेलन गर्न रोक लगाएका कारण महासंघको साधारणसभा अन्योलमा परेको हो। महासंघ स्रोतका अनुसार साधारणसभा रोक्न सरकारकै उच्च तहबाट समेत दबाब आएको छ।

‘सभारसम्मेलन नगर्न आग्रह गर्दा समेत निर्वाचनको कार्यक्रम प्रकाशित किन गरियोरु,’ एक उच्च अधिकारीले महासंघ अध्यक्ष भवानी राणालाई आइतबार टेलिफोन गरेर भनेको स्रोतले बतायो। स्रोतका अनुसार राणाले पदाधिकारी बैठक बसेर साधारणसभा स्थगित गर्ने बारेमा निर्णय लिने बताएकी थिइन्। ‘साधारणसभा स्थगित गर्ने निर्णय म एक्लैले गर्न सक्दिन्। यसका लागि पदाधिकारी बैठकनै बस्नुपर्छ’ उनले ती अधिकारीलाई भनेकी थिइन्,’ ‘पदाधिकारी बैठकबाट उपयुक्त निर्णय गराउनेछु।’

स्रोतका अनुसार केही समय अघिसम्म कोरोनाको संक्रमण नेपालमा नदेखिएकोले साधारणसभा गर्ने पक्षमा अध्यक्ष राणा थिइन्। उनी साधारणसभा सकेर चाँडै पद हस्तान्तरण गर्न चाहेकी थिइन्। त्यही कारण उनले आइतबार निर्वाचनको कार्यक्रमसहित सार्वजनिक सूचना संचार माध्यममा जारी गर्न लगाएकी थिइन्।

तर सरकारकै उच्च अधिकारीबाट साधारणसभा स्थगितका लागि दबाब आएपछि पछि सार्ने मनस्थितीमा राणा पुगेकी छिन्। उनलाई नजिकबाट सहयोग गर्दै आएका पदाधिकारी र कार्यकारिणी सदस्यहरुले समेत साधारणसभा स्थगित गर्न सुझाब दिइसकेका छन्। स्रोतका अनुसार अर्को व्यवसायिक संस्था नेपाल चेम्बर अफ कमर्श मास्क र सेनिटाइजर वितरण गरेर सामाजिक कार्यमा लाग्ने तर महासंघ भने साधारणसभाको रमाइलोमा भुल्न नहुने भन्दै राणालाई सुझाब दिएका थिए।

‘अहिले केही भन्न सक्ने अवस्थामा छैन’

साधारणसभा स्थगित गर्नेरनगर्ने अहिलेनै निर्णय गर्न नसक्ने राणाले बताइन्।

‘साधारणसभा स्थगितका लागि सरकारी अधिकारीहरुबाट समेत सोधपुछ भएको थियो। तर मैले एक्लैले निर्णय गर्न सक्दिन्। परिस्थिती हेरेर हामीले संयुक्त रुपमा निर्णय गर्नेछौं’ उनले बिजमाण्डूसँग भनिन्, ‘देशकाल परिस्थिती हेरेर सामूहिक निर्णय गर्नेछौं।’

सातै प्रदेशले चुनाब गर्न नसक्ने जानकारी

महासंघको सातै वटा प्रदेशले चुनाब गर्न नसक्ने भन्दै पत्र पठाएका छन्। सरकारको निर्देशनलाई पालना गर्दै चुनाब गर्न नसक्ने जानकारीसहित सबै प्रदेशले पत्र पठाएको महासंघकी अध्यक्ष राणाले बताइन्।

केन्द्रको अघि प्रदेशको निर्वाचन गर्नुपर्ने महासंघको विधानमा रहेपनि विशेष परिस्थितीका कारण चुनाब गर्न नसकिएको उनीहरुले जिकिर गरेका छन्। सबै प्रदेशले पत्र पठाएपछि महासंघले यो बारेमा निर्णय गर्न फागुन ३० गते स्टेरिङ कमिटीको बैठक बोलाएको छ। सो बैठकले प्रदेशको बारेमा निर्णय गर्नेछ।

प्रकाशित मितिः     २६ फाल्गुन २०७६, सोमबार ०७:४३  |