नेपालगन्ज ३० फागुन : मानसरोवर धार्मिक तिर्थयात्राको सिजन शुरु हुनै लाग्दा बिश्वभर कोरोनाको त्रास छाएको छ । कोरोनाको त्रासले गर्दा मानसरोवर लक्षित पश्चिम नेपालको पर्यटन व्यवसाय नराम्रो गरी प्रभावित हुने भन्दै व्यवसायीले चिन्ता प्रकट गरेका छन् ।
मानसरोवरको सिजनलाई नेपालगन्ज, हिल्साको होटल र हवाई कम्पनीका लागि राम्रो आम्दानीको स्रोत मानिन्छ । तर सिजन शुरु हुनै लाग्दा कोरोनाको त्रास नेपाल र भारतमा फैलिएको छ । मानसरोवर जाने यात्रुको मुख्य गन्तव्य काठमाडौं–नेपालगन्ज–हिल्सा हो । भारतबाट सीधै नेपालगञ्ज आएर हिल्सा हुँदै पनि ठूलो संख्यामा पर्यटक मानसरोवर पुग्छन् ।
वैशाखदेखि भदौसम्म कैलाश यात्राको मुख्य सिजन हो । यात्राको बुकिङ गर्ने समय भने अहिले हो । तर, चीनमा फैलिएको कोरोनाको महामारीले गर्दा मानसरोवरमा जान तीर्थयात्रुहरु हच्किएका छन् । चीनले कैलाश यात्रा खुलाउने वा बन्द गर्ने भन्नेबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन । जसले गर्दा टूर र हवाई कम्पनीले समेत बुकिङ लिन नसकेको अवस्था छ ।
भारतीय तीर्थालुका लागि नेपालको मार्ग सहज मानिन्छ । खासगरी भारतको राजधानी नयाँदिल्ली हुँदै कैलाश यात्रामा जानेहरूका लागि नेपालको रुट बढी उपयोगमा आउँछ ।
काठमाडौं–नेपालगन्ज रुटमा ठूला हवाई कम्पनीले यात्रु बोक्छन् । नेपालगन्ज–सिमिकोट साना हवाईजहाजले यात्रु ओसार्छन् । होटल गोल्डेन ब्लिजका सन्चालक सिताराम यादवले कोरोना भाइरसले पर्यटन क्षेत्र प्रभावित हुने निश्चित भएको बताए ।
कोरोना भाइरसको सन्त्रासका कारण कैलाश मानसरोवर जाने तीर्थयात्री नआएको हुन सक्ने नेपालगञ्ज विमानस्थलका निर्देशक प्रेमनाथ ठाकुरले बताए । ‘कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्री यो मौसममा एक जना पनि आएका छैनन्,’ उनले भने, ‘कोभिड–१९ भाइरसको प्रभावका कारण यस्तो भएको हुन सक्छ ।’ उनका अनुसार कैलाश मानसरोवर जान केही नेपाली यात्रु भने आइरहेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय काठमाडौंका उप–निर्देशक सुरेशप्रसाद खनालका अनुसार गत आर्थिक वर्षमा नेपालगञ्ज विमानस्थलहुँदै मानसरोवरमा १० हजार भारतीय तीर्थयात्री गएका थिए । गत यो वर्ष एक जना पनि नदेखिएको भन्दै उनले यो कोभिड–१९ कै कारण हुन सक्ने बताए ।
विगतमा मानसरोवर जाने तीर्थयात्रीको चापका कारण हुम्लाको सिमीकोट जाने टिकट पाइनै कठिन हुन्थ्यो । तर यो वर्ष सजिलै हवाइजहाजको टिकट पाइरहेको सिमीकोट गाउँपालिकाका रामबहादुर शाहीले बताए ।
हवाइजहाजको टिकट पाउनै मुस्किल हुने भएकाले नेपालगञ्ज–सिमीकोट उडानका लागि निजी कम्पनीका हेलिकोप्टरहरू पनि तयारी अवस्थामा हुने गरेका थिए । तर यो वर्ष हेलिकोप्टर सञ्चालनमा आएका नै छैनन् । कोभिड–१९ भाइरसका कारण पर्यटन क्षेत्रमा पनि ठूलो असर परेको पर्यटन व्यवसायीहरूले बताएका छन् ।