नेपालगन्ज २९ फागुन : लामो समयदेखी नेपालगन्ज उद्योग वाणिज्य संघले उठाउँदै आएको नवीकरण हुन नसकेका प्राईभेट फर्महरुको नवीकरण गत शुक्रवारदेखि शुरु भयो ।
यहाँका उद्योगी, व्यवसायीले नवीकरणका लागि हारगुहार गर्दै आएका थिए ।
तर नवीकरण खुलेको चार दिनमा जम्मा ३६ वटा फर्म नवीकरण मात्र भएको वाणिज्य तथा आपूर्ती कार्यालय नेपालगन्जका प्रमुख कृष्ण पौडेलले बताए । पौडेलका अनुसार यो संख्या अपेक्षा गरेको भन्दै निकै कम हो ।
उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले प्राईभेट फर्म रजिष्ट्रेशन ( १२ औं संशोधन) नियमावली,२०७६ मार्फत नविकरणको म्याद गुजारेका उद्योगी, व्यवसायीलाई फर्म नवीकरणको व्यवस्था मिलाएको हो ।
नयाँ व्यवस्था अनुसार, प्राईभेट फर्म नविकरण गराउन नसकेको प्राईभेट फर्मको धनीले त्यसको मनासिव कारण खुलाई संवत २०७७ असार मसान्तभित्र नवीकरण गराउनका लागि दरखास्त दिएमा र त्यस्तो दरखास्त जाँचबुझ गर्दा कारण मनासिव देखिएमा नवीकरण हुने भएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघले पटक–पटक सरकारसंग नविकरण खुलाउन माग गर्दै आएको परिप्रेक्ष्यमा गरिएको नयाँ व्यवस्थाले बाँके लगायत देशभरका उद्योगी, व्यवसायीलाई राहात महसुस गराउने अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।
उनले संघको निरन्तर प्रयासले फर्म नवीकरणको वातावरण बनेकाले यसको समयमै सदुपयोग गर्न सम्पूर्ण उद्योगी, व्यवसायीमा आह्वान गरेको छ ।
संघले नयाँ व्यवस्थाको सरल र सहज कार्यान्वयन गर्नका लागि वाणिज्य कार्यालय नेपालगन्जसंग समन्वय गरेको छ । संघले २०७६ फागुन २३ गतेबाट नवीकरणको काम शुरु हुने भएकाले त्यसको मौकाको फाईदा उठाउन र कुनै पनि प्रकारको समस्या उत्पन्न भए नेपालगन्ज उद्योग वाणिज्य संघमा सम्पर्क गर्न हुन अनुरोध गरेको छ ।
उद्योगी, व्यवसायीको सहजताका लागि संघले वाणिज्य कार्यालयमा हेल्प डेक्स समेत स्थापना गरेको छ । यद्यपी व्यवसायीहरु अझै नवीकरणका लागि पुगेका छैनन् ।
वाणिज्य कार्यालयका प्रमुख कृष्ण पौडेलले अवसर दिएका बेला नवीकरण नगर्ने र म्याद सकिएपछि कोलाहल मच्याउने वातावरण आउन नहुने बताएका छन् । पौडेलले असारसम्म समय भएकाले संख्या बढ्ने अपेक्षा गरेका छन् ।