नेपालसंग खुल्ला सीमा रहेको दक्षिणी छिमेकी भारतमा कोरोनाको संक्रमण भएका विरामीको संख्या बढ्दो छ ।
भारतीय समाचार च्यानल आजतकका अनुसार, सोमबारसम्म १ सय १७ जना बिरामीमा कोरोनाको संक्रमण देखिएको छ । बिश्वभर महामारीका रुपमा देखिएको उक्त भाइरस उत्तर छिमेकी चिनबाट फैलिएको थियो । नेपालको चिनसंग भारतको जस्तो खुल्ला आवतजावत छैन ।
सिमित नाका र हवाई उडानलाई नियन्त्रण र नियमन गर्न मुस्किल नभएका कारण चिनमा फैलिएको कोरोनाको सन्त्रास नेपालमा त्यति भएन जति भारतमा अहिले फैैलिएको संक्रमणका कारण उत्पन्न भएको छ ।
नहोस् पनि किन ? दर्जनौ खुल्ला सिमा छन् । हजारौ मानिस दैनिक ओहोरदोहोर गरिरहन्छन् । कुन मानिसको स्वास्थ्य अवस्था कस्तो छ भन्ने थाहा हुने कुरै भएन । हेल्थ डेक्सहरु स्थापना भएका छन् तर ती सबै औपचारिकताका लागि राखेको जस्ता छन् । सामान्य स्वास्थ्य जनशक्ति र पूर्वाधारका भरमा स्थापना गरेका हेल्थ डेक्स भगवान भरोसा चलेका छन् । दैनिक संयौ मानिस आवतजावत गर्ने नाकामा अहिले खटाइएका स्वास्थ्यकर्मी अति नै कम छन् भने पूर्वाधार सामान्यस्तरको छ ।
बाँके, बर्दिया जस्ता भारतसंग सीमा जोडिएका जिल्ला भारतबाट भित्रिन सक्ने कोरोनाको संक्रमणबाट सबैभन्दा धेरै प्रभावित हुन सक्ने भन्दै सरोकारवाला निकायबाट सतर्कता अपाउन बिभिन्न तयारी नभएका होइनन् । केन्द्र, प्रदेश र स्थानीय सरकारले आआफ्ना तयारी गरेकै छन् । त्यस्ता तयारी गर्दै गर्दा जमुनाह नाकाबाट दैनिक संयौ मानिस निसंकोच आवतजावत गर्दा कोरोनाको संक्रमण फैलिन सक्ने जोखिमप्रति नजरअन्दाज गरेको देखिन्छ ।
उत्तरप्रदेशको राजधानी लखनउमा कोरोना भाइरसका बिरामी देखा परेको अवस्थामा बाँकेमा झनै त्रास उत्पन्न भएको छ । यस्तो बेला जमुनाह नाकालाई खुल्ला राख्दा उपयुक्त हुन्छ की हुँदैन भन्नेमा सरोकारवाला निकायले गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने देखिन्छ । जमुनाह नाका खोल्दा पनि कोरोना भाइरसको संक्रमण फैलिदैन भन्ने सुनिश्चिता यदि भएको हो भने ठिकै छ ।
अन्यथा नाका बन्द गर्ने बिकल्पका बारेमा सोच्नुपर्छ । अहिलेको जस्तो भगवान भरोसे तरिकाले सन्चालनमा रहेको हेल्थ डेक्स कुनै पनि रोगको संक्रमण रोक्न सक्ने छैन । यसले संक्रमण रोक्छ भन्नेमा आमनागरिकले बिश्वास पनि गरेका छैनन् ।
नेपाल र भारतका सुरक्षा अधिकारीको बैठकले समेत नाकामा निगरानी बढाउने भनेका छन् ।सार्वजनिक सूचना जारी गरेर नाका सिमित गर्ने भनिसकेको छ । यद्यपी यसको कार्यान्वयन प्रभावकारी भएको देखिदैन ।
यस्तो अवस्थामा पश्चिमकै ठूलो नाकाका रुपमा रहेको जमुनाह नाकाको व्यवस्था कसरी गर्ने भन्ने विषयमा छिटो निर्णयमा पुग्नुपर्छ । आमनागरिकले जमुनाह खोल्दा पनि नेपालमा कोरोना भित्रिदैन भन्ने कुराको सुनिश्चिता खोजिरहेका छन् । त्यसका लागि थप स्वास्थ्यकर्मी र साधनस्रोत सहित जमुनाहमा हेल्थ डेक्सलाई प्रभावकारी बनाउन बनाउनुपर्छ । अन्यथा नाका बन्द गर्ने बिकल्प तर्फ सोच्नुपर्छ ।
नाका बन्द गर्दा अभाव सिर्जना हुने आशंका व्यक्ति गरिएको छ । त्यस्तो हुन नदिन मानिसको आवतजावतलाई सिमित गर्दै ढुवानीलाई निरन्तरता दिने बिकल्प खोज्न सकिन्छ । ढुवानीका साधन लिएर आउनेहरुको स्वास्थ्य परीक्षण गर्न सम्भवत धेरै मुस्किल नहोला ।
अहिलेको पहिलो प्राथमिकता कोरोना संक्रमण नेपालमा आउन नदिनु हो । त्यसका लागि केही दिन नाका बन्द गर्नुपर्ने हो भने पनि तयार हुनुपर्छ । संक्रमणबाट मुक्ति पाए पछि नाका पहिलेकै अवस्थामा सुचारु भइहाल्छ ।