बाँके नेपालगञ्जसँग सीमा जोडिएको उत्तर प्रदेशमा कोरोना भाइरसका संक्रमित फेला परेपछि नेपालगञ्जमा कोरोना भाइरसको जोखिम बढेको छ । नेपालगन्ज नाका भएर दैनिक सरदर पाँच हजार मानिस नेपाल–भारत ओहोरदोहोर हुँदै आएको छ
। खुला सीमानाका कारण सहजै आवतजावत हुने भएकोले भारतबाट कोरोना भाइरस नेपालगन्जमा भित्रिन सक्ने सम्भावना प्रवल रहेको चिकित्सकहरु बताउँछन् । भारतसँग रोटी र बेटीको सम्बन्ध भएकोले भारतमा देखिएको कोरोना नेपाल सजिलै भित्रिन सक्छ । बेलैमा सजगता नअपनाए भोलि गएर पछुताउनुपर्ने अवस्था आउन सक्छ ।
भेरी अन्चल अस्पतालमा कोरोना भाइरस संक्रमित फेला परेको खण्डमा राख्नका लागि पाँच बेडको आइसोलेसन वार्ड स्थापना गरिए पनि जाँच र उपचारका लागि कुनै सुविधा नभएको अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए । उनले कोरोना भाइरसका शंकास्पद विरामीको थ्रोड स्वाब संकलन गर्ने ज्ञान समेत चिकित्सक र प्राविधिकलाई नभएको बताए ।
शंकास्पद कोरोना भाइरसका संक्रमितलाई राख्नका लागि छुट्टै भवनमा आइसोलेसन वार्ड हुनुपर्ने बताउँदै उनले जनरल वार्ड भएको भवनमै काम चलाउ आइसोलेशन वार्ड स्थापना गरिएको बताए । आइसोलेसन वार्डमा जाने बाटो पनि फरक हुनुपर्ने उनको भनाई छ। łएकदमै संवेदनशील भएकोले चिकित्सक बाहेक अन्य ब्यक्तिको पहुँच नपुग्ने ठाउँमा आइसोलेसन वार्ड बनाउनु पर्ने हो, तर यहाँ औपचारिकताका लागि मात्र आइसोलेसन वार्ड बनाइएको छ ।