नेकपा नेतृ दिपा शर्माले विवाह खर्च कटाएर अक्षय कोष स्थापना गरिन


नेकपा नेता तथा राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव दीपा शर्माले आफ्नो विवाहमा अक्षय कोष स्थापना गरेकी छन् ।

विद्यार्थी राजनीतिवाट राजनीतिक यात्रा सुरु गरेकी दिपा हाल अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य पनि हुन् ।

मंगलवार भक्तपुरको बालकोट निवासी प्रशान्त ढकालसंग विवाह बन्धनमा बाँधीएकी दिपाले आफ्नो विवाहका अवसरमा अक्षय कोष स्थापनाको घोषणा गरेकी छन् ।

विवाहमा हुने अतिरिक्त खर्च कटाएर दिपाले अक्षयकोष स्थापना गर्ने घोषणा गरेकी हुन् । नेकपाको नेता समेत रहेकी दिपाले विवाहमा हुने अतिरिक्त खर्च कटौती गरेर परिवारका सदस्यकाबीचमा मात्र विवाह कार्यक्रम सम्पन्न गरेकी छन् ।
साधारण तरिकाले गरिएको विवाहमा दिपा र प्रशान्तका परिवार, नजिकका आफन्त र नजिकका साथी मात्र सहभागी थिए । नेकपाले विवाह लगायतका सांस्कृतिक कार्यक्रमलाई परिवारका सदस्य भित्र मात्र सिमित राखि मितब्ययिता अपनाउन पार्टीको नीति लिएको छ । उनले सोही नीति कार्यान्वयन गर्दै पारिवारिक सदस्यकाबीचमा विवाह सम्पन्न गरेकी हुन्  । नेता शर्माले विवाहकै अवसरमा ‘देवी हरि भवानी स्मृति अक्षय कोष’को घोषणा गरेकी हुन् ।

दैलेख नारायण नगरपालिका २ रुपाखेत निवासी शर्माले स्वर्गीय बाजेबज्यै देवीप्रसाद शर्मा, हरिमाया शर्मा र भवानी शर्मा रुपाखेतीको नाममा स्थापित कोषबाट दैलेख जिल्लाबाट सामुदायिक विद्यालयहरुबाट माध्यमिक शिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने छात्र–छात्रा गरी दुई जनालाई आर्थिक सहायता प्रदान गर्ने बताएकी छन् ।

आफ्नो जन्मथलोमा रहेका बालबालिकालाई हौसला प्रदान गर्ने उद्देश्यले अक्षय कोषको घोषणा गरेको उनको भनाई छ । बताएकी छन् । शुरुमा २ लाख ९० हजार रुपैयाँको कोष निर्माण गर्ने र वर्षेनि कोषमा रकम थप्दै जाने पनि उनको योजना छ ।

कोषमा शर्माका बुवा विष्णुप्रसाद शर्मा, आमा चित्रा शर्मा, माइलो बुवा भीमराज शर्मा माइली आमा मोहनकुमारी शर्मा, कान्छा बुवा रवीन्द्रराज शर्मा र जानकी शर्माले पनि अक्षय कोषका लागि सहयोग घोषणा गरेका छन् । छोरीलाई विवाहमा दाइजो दिने कुरितीलाई परिमार्जन गर्दै छोरीको इच्छा बमोजिम अक्षयकोषमा सहयोग गर्ने शर्मा परिवारको उदाहरणीय कामको प्रशंसा भएको छ। ।

अनेरास्ववियू, अखिल नेपाल महिला संघको केन्द्रीय नेतृत्वमा रहेर काम गरेकी दिपाले अक्षय कोषले दैलेख जिल्लाको शिक्षा क्षेत्र सुधारका लागि मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

प्रकाशित मितिः     २८ फाल्गुन २०७६, बुधबार ०८:०१  |