नेपालगन्ज ३ चैत : नेपालगन्ज उद्योग वाणिज्य संघले कोरोना भाइरस बिरुद्ध सचेतना अभियान शुरु गर्ने भएको छ ।
बाँकेमा त्यस्तो संक्रमण हुन नदिन सरकारी निकायका कार्ययोजनालाई सफल बनाउनुका साथै थप आवश्यक अभियान सन्चालन गरिने संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । नागरिक स्वास्थ्य जोगाउन निजीक्षेत्रबाट गर्न सकिने सबै साथ र सहयोग गरिने अध्यक्ष मन्सुरीले जनाए ।
नेपालगन्जसंग सीमा जोडिएको भारतको उत्तरप्रदेश राज्यमा समेत कोरोनाको संक्रमण बढ्दै गएको परिस्थितीमा सचेत र सजग बन्दै खुल्ला सीमाना हुँदै नेपाल भित्रिने नागरिकको अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने प्रावधानलाई अझ प्रभावकारी बनाउनका लागि अपील गर्दै संघलले कोरोना भाइरसको संक्रमण रोक्ने सरकारी अभियानमा हाम्रो पूर्ण साथ र समर्थन जनाएको छ ।
साथै दैनिक उपभोग्य सामाग्रीहरु सर्वशुलभ रुपमा उपलब्ध गराउन र कुनै प्रकारको समस्या सिर्जना हुन नदिनु हुन सम्पूर्ण उद्योगी, व्यवसायीलाई अपील गरेको छ ।
उपभोक्ता वर्गले अभाव हुने आशंकामा आवश्यकता भन्दा बढि खरिद र भण्डारण नगरिदिनुहुन समेत आह्वान गरिएको छ । संघका महासचिव चिरञ्जीवी ओलीले स्वास्थ्य सचेतना अभियानमा सक्रियतापूर्वक साथ दिन सरकारी निकायसंग निरन्तर सम्पर्क भइरहेको र संघ आफैले पनि यस्तो कार्यक्रम गर्न लागेको बताए ।