नेपालगन्ज ४ चैत : राष्ट्रिय वाणिज्य बैंकले प्रदेश ५ मा कोरोना संक्रमण बिरुद्ध सचेतना अभियान शुरु गरेको छ । भारतसंग सीमा जोडिएको प्रदेश ५ लाई कोरोना संक्रमणको जोखिमयुक्त स्थानका रुपमा हेरिएका बेला बिभिन्न क्षेत्रबाट सचेतना अभियान सम्बन्धी अभियान सन्चालन भइरहेका हुन ।
सोही अभियान अन्र्तगत मंगलवारदेखि सचेतना सम्बन्धी कार्यक्रम शुरु गरेको राष्ट्रिय वाणिज्य बैंक प्रदेश नंं. ५ का प्रमुख आनन्द सुवेदीले जानकारी दिएका छन् । सेवाग्राहीको भिडभाड हुने भूमिसुधार, मालपोत, भेरी अस्पताल, नेपालगन्ज उपमहानगरपालिका जस्ता कार्यालयमा बैंकले कोरोना सचेतना सम्बन्धी पोष्टर टाँस गरिएको छ ।
‘सामाजिक उत्तरदायित्व बहन गर्दै हामीले जे जस्तो सहयोग गर्न सक्छौं त्यो काम प्रभावकारी रुपमा गर्न खोजेका छौं ।’ सुवेदीले भने–‘प्रदेश नं. ५ भर यो अभियान जारी रहन्छ ।’ प्रमुख सुवेदीले पोष्टर टाँससंगै कार्यालयमा समेत उच्च सतर्कता अपनाउन निर्देशन दिएको जानकारी दिएका छन् । ‘बैंकमा आउने सेवाग्राहीदेखि नोटको आदानप्रदानसम्म सतर्कता अपाउने निर्देशन प्रभावकारीरुपमा कार्यान्वयन गर्न भनेको छु ।’— सुवेदीले भने ।