प्रकृतिमा रमाउनेका लागि गौघाटमा बन्दै छ अध्ययन केन्द्र सहितको एग्रो फार्म


नेपालगन्ज २७ फागुन : बाँकेको खजुरा गाउँपालिका– २ गौघामा खजुरा नेचर गार्डेन एण्ड एग्रो फार्म शूरु भएको छ । पत्रकार टिएस ठकुरीले उक्त एग्रो फार्म सन्चालनमा ल्याउनुभएको हो । यो एग्रो फार्म अरु भन्दा भिन्न बनाउने योजनामा हुनुहुन्छ, ठकुरी ।

खजुरा एग्रो फार्ममा प्रकृतिसंग रमाउने व्यक्तिका लागि मिनि लाइब्रेरीको व्यवस्था पनि हुने छ, जहाँ अध्ययनसंगै ‘लोकल’ उत्पादनको स्वाद चाख्न पाइने छ । शहरको कोलाहलबाट केही समयका लागि भएपनि छुटकारा पाउन र प्रकृतिको आनन्द लिन उक्त एग्रो फार्म नेपालगन्जदेखि सबैभन्दा नजिकको उपयुक्त गन्तव्य बन्ने छ ।

एग्रो फार्ममा अहिले घाँटी खुइले, प्वाँख उल्टे, कडकनाथ, गिरिराजा, ह्यामसायर, अष्ट्रालोप, साकिनी ,लौकाट, टर्की जातका कुखुरा पालन पालन गर्नुभएको छ । खेतको घाँस चरण गरिरहेका कुखुराको मनमोहक दृश्य अहिले पनि हेर्न सकिन्छ ।

माछा पालनका लागि तलाउ तयार हुँदैछ । हाँस, खरायो बटटई अर्को महिना देखि राखिने छ । अहिले २२ वटा बाख्रा छन् भने अर्को महिना थप्ने योजना बनेकोे छ । खेल पर्यटन र एडभेन्चरलाई संगसंगै लैजाने गरी एग्रो फार्मको योजना बनाएको ठकुरीले बताउनुभयो ।

‘नेचरसँग रमाउनेका लागि समय बिताउने थलो बनाउँदैछु व्यवसायिक हिसाबले । जहाँ अध्ययन केन्द्र हुन्छ, अर्गानिक लोकल खाना र बाँस बस्ने व्यवस्था पनि हुन्छ ।’ ठकुरीले भन्नुभयो–‘साथै केही खेल पर्यटन र एडभेन्चरलाई पनि सँगै लैजादैछु ।’

ठकुरीले राजधानी काठमाण्डौंमा लामो समय पत्रकारिता गर्नुभएको थियो । राजधानी बसाईपछि नेपालगन्जमा पत्रकारिता र एभेन्टमा आधारित कार्यक्रम गर्दै आउनुभएको छ ।

नेपालगन्जलाई चिनाउने म्याराथुन, पिएम कप महिला भलिवल प्रतियोगिता जस्ता एभेन्ट गर्दै आउनुभएका ठकुरीले एग्रो फार्मलाई अरु भन्दा भिन्न बनाउने गरी काम गर्दै हुनुहुन्छ ।

प्रकाशित मितिः     २७ फाल्गुन २०७६, मंगलवार १०:१८  |