नेपालगन्ज ४ चैत : नेपालगन्जको राजनीतिक,व्यवसाय र समाजसेवाका क्षेत्रमा परिचित व्यक्तित्व पशुपति दयाल मिश्र पाहुना सहित कुपिन्डे दह पुगेका छन् । जगदिशप्रसाद शुक्ला, अमेरिकामा पिएचडी गर्दै गरेका शुक्लाका छोरा र अन्य पाहुना सहित मिश्र आईतवार सल्यानमा रहेको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल कुपिन्डे दहको दर्शन गरेर फर्किएका हुन ।
‘बिहान नौं बजे मात्र योजना बन्यो । त्यसपछि ११ बजे नेपालगन्जबाट हिडेको ३ बजेतिर पुग्यौं ।’ दह घुमेर सोही दिन घर फर्किएका मिश्रले भने–‘धेरै पहिलेदेखि नाम सुनेको ठाउँमा पुग्ने रहर बल्ल पुरा भयो ।’ मिश्र सहितका पाहुनाले कुपिन्डे दहमा पुजाआजा गर्नुका साथै डुङ्गा सयर समेत गरेका थिए ।
‘निकै मनमोहक ठाउँ लाग्यो । गज्जव !’ दह घुमेपछि अर्थपेजसंग प्रतिक्रिया दिदै उनले भने–‘नेपालगन्जबाट एकैदिनमा घुमेर फर्किने यत्तिका मनमोहक ठाउँ सायदै अन्त कतै होला ?’ मिश्र बाँकेको पर्यटन विकासमा सक्रिय रहँदै आएका छन् । पर्यटन विकासका लागि नेपालगन्ज र कर्णालीबीच सहकार्य हुनुपर्ने कुरामा जोड दिदै आएका मिश्रले भने,–‘कर्णालीसंग पर्यटनको अथाह सम्भावना छ । यसको लागि मिलेर बजारको खोजि गरौं ।’
मिश्रले ठूलो लगानीमा नेपालगन्जको भवानीयापुरमा फनपार्क निर्माण गरिरहेका छन् । भारतका पर्यटकलाई लक्षित गरी निर्माण भइरहेको फनपार्कमा आउने पर्यटकलाई नेपालगन्जसंग जोडिएका कुपिन्डे दहजस्ता पर्यटकीयस्थल घुमाउने सम्भावना रहेको बताए । तर त्यसका लागि सडक पूर्वाधार जस्ता काममा प्रदेश सरकार र स्थानीय तहले गम्भीरतापूर्वक लिनुपर्ने उनको सुझाव छ । मिश्र जिल्ला विकास समिति बाँकेका पूर्व सभापति हुनुहुन्छ भने हृदयश त्रिपाठी नेतृत्वको बैकल्पिक राजनीतिक समूहको केन्द्रीय नेता हुनुहुन्छ । कर्णाली विकास बैंकको पूर्व अध्यक्ष हुनुहुन्छ भने प्लाईउड उद्योग समेत सन्चालन गर्दै आएका छन् ।
नेपालगञ्जबाट १ सय ३० किलोमिटर उत्तरपूर्वमा पुग्न सकिने सल्यान पहाडी जिल्ला हो । सल्यान विभिन्न किसिमका जडिबुटीहरु, अदुवा, सुन्तला, कागतीका साथै तरकारीका लागि समेत उर्वर मानिन्छ ।
कुपिन्डे दह
सल्यान जिल्लाको प्रमुख पर्यटकीय स्थल भन्दा नि फरक नपर्ला कुपिण्डे दहलाई । जिल्लाको महत्वपूर्ण पर्यटकीय सम्पदाको रुपमा रहेको कुपिण्डे दह (ताल) कुपिण्डे गाविसमा पर्दछ । चारैतिर पहाडले घेरिएको र बीचमा नीलो पानीले भरिभराउ कुपिण्डे दहले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित बनाएरै पठाउँछ । वरिपरि मिलेका पहाड, हरियो जंगल र बीचमा नीलो आकाशझैं उत्तर दक्षिण फैलिएको दह साँच्चिकै प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पर्यटकीय स्थल हो कुपिन्डे दह ।
कुपिन्डे दहको क्षेत्रफल कति छ भनेर नाप नभए पनि स्थानीयबासीले २ हजार ८ सय क्षेत्रफलमा फैलिएको दावी गर्छन् । वर्षेनी कुपिण्डे दहसँगै जोडिएको मन्दिरमा पूजाआजा गर्न टाढा-टाढा भक्तजनहरु समेत आउने गर्दछन् । कुपिण्डे दहले वर्षमा तीन रङ्ग बदल्ने गर्दछ, वर्षा, हिउँद र गर्मी याममा दहले रङ्ग बदल्ने विश्वास गरिन्छ ।
रहस्यमय के छ भने दहको पानी बगेर जाने ठाउँ देखिदैन र यसको गहिराइ कति छ भन्ने अनुमानबाहेक यथार्थ कसैले पत्ता लगाउन सकेको छैन । दहकै छेऊमा रहेको मन्दिरमा बराहदेवको आराधना गरिन्छ । यो मन्दिरमा मार्ग शुक्लपूर्णिमा र बैशाख शुक्लपूणिर्माका दिन ठूलो मेला लाग्दछ ।